काठमाडौं महानगरको २ अर्ब ४ करोड बेरुजु फर्स्यौट




काठमाडौं । काठमाडौं महानगरपालिकाको २ अर्ब ४ करोड २७ लाख ७६ हजार ७०५ रुपैयाँ ९४ पैसा बेरुजु फर्स्यौट भएको छ ।

आर्थिक बर्ष ०७३/०७४ देखि ०७६/०७७ सम्म ४ बर्षको ४ अर्ब ८२ करोड ५७ लाख ९९ हजार रकम वेरुजु रहेको थियो । यसबाट फस्र्यौट हुन बाँकी २ अर्ब ७८ करोड ३० लाख २२ हजार ६३२ रुपैयाँ वेरुजुमा आर्थिक बर्ष ०७७/०७८ को १ अर्ब ६ करोड ७४ लाख ४४ हजार रुपैयाँ बेरुजु थपिएको आन्तरिक लेखा परीक्षण तथा समपरीक्षण एकाईका प्रमुख गोपालप्रसाद पोखरेलले जानकारी दिए ।

अब महानगरले फस्र्यौट गर्नुपर्ने वेरुजुको अङ्क ३ अर्ब ८५ करोड ४ लाख ६७ हजार पुगेको छ । ‘वेरुजु फस्र्यौटमा हामीले प्राप्त भएको उपलब्धी महत्वपूर्ण हो । यति ठूलो रकम फस्र्यौट न विगतमा भएको थियो । सम्भवतः न भविष्यमा हुन्छ ।’ महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले भने, ‘धेरै मिहनेत र सामुहिक प्रयासले यो सम्भव भएको हो । कतिपय बेरुजु प्रक्रियामा आवश्यक पर्ने कागजपत्र नभएर पनि देखिएको छ । प्रक्रियागत सामान्य सुधारबाट पनि बेरुजुको संख्या कम गराउन सकिन्छ । विगतको सिकाइबाट वित्तिय सुशासनमा हामी कडाईका साथ काम गर्नेछौँ ।’

महालेखापरीक्षकको कार्यालयले आर्थिक बर्ष २०७३/०७४ देखि काठमाडौँ महानगरपालिकाको अन्तिम लेखापरीक्षण गर्न सुरु गरेको हो । त्यसपछिका आर्थिक बर्षहरुको छुट्टाछुट्टै वार्षिक लेखा परीक्षण प्रतिवेदनमा बेरुजु कायम गरिएको छ । जसअनुसार सुरुको बर्ष अर्थात् आर्थिक बर्ष २०७३/०७४ सम्म भएको १ अर्ब १० करोड २५ लाख ५८ हजार ३३८ रुपैयाँ बेरुजुमध्ये २५ करोड ८० लाख ९५ हजार ३६६ रुपैयाँ ६२ पैसा बेरुजु फस्र्यौट भयो । समपरीक्षण एकाईका प्रमुख पोखरेलका अनुसार यो बर्षमा असुल गर्नुपर्ने ६ करोड ११ लाख ६० हजार रुपैयाँ, अनियमित देखिएको ४९ लाख ४४ हजार रुपैयाँ र प्रमाण कागजात पेश नभएको ८१ करोड ९२ लाख ५८ हजार रुपैयाँ थियो ।

आर्थिक बर्ष २०७४/०७५ मा उठान भएको ३४ करोड २७ लाख ३० हजार बेरुजु रकममा १९ करोड ४४ लाख ३१ हजार ५७७ रुपैयाँ ३३ पैसा फस्र्यौट भयो । यसमा १० करोड ६७ लाख ६५ हजार रुपैयाँ असुल गर्नुपर्ने, १३ करोड ७४ लाख ८६ हजार रुपैयाँ अनियमित देखिएको र २ करोड ३४ लाख २५ हजार रुपैयाँ प्रमाण कागजपत्र पेश नभएको रकम भएको पोखरेलको भनाइ छ ।

यसै गरी आर्थिक बर्ष २०७५/०७६ मा औँल्याइएको १ अर्ब ४३ करोड ९३ लाख ५७ हजार रुपैयाँ बेरुजुमध्ये ४४ करोड ४८ लाख ९६ हजार ५०२ रुपैयाँ ९८ पैसा फस्र्यौट भयो । यसमा ८४ करोड १३ लाख ६४ हजार रुपैयाँ असुल गर्नुपर्ने, ३५ करोड ११ लाख ५५ हजार रुपैयाँ अनियमित भएको र १३ करोड ६ लाख २८ हजार रुपैयाँ प्रमाण कागजपत्र पेश नभएको बेरुजु थियो ।

आर्थिक बर्ष २०७६/०७७ मा १ अर्ब ९४ करोड ११ लाख ५४ हजार रुपैयाँ बेरुजु उठान भएकोमा १ अर्ब १४ करोड ५६ लाख ६२ हजार २५९ रुपैयाँ १ पैसा फस्र्यौट भएको छ । उठान भएको वेरुजु रकममध्ये ५३ करोड ४८ लाख ५३ हजार रुपैयाँ असुल गर्नुपर्ने, १ अर्ब ३ करोड १९ लाख १९ हजार रुपैयाँ अनियमित भएको र ३१ करोड १६ लाख १६ हजार रुपैयाँ प्रमाण कागजपत्र पेश नभएको बेरुजु रकम थियो ।

विगतमा भएको बेरुजु अङ्क घटाउन तथा आउँदा दिनमा हुन नदिन महानगरको आन्तरिक लेखापरीक्षण शाखाले नियमित रुपमा आन्तरिक लेखापरीक्षण गर्ने गरेको छ । यसरी गरिएको कामको चौमासिक र बार्षिक प्रतिबेदन तयार हुन्छ । यसबाट वेरुजु उठान हुने गरेको छ ।

रजिष्ट्रर्ड लेखापरीक्षकबाट अन्तिम लेखा परीक्षण गराउँदा आर्थिक बर्ष २०७२/०७३ को अन्त्यसम्ममा ३६ करोड १५ लाख १० हजार ३ सय १३ रुपैयाँ बेरुजु थियो । त्यसअघिको ६५ करोड ७६ लाख ३५ हजार १ सय ३९ रुपैयाँ वेरुजुमध्ये २९ करोड ६१ लाख २४ हजार ८ सय २५ वेरुजु फस्र्यौट भएर यो अङ्क कायम भएको थियो ।

महालेखापरीक्षकबाट प्राप्त ४ बर्षको प्रतिवेदनले औल्याएका वेरुजुलाई शून्य गर्न र आगामी दिनमा बेरुजु नहुने सुनिश्चित गर्न नीतिगत तहबाट समसामयिक कानुन निर्माण र सशोधन गर्नुपर्छ । ‘योजना तथा कार्यक्रम कार्यान्वयनमा बाधा आए तत्काल कार्यपालिका वा नगरसभामा लगेर निर्णय गर्नुपर्छ । कार्यान्वयन तहले आफ्नो क्षेत्रको वार्षिक कार्यतालिका बनाएर योजना तथा कार्यक्रम कार्यान्वयन गर्नुपर्छ’ उनले भने, ‘जिम्मेबारीअनुसार अनुगमन गर्ने तथा पृष्ठपोषण लिने दिने भएमा बेरुजुको क्रमशः शुन्यतातिर जान्छ ।’


क्लिकमान्डु