नेशनल हेल्थकेयरको आम्दानी १८ प्रतिशतले बढ्यो



काठमाडौं । नेपालमा विभिन्न प्रकारका औषधी उत्पादन गर्ने नेशनल हेल्थ केयर प्रालिको आम्दानी १८ प्रतिशतले बढेको छ । कम्पनीले सन् २०२० को तुलनामा सन् २०२१ मा १८ प्रतिशतले आम्दानी बढेको जनाएको छ ।

कम्पनीले सन् २०२० मा २ अर्ब २२ करोड २० लाख रुपैयाँको व्यापार गर्दा ४९ करोड ५० लाख रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै, कम्पनीले सन् २०१९ मा २ अर्ब १३ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।

विगत दुई दशकदेखि औषधि उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै कम्पनीको देशभर ९ सय स्टकिस्ट छन् । कम्पनीले विभिन्न २२ क्याटागोरीमा ३५० वटाभन्दा बढी प्रकारका औषधि उत्पादन गर्दै आएको छ । जसमा कम्पनीले मुख्य एन्टीमाइक्रोबायल र एन्टीब्याक्टेरियल औषधी उत्पादन गर्दै छ ।

बजारमा औषधिको बढ्दो माग भएकाले नेपालले सन् २०२१ मा मात्रै ३६ अर्ब ३७ करोड १० लाख रुपैयाँको आयात गरेको थियो । त्यस्तै, सन् २०२० मा २८ अर्ब १५ करोड ३० लाख रुपैयाँको औषधि आयात गरेको थियो । नेपालले उच्च रकम खर्चेर औषधि आयात गरिरहेको अवस्थामा स्वदेशी उत्पादन गर्ने कम्पनीहरूलाई उत्पादन वृद्धि गर्न प्रशस्त अवसर रहेको कम्पनीको भनाइ छ ।

कम्पनीले १ अर्ब ४० करोड लगानी गरी थप गरी उत्पादनमा जोड दिने तयारी गरेको छ । त्यस्तै, कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब रुपैयाँको रेटिङ गराएको छ । जसमा कम्पनीलाई दीर्घकालीन कर्जाका लागि ६१ करोड रुपैयाँ अर्थात् ए र अल्पकालीन कर्जाका लागि ३९ करोड रुपैयाँ अर्थात् ए वान रेटिङ दिएको छ ।


क्लिकमान्डु