नेपाल पुनर्बीमा कम्पनीको खुद बीमाशुल्क ३३.७९ प्रतिशतले बढेर करीब ८ अर्ब पुग्यो



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको तेस्रो त्रैमासको अवधिसम्ममा ७ अर्ब ८६ करोड ८९ लाख रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।

कम्पनीले निर्जीवन व्यवसायबाट ६ अर्ब ५३ करोड ९९ लाख रूपैयाँ र जीवन बीमा व्यवसायबाट १ अर्ब ३२ करोड ९० लाख रूपैयाँ गरी सो बराबरको बीमाशुल्क संकलन गरेको हो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३३.७९ प्रतिशत बढेको हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले जीवन तथा निर्जीवन बीमा व्यवसायबाट ५ अर्ब ९२ करोड ५६ लाख रूपैयाँ मात्रै खुद बीमाशुल्क संकलन गरेको थियो ।

यस्तै, गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले पुनर्बीमा कमिशनवापत १ करोड ४९ लाख ७२ हजार रूपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट ४० करोड ९१ लख ३९ हजार रूपैयाँ आम्दानी गरेको छ ।

कम्पनीले यस अवधिमा ४ अर्ब ४७ करोड ६६ लाख रूपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने २ अर्ब ३ करोड ६५ लाख रूपैयाँ भुक्तानी गर्न बाँकी छ ।

यस अवधिमा कम्पनीले ८ अर्ब ७८ करोड ७६ लाख रूपैयाँ कुल बीमाशुल्क संक्लन गरेको छ ।

निर्जीवन बीमा व्यवसाय ६० करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यस्तै, जीवन बीमा व्यवसायबाट भने २ करोड ९७ लाख ३१ हजार रूपैयाँ नोक्सानी व्योहोरेको छ ।

जीवन बीमा व्यवसायबाट नोक्सानी बेहोर्नु परेका कारण कम्पनीको खुद नाफा ५७ करोड २३ लाख ८६ हजार रूपैयाँमा समिति भएको हो । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद नाफा ३८.१७ प्रतिशतले कम हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले निर्जीवन बीमा व्यवसायबाट ८२ करोड ४७ लाख रूपैयाँ र जीवन बीमा व्यवसायबाट १० करोड १० लाख रूपैयाँ गरी ९२ करोड ५७ लाख ९५ हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ६.५५ रूपैयाँ रहेको छ । चुक्ता पुँजी ११ अर्ब ६५ करोड रूपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ४ अर्ब ५० करोड ९ लाख रूपैयाँ र बीमा कोषमा २ अर्ब ५४ करोड ७९ लाख रूपैयाँ सञ्चित छ ।


क्लिकमान्डु