भदौं २३ र २४ गते पूर्वाधार सम्मेलन आयोजना हुँदै



काठमाडौं । नेपाल उद्योग परिसंघले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको सहकार्यमा पूर्वाधार सम्मेलन आयोजना गर्न लागेको छ ।

उद्योग परिसंघले सोमबार पत्रकार सम्मेलनमार्फत् आगामी भदौ २३ र २४ गते पूर्वाधार सम्मेलन आयोजना गर्न लागेको जानकारी दिएको हो ।

कार्यक्रमको सहआयोजकमा लगानी बोर्ड नेपाल र युथ कम्युनिटी फर नेप्लिज कन्ट्याक्टर छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने सम्मेलनमा भारत सरकारको परिवहन राज्यमन्त्री विजय कुमार सिंह समेत सहभागी हुनेछन् । यस्तै सम्मेलनमा एशियाली विकास बैंकका उपाध्यक्ष र विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञको समेत सहभागिता रहनेछ ।

सन २०१४ मा पहिलो पटक सीएनआईले पूर्वाधार सम्मेलन आयोजना गरेको थियो। त्यसपछि सीएनआईले सन २०१७ दोश्रो पटक पूर्वाधार सम्मेलन आयोजना गरेको थियो । सन् २०१९ तेस्रो पूर्वाधार सम्मेलन आयोजना गरेको सीएनआईले सन् २०२१ मा कोरोना महामारीका कारण सम्मेलन आयोजना गर्न सकेको थिएन ।

विगतमा आयोजना भएका सम्मेलन नीति निर्मातालाई पूर्वाधार विकासको महत्त्व बुझाउन सफल भएको परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले बताए ।

‘सार्वजनिक निजी साझेदारीको कानून बन्ने क्रममा छ। पूर्वाधार विकास बैंक स्थापना भएको छ। तीन वटै तहका सरकारले पूर्वाधारका क्षेत्रमा लगानी बढाएका छन्,’ उनले भने, ‘विगतका सम्मेलनले पूर्वाधार विकासका क्षेत्रमा सकारात्मक योगदान दिएकाले यस वर्ष पनि सम्मेलन आयोजना गर्न लागेका हौं ।’

‘विकासका लागि पूर्वाधार’ नारा तय गरिएको सम्मेलनमा लगानी बोर्ड नेपालले अध्ययन गरेका आयोजना समेत सो केशका रूपमा राखिने छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव शंकर धामी सम्मेलनले पूर्वाधार विकासका क्षेत्रमा सहयोग गर्न बताए ।

‘नेपालमा जलवायु परिवर्तनको प्रभावलाई सम्बोधन गर्ने गरी हरित पूर्वाधार निर्माण गर्न आवश्यक छ,’ धामीले भने, ‘सम्मेलनबाट ठूला पूर्वाधारका क्षेत्रमा लगानी पनि आउन सक्छ ।’

नेपालका स्तरीय पूर्वाधार बनाउन ७४ अर्ब अमेरिकी डलर लगानी गर्न आवश्यक रहेको सीएनआईले गरेको अध्ययनमा देखिएको छ । नेपालको पूर्वाधार विकासका क्षेत्रमा ठूलो अवसर भएको अध्यक्ष अग्रवाल बताए । सम्मेलनमा पूर्वाधार निर्माणमा देखिएका समस्या र अवसरमाथि पनि छलफल हुनेछ ।

सम्मेलनमा १ हजार जना सहभागी हुने सीएनआईका उपाध्यक्ष बीरेन्द्रबहादुर पाण्डेको भनाइ छ ।


क्लिकमान्डु