३ प्रतिशतले बजार हिस्सा गुमाएको वर्ल्डलिंकले गर्यो एक वर्षमा ८ अर्बको कारोबार



काठमाडौं । वर्ल्डलिंक कम्यूनिकेशन लिमिटेडले करिब ८ अर्ब रुपैयाँ बराबरको कारोबार गरेको छ ।

कम्पनीले सन् २०२१ मा ७ अर्ब ९५ करोड ४० लाख रुपैयाँको व्यापार गरेको हो । यो अघिल्लो वर्षको तुलनामा २१.५३ प्रतिशतले बढी हो ।

कम्पनीले सन् २०२० मा ६ अर्ब ५४ करोड ५० लाख रुपैयाँ र सन् २०१९ मा ५ अर्ब ४ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो ।

त्यस्तै, कम्पनीले करिब ८ अर्बको व्यापार गर्दा ६१.०९ प्रतिशत नाफा बढाउन सफल भएको छ । कम्पनीले ९१ करोड ७० लाख रुपैयाँ नाफा कमाएको छ ।

त्यस्तै, कम्पनीले सन् २०२२ को ९ महिनाको अवधिमा ६ अर्ब ७२ करोड ४० लाख (अपरिष्कृत)को व्यापार गरेको छ ।

सन् १९९६ मा स्थापना भएको वल्र्डलिङ्क नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक संस्था हो । साथै, देशको टेलिकम सेवा प्रदायक संस्थामध्ये तेस्रो ठूलो टेलिकम कम्पनी संस्था पनि हो ।

सन् १९९६ मा स्थापना भएको कम्पनी सन् २०१९ मा मात्रै लिमिटेड कम्पनीमा रुपान्तरण भएको छ । कम्पनीले ‘वर्ल्डलिङ’ ब्रान्डमा देशभर इन्टरनेट सेवा प्रदान गर्दै आएको छ । कम्पनीले आइपीओ ल्याउने तयारी समेत गरेको छ ।

दिलिप अग्रवाल अध्यक्ष रहेको कम्पनीमा सन् २०१९ देखि ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्ट अर्थात् सीडीसी ग्रुपको स्वामित्व छ ।

सीडीसी ग्रुपले वर्ल्डलिंकमा १ अर्ब रुपैयाँ प्रत्यक्ष लगानी गरेको छ । जसमा वर्ल्डलिङ्क कम्पनीमा सीडीसी नेपाल अपरच्युनिटिज लिमिटेडको १० प्रतिशत हिस्सा छ ।

विगत २६ वर्षदेखि निरन्तर इन्टरनेट सेवाको सुविधा प्रदान गर्दै आएको कम्पनीसँग ३१ प्रतिशत बजार हिस्सा छ । कम्पनीसँग सन् २०२२ को मे महिनासम्ममा ६ लाख २५ हजार ग्राहक छन् ।

कम्पनीका अनुसार वर्ल्डलिंकले हालसम्म १० हजारभन्दा बढी कार्यालयमा इन्टरनेट जडान गरेको छ ।

कम्पनीसँग देशभर १४० वटा नेटवर्क पूर्वाधार छन् भने सन् २०२२ सम्ममा थप १२० वटा नेटवर्क पूर्वाधार स्थापना गर्ने कम्पनीको तयारी छ ।

नेपाल टेलिकमअनुसार सन् २०२१ सम्ममा देशभर १६ लाख ५९ हजार ३०६ इन्टेरनेट प्रयोगकर्ता रहेको जनाएको छ । त्यसमा कम्पनीको हिस्सा ३१ प्रतिशत अर्थात् ५ लाख १० हजार ७४२ जना ग्राहक छन् ।

कम्पनीको फाइबर सेग्मेन्टमा ३६ प्रतिशत बजार ओगटेको छ । देशभर इन्टरनेट प्रदायक संस्थाको बढ्दो प्रतिस्पर्धा छ ।

जसले गर्दा कम्पनीले २०२१ मा ग्राहकलाई आकर्षण गर्न ल्याइएको विभिन्न अफर तथा प्याकेजबाट प्रति यूनिटका दरले १ अर्ब २० करोड ६० लाख रुपैयाँ छुट दिएको उल्लेख छ ।

कम्पनीले सन् २०२१ मा ४१ प्रतिशत आम्दानी खुद्रा ग्राहकले इन्टरनेट जडानबाट आम्दानी गरेको छ भने कर्पोरेट ग्राहकबाट हुने आम्दानीको हिस्सा ७ प्रतिशत छ ।

नेपालमा सन् २०२१ को जुलाइसम्ममा ४४ वटा इन्टरनेट प्रदायक संस्थासँग १६ लाख ५८ हजार ग्राहक थिए । तर, सन् २०२२ को मेसम्ममा सेवा प्रदायकको संख्या बढेर ५८ वटा पुगेको छ भने ग्राहकको संख्या पनि २१ लाख ३७ हजार ९६१ पुगेको छ ।

केयर रेटिङ नेपालमार्फत् कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ५ अर्ब १९ करोड १५ लाख रुपैयाँको रेटिङ गराएको छ ।

जसमा केयर रेटिङले कम्पनीलाई दीर्घकालीन कर्जाका लागि २ अर्ब १८ करोड १५ लाख रुपैयाँ अर्थात् ए र अल्पकालीन कर्जाका लागि ३ अर्ब १ करोड रुपैयाँ अर्थात् एटुको रेटिङ दिएको छ ।


क्लिकमान्डु