गतवर्ष १० खर्ब ७ अर्ब रेमिट्यान्स भित्रियो, ४.८ प्रतिशतको बृद्धि



काठमाडौं । गत आर्थिक वर्षमा १० खर्ब ७ अर्ब रुपैयाँको रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७८/७९ मा विप्रेषण आप्रवाह ४.८ प्रतिशतले वृद्धि भएको हो ।

अघिल्लो वर्षको तुलनामा रेमिट्यान्सको बृद्धिदर भने घटेको छ । अघिल्लो वर्ष ९.८ प्रतिशतले रेमिट्यान्स बढेको छ ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.२ प्रतिशतले वृद्धि भई ८ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८.२ प्रतिशतले बढेकोे थियो ।

राष्ट्र बैंकका अनुसार गतवर्ष वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ३ लाख ५४ हजार ६६० पुगेको छ ।

अघिल्लो वर्ष यस्तो संख्या ६२.८ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १९८.५ प्रतिशतले वृद्धि भई २ लाख ८२ हजार ४५३ पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या ४६.८ प्रतिशतले घटेको थियो ।


क्लिकमान्डु