गोल्ड स्टारका प्रबन्ध निर्देशक राणा भन्छन्- ब्राण्ड चोरी भएपछि भारतमा ४५ मुद्दा लडिरहेका छौँ



फाइल तस्बिर

काठमाडौं । किरण सुजका प्रबन्ध निर्देशक अमिरप्रताप राणाले बौद्धिक सम्पत्ति सम्बन्धी बलियो कानून नहुँदा गोल्डस्टार जुत्ताले समस्या भोगिरहेको बताएका छन् ।

नेपाल भारत चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीजले आयोजना गरेको बौद्धिक सम्पत्ति सम्बन्धी छलफल कार्यक्रममा राणाले नेपाल र भारतमा गोल्डस्टार ब्राण्ड चोरी गरेर जुत्ता बनाउने क्रम बढेको गुनासो गरे ।

‘बौद्धिक सम्पत्तिसम्बन्धी बलियो कानून बनाउन सकिएन भने हामीले विदेशी लगानी ल्याउन सक्दैनौँ,’ राणाले भने, ‘नेपालको सीमा क्षेत्रमा गोल्डस्टारसँगै अन्य विदेशी ब्राण्ड कपि गरेर जुत्ता बनाउने बिकृति बढेको छ । जसले गर्दा दु:ख गरेर ब्राण्ड बनाएका उद्योगीहरु निराश बनेका छन् ।’

भारतमा गोल्डस्टार जुत्ताको माग बढेपछि बिभिन्न संस्थाले गोल्डस्टारको ट्रेडमार्क चोरी गरेर जुत्ता बनाउने क्रम बढेपछि भारतीय अदालतमा ४५ वटा मुद्दा लडिरहेको राणाले जानकारी दिए ।

‘कयौं कम्पनीले गोल्डस्टार ट्रेडमार्क कपि गरेपछि भारतको सर्वोच्च अदालतमा एउटा, उच्च अदालत ३९ र दिल्लीको तल्लो अदालतमा ५ वटा मुद्दा दर्ता गरेका छौँ’,राणाले भने, ‘हामीले हरेक महिना भारतमा मुद्दा लड्न जानु पर्ने बाध्यता छ । नेपालमा पनि हामीले कयौँ मुद्दा लड्नु परेको छ । उद्योगीले व्यवसाय गर्ने कि मुद्दा चलाउने ?’

राणाले भारतमा बौद्धिक सम्पत्ति सम्बन्धी कानून प्रभावकारी भएको र भारतका अदालतमा पनि बौद्धिक सम्पत्ति सम्बन्धी कानून बुझेका व्यक्तिहरु रहेको बताए । ‘हामीले बौद्धिक सम्पत्ति सम्बन्धी मुद्दा लड्न मात्रै करोडौँ रुपैयाँ खर्च गर्नु परेको छ,’ राणाले भने,‘यस्तो अवस्थाले उद्योगको विकास हुँदैन ।’


क्लिकमान्डु