गत आवमा वाणिज्य बैंकहरुको नाफामा अन्तिम तीन महिनाको हिस्सा ३२ प्रतिशत



काठमाडौं । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले नाफा २३.१४ प्रतिशतले बढाए । तर वाणिज्य बैंकले एक वर्षमा गरेको कुल नाफामा अन्तिम तीन महिनाको हिस्सा ३१.७९ प्रतिशत छ । जबकी अघिल्लो आव २०७७/७८ मा यस्तो हिस्सा १९ प्रतिशत मात्रै थियो ।

आव २०७७/७८ र २०७८/७९ मा नाफा आर्जन गर्न बैंकहरुले अपनाएको नीति फरक छ । गत आवको अन्तिम ३ महिनामा अघिल्ला वर्षको तुलनामा बढी नाफा गर्नुको कारण थियो– बैंकले अन्तिम ३ महिनामा बढाएको कर्जाको ब्याजदर ।

गत आवको चैत महिनापछि वाणिज्य बैंकहरुको कर्जाको ब्याजदर बढाउने नीतिले अन्तिम ३ महिनामा नाफा बढाउन सजिलो भएको हो ।

अघिल्लो आवको असार मसान्तमा बैंकहरुको स्प्रेडदर ३.६३ प्रतिशत थियो । बैंकहरुले गत वैशाखदेखि कर्जाको ब्याजदर बढाएपछि बैंकहरुले नाफा बढाउन सफल भए ।

चैत मसान्तको तुलनामा असार मसान्तमा बैंकहरुको स्प्रेडदर ०.५५ प्रतिशत बिन्दुले बढेको छ । चैतको तुलनामा असार मसान्तसम्म आइपुग्दा स्प्रेडदर ०.५३ प्रतिशतले बढ्दा बैंकहरुको ब्याज आम्दानी बढेको हो ।

गत आवमा बैंकहरुले कुल ७४ अर्ब ८० करोड नाफा कमाएका छन् । यद्यपि यो बैंकहरुले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण हो ।

आव २०७७/७८ मा एनबी बैंक समेतको नाफालाई जोड्दा अपरिस्कृत वित्तीय विवरणमा नाफा ६३ अर्ब ३७ करोड रुपैयाँ थियो । एनबी बैंक गत असार २७ गते नबिल बैंकमा गाभिएको छ । असार २६ गतेसम्म एनबी बैंकले कमाएको नाफा नबिलको रिजर्भमा गएको हुँदा गतवर्ष नाफा नोक्सानमा नबिल बैंकले करिब आफूले मात्र कमाएको नाफा राखेको छ ।

गत आवमा बैंकहरुले कमाएको नाफालाई चारवटा त्रैमासमा विभाजन गरेर हेर्दा सबैभन्दा बढी नाफा अन्तिम ३ महिनामा कमाएको देखिन्छ । गत आवको पहिलो त्रैमासमा मात्र १८ अर्ब ११ करोड, दोस्रो त्रैमासमा मात्र १६ करोड तथा तेस्रो त्रैमासमा मात्र १६ करोड ८० लाख तथा अन्तिम त्रैमासमा २३ करोड ७८ लाख रुपैयाँ बैंकहरुले नाफा कमाएका छन् ।

आर्थिक वर्ष साउन महिनादेखि शुरु हुने हुँदा पहिलो त्रैमासलाई साउनदेखि असोज, दोस्रो त्रैमासलाई कात्तिकदेखि पुस, तेस्रो त्रैमासलाई माघदेखि चैत र चौथो त्रैमासलाई वैशाखदेखि असार भनेर बुझिन्छ ।

बैंकहरुले गत आवको तेस्रो त्रैमाससम्म वित्तीय विवरण सार्वजनिक गर्दा बैंकहरुको नाफा ०.५४ प्रतिशतले बढेको थियो । वैशाखपछि तरलता अभाव झनै चर्केको तथा सेयर बजार ओरालो लागेको र घरजग्गा बिक्रीमा समस्या आएको हुँदा बैंकको नाफा घट्ने अनुमान धेरैको थियो । तर, बैंकहरुले नाफा बढाउनमा अन्तिम ३ महिनामा कर्जाको ब्याजदर बढाउने नीति कारक बन्यो ।

गत आवमा बैंकहरुले १ खर्ब ५८ अर्ब रुपैयाँ ब्याज आम्दानी गरेका छन् । जसमा वैशाखदेखि असार मसान्तसम्म ४८ अर्र्ब २७ करोड, माघदेखि चैतसम्म ४० अर्ब २४ करोड, कात्तिकदेखि पुससम्म ३२ अर्ब २९ करोड र साउनदेखि असोजसम्म ३६ अर्ब ३३ करोड रुपैयाँ छ ।

गत वर्षको ब्याज आम्दानीमा वैशाखदेखि असारसम्मको हिस्सा ३०.५२ प्रतिशत, माघदेखि चैतसम्मको हिस्सा २५.४४ प्रतिशत, कात्तिकदेखि पुससम्मको हिस्सा २१.०५ प्रतिशत थियो । साउनदेखि असोजसम्ममा २२.९७ प्रतिशत थियो ।

त्यसैगरी अघिल्लोमा २०७७/७८ को अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकहरुको नाफा अन्तिम भने त्रैमासमा कम देखिन्छ । उक्त आवमा एनबी बैंक जोड्दा ६३ अर्ब ३७ करोड नाफा हुँदा अन्तिम त्रैमासको नाफाको हिस्सा १९.९३ प्रतिशत अर्था्त १२ अर्ब ६३ करोड रुपैयाँ थियो । माघदेखि चैतसम्म ३१.०३ प्रतिशत हिस्सा १९ अर्ब ६६ करोड, कात्तिकदेखि पुससम्म २५.९८ प्रतिशत हिस्सा अर्थात १६ अर्ब ४६ अर्ब र साउनदेखि असोजसम्म २३.०४ प्रतिशत अर्थात १४ अर्ब ६० करोड थियो ।

बैंकहरुले गतवर्ष पुससम्म स्प्रेडदर घटाएर कर्जा दिएका थिए । पुससम्म बैंकहरुसँग कर्जा दिनका लागि तरलता थियो । गतवर्षको त्रैमासिक वित्तीय विवरण हेर्दा असोजमा ३.२४ प्रतिशत रहेको स्प्रेडदर पुसमा ३.०२ प्रतिशत हुँदै पुसमा ३.६६ प्रतिशतमा बढेको थियो ।

असार मसान्तमा आइपुग्दा ४.१८ प्रतिशत पुगेको छ । जबकी आर्थिक वर्ष २०७७/७८ मा भने अवस्था फरक थियो । गत आर्थिक वर्ष २०७८/८९ मा बैंकहरुको ऋण दिनको लागि रकम अभाव भएसँगै स्प्रेडदर बढ्दो क्रममा थियो ।

आर्थिक वर्ष २०७७/७८ मा बैंकहरुसँग ऋण दिनका लागि पर्याप्त रकम थियो । जसले गर्दा साउनदेखि असारसम्म बैंकहरुको स्प्रेडदर घट्दो क्रममा थियो ।

आर्थिक वर्ष २०७७/७८ साउनदेखि असोजसम्म ४.३५ प्रतिशत स्प्रेडदर थियो । कात्तिकदेखि पुससम्म ४.०६ प्रतिशत थियो भने माघदेखि चैतसम्म ३.७७ प्रतिशत तथा वैशाखदेखि असारसम्म ३.६२ प्रतिशत थियो ।


क्लिकमान्डु