वैदेशिक रोजगार बीमाबाट संकलन हुने बीमाशुल्क बढ्यो



काठमाडौं । जीवन बीमा कम्पनीहरूमा वैदेशिक रोजगार म्यादी जीवन बीमाबाट संकलन हुने बीमाशुल्क बढेको छ ।

गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरूले वैदेशिक रोजगार बीमाबाट २ अर्ब २७ करोड ४६ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।

अघिल्लो आवमा यस्तो बीमाबाट कम्पनीहरूले ६३ करोड रूपैयाँ मात्रै बीमाशुल्क संकलन गरेका थिए । अघिल्लो आवको तुलना जारी बीमालेखको संख्या भने घटेको छ ।

जीवन बीमा कम्पनीहरूमा गत आवमा वैदेशिक रोजगारका ४ लाख ५२ हजार ८९१ वटा बीमालेख जारी भएका छन् । अघिल्लो आवमा वैदेशिक रोजगारका ६ लाख ८६ हजार ६४७ वटा बीमालेख जारी भएका थिए ।

बीमा समितिको तथ्यांक अनुसार वैदेशिक रोजगार बीमाबाट सन नेपाल लाइफले सबैभन्दा बढी १ अर्ब ७८ करोड १८ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

त्यस्तै, सिटिजन लाइफ इन्स्योरेन्सले २५ करोड २१ लाख रूपैयाँ, ज्योति लाइफले २१ करोड ७१ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी)ले २ करोड ४३ लाख रूपैयाँ बीमाशुल्क संकलन भएको छ ।

समितिको तथ्यांकअनुसार गत आवमा नेशनल लाइफमा ६६ हजार ६२ वटा, एलआइसीमा ७ वटा, सूर्या लाइफमा १ लाख ३८ हजार ६२३, सन नेपाल लाइफमा ६३ हजार ६२ वटा, ज्योती लाइफमा ५५ हजार १३६ वटा र सिटिजन लाइफमा १ लाख २७ हजार १ वटा बीमालेख जारी भएका छन् ।

बीमा समितिले म्यादी जीवन बीमामा अस्वस्थ प्रतिस्पर्धा भएको भन्दै पुल प्रणाली लागू गर्न निर्देशन दिएको थियो ।

जीवन बीमा व्यवसाय गर्ने जीवन बीमा कम्पनीहरूबाट प्राप्त कार्यविधि बोजिम वैदेशिक रोजगार म्यादी जीवन बीमालाई व्यवस्थित रूपमा संचालन गर्नका लागि पुल प्रणाली लागू भएको थियो ।

सोही व्यवस्था बमोजिम कम्पनीहरूको सहमति अनुसार पुल प्रणालीमार्फत् बीमालेख जारी हुँदै आएको छ ।

बीमा कम्पनीहरूले २०७५ माघ १ गतेदेखि पुलमार्फत् बैदेशिक रोजगार म्यादी जीवन बीमा जारी गर्दै आएका छन् ।

तर, बीमा समितिले यहि साउन १ गतेदेखि लागू हुने गरी ‘वैदेशिक रोजगार म्यादी जीवन बीमालेख पुल सम्बन्धी कार्यविधि’ खारेज गर्ने निर्णय गरेको छ ।

वैदेशिक रोजगार म्यादी जीवन बीमा अनिवार्य बीमा हो । सरकारले नै अनिवार्य गरेको हुनाले पुलको व्यवस्था गरिएको थियो । जो नेपाली रोजगारीका सिलसिलामा विदेश जान्छन्, ती सबैले वैदेशिक रोजगार म्यादी बीमा गर्नैपर्छ ।

कानूनमा पनि अनिवार्य बीमा गर्नुपर्ने व्यवस्था छ । वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम वैदेशिक रोजगारीमा जाने नेपालीहरूको अनिवार्य गर्नुपर्ने व्यवस्था छ ।


क्लिकमान्डु