जीवन बीमा कम्पनीले गरे १ खर्ब ३८ अर्बको बिजनेश, प्रथम बीमाशुल्कको हिस्सा ३० प्रतिशत



काठमाडौं । गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरूले १ खर्ब ३८ अर्ब ६४ करोड ५ लाख रूपैयाँको व्यवसाय गरेका छन् ।

बीमा समितिको तथ्यांकअनुसार सबैभन्दा बढी बीमाशुल्क संकलन गर्नेमा नेपाल लाइफ रहेको छ । गत आवमा कम्पनीले ३५ अर्ब ३८ करोड ३६ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेको हो ।

इन्स्योरेन्सले गत आवमा प्रथम बीमाशुल्कवापत ७ अर्ब ३७ करोड २४ लाख रूपैयाँ र नवीकरणीय बीमाशुल्कबाट २८ अर्ब १ करोड ११ लाख रूपैयाँ गरी सो रकम संकलन गरेको हो ।

नोप लाइफपछि धेरै बीमाशुल्क संकलन गर्ने जीवन बीमा कम्पनीको सूचीमा लाइफ इन्स्योरेन्स कम्पनी परेको छ । एलआइसीले गत आवमा १८ अर्ब २२ करोड ३२ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

एलआइसीले गत आवमा प्रथम बीमाशुल्कवापत ३ अर्ब ११ करोड ९१ लाख रूपैयाँ र नवीकरणीय बीमाशुल्कवापत १५ अर्ब १० करोड ४१ लाख रूपैयाँ गरी सो रकम संकलन गरेको हो ।

नेशनल लाइफ इन्स्योरेन्सले १४ अर्ब ३३ करोड ९६ लाख रूपैयाँ र राष्ट्रिय बीमा संस्थानले ८ अर्ब ४७ करोड ६३ करोड रूपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीमध्ये सबैभन्दा थोरै बीमाशुल्क संकलन गर्ने कम्पनीको सूचीमा महालक्ष्मी लाइफ इन्स्योरेन्स परेको छ । इन्स्योरेन्सले गत आवमा १ अर्ब ५८ करोड ६८ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

समितिले सार्वजनिक गरेको तथ्यांकअनुसार यूनियन लाइफले ७ अर्ब ९२ करोड, एशियन लाइफले ६ अर्ब ८७ करोड, सिटिजन लाइफले ५ अर्ब ४३ करोड, मेट लाइफले ५ अर्ब २३ करोड , सूर्या लाइफले ४ अर्ब ९९ करोड र प्राइम लाइफले ४ अर्ब ६० करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

रिलायबल नेपाल लाइफले ३ अर्ब ९४ करोड, ज्योति लाइफले ३ अर्ब ८० करोड, आइएमई लाइफले ३ अर्ब ५३ करोड, सन नेपाल लाइफले ३ अर्ब ३६ करोड, रिलायन्स लाइफले ३ अर्ब १२ करोड, गुराँस लाइफले ३ अर्ब ८ करोड, प्रभु लाइफले २ अर्ब ३९ करोड र सानिमा लाइफले २ अर्ब ३१ करोड रूपैयाँ बीमाशुल्क संकलन गरेको समितिले जनाएको छ ।

कुल व्यवसायमा प्रथम बीमाशुल्कको हिस्सा २९.९० प्रतिशत

जीवन बीमा कम्पनीको कुल व्यवसायमा नयाँ व्यवसायको हिस्सा २९.९० प्रतिशत छ । गत आवमा कम्पनीहरूले प्रथम बीमाशुल्कबाट ४१ अर्ब ४४ करोड ७० लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

जीवन बीमा कम्पनीहरूले पोलिसी बिक्री गरेको शुरूवातको किस्तावापत प्राप्त हुने रकम प्रथम बीमाशुल्क हो ।

यस्तै, कुल व्यवसायमा नवीकरणीय बीमाशुल्कको हिस्सा ७०.१० प्रतिशत छ । गत आवमा जीवन बीमा कम्पनीहरूले नवीकरणीय बीमाशुल्कबाट ९७ अर्ब १९ करोड ३४ लाख रूपैयाँ संकलन गरेका छन् ।

बीमा कम्पनीहरूले दोस्रो वा सो भन्दा पछि संकलन गर्ने बीमाशुल्क नवीकरण बीमाशुल्क बीमाशुल्क हो ।


क्लिकमान्डु