उपत्यकामा जग्गाको मूल्य प्रतिआना सवा ९ लाखसम्म बढ्यो, कुन ठाउँको कति ?



काठमाडौं । देशभरका मालपोत कार्यालयले आर्थिक वर्ष २०७९/८० को जग्गाको नयाँ मूल्याङ्कन सार्वजनिक गरिरहेका छन् ।

मालपोत कार्यालयहरुले हरेक वर्ष आर्थिक वर्षमा रजिष्ट्रेशन हुने लिखतमा थैली अंक कायम गर्ने प्रयोजनका लागि सम्बन्धित क्षेत्रको जग्गाको न्यूनतम मूल्य निर्धारण गर्नुपर्ने हुन्छ ।

सोहीअनुसार अहिले देशभरका मालपोत कार्यालयहरूले मालपोत ऐन, २०३४ को प्रावधान बमोजिम आव २०७९/८० को मालपोत कार्यालयले तोकिएको समितिमार्फत् जग्गाको मूल्याङ्कन गरी मूल्य सार्वजनिक गरेका छन् ।

मालपोत कार्यालयहरुले विभिन्न मार्ग निर्देशन समेतका आधारमा जग्गा रहेको स्थानको बाटो, अवस्था र प्रकार, बजार मूल्य, र न्यूनतम मूल्यबीचको अन्तर यथासम्भव कम गराउन विभिन्न क्षेत्रभित्र बढेको आर्थिक गतिविधि, जनसंख्याको चाप, जग्गाको स्थलरुप, भौतिक सुविधा, कृषि उपज, व्यापारिक तथा पर्यटकीय क्षेत्रसमेतलाई दृष्टिगत गरी जग्गाको मूल्याङ्कन गरी मूल्य बढाउँदै आएका छन् ।

देशभरको विभिन्न मालपोत कार्यालयले आफ्नो क्षेत्राधिकार पर्ने जग्गाको मूल्याङ्कन गरी सार्वजनिक गर्ने कार्य जारी छ । भूमि, व्यवस्थापन तथा अभिलेख विभागले देशभरका मालपोत कार्यालयहरुले जग्गाको न्यूनतम मूल्याङ्कन उपलब्ध गराउने काम जारी रहेको जनाएको छ ।

त्यस्तै, देशभरका नेपालीहरूको घरजग्गाको कारोबारमा आकर्षणको केन्द्र बनेको उपत्यकाका मालपोत कार्यालयहरूले आव २०७९/८० को जग्गाको न्यूनतम मूल्याङ्कन सार्वजनिक गरेका छन् ।

उपत्यकाका ३ जिल्लामा ९ वटा मालपोत कार्यालय छन् । ९ वटामध्ये काठमाडौंमा मात्रै ६ वटा, ललितपुर २ र भक्तपुरमा एउटा कार्यालय छन् ।

उपत्यकाको मालपोत कार्यालयमध्ये चालु आर्थिक वर्षमा ४ वटा मालपोत कार्यालयले जग्गाको मूल्य बढाएको छैन भने बाँकी ५ वटा मालपोत कार्यालयले विभिन्न स्थानमा रहेको जग्गाको मूल्य बढाएको छ ।

जसमा चावहिल, डिल्लीबजार, टोखा तथा मनमैजु मालपोत कार्यालयले चालु आर्थिक वर्षमा गत वर्षकै मूल्याङ्कनलाई निरन्तरता दिएको मालपोत कार्यालयहरूले जनाएको छ ।

अन्य कलंकी, साँखु, भक्तपुर, ललितपुरको मालपोत कार्यालयले भने मूल्य बढाएको सर्वाजनिक मूल्याङ्कनले देखाउँदछ । उक्त मालपोत कार्यालयहरूले कम्तीमा न्यूनतम ३ हजार र अधिकतम सवा ९ लाख रुपैयाँसम्म मूल्य बढाएको छ ।

कंलकीले प्रतिआना १ लाख ६५ हजारसम्म मूल्य बढायो
कलंकी मालपोत कार्यालयले चालु आर्थिक वर्षमा प्रतिआना जग्गाको मूल्य १३ हजारदेखि १ लाख ६५ हजारसम्म मूल्य बढाएको छ ।

कलंकी मालपोत कार्यालयले काठमाडौं महानगरपालिकाको वडा नम्बर १३, १४ र १५ अन्तर्गतको क्षेत्रको जग्गाको मूल्य बढाएको छैन । जसमा उक्त क्षेत्रको जग्गाको न्यूनतम मूल्य ६ लाख ६० हजारदेखि अधिकतम ३८ लाख ५० हजार रुपैयाँ कायम गरेको छ ।

तर, कलंकी मालपोत कार्यालयले कीर्तिपुर नगरपालिकाको वडा नम्बर १, २ र १० को जग्गाको १३ हजारदेखि ७० हजारसम्म मूल्य बढाएको छ । सो क्षेत्रको जग्गाको मूल्य न्यूनतम १ लाख ४८ हजारदेखि ७ लाख ७० हजार रुपैयाँ मूल्य तोकेको छ ।

सोही नगरपालिकाको वडा नम्बर १, २, ३, ९ र १० को चक्रपथ तथा त्यसभित्रको जग्गाको मूल्य प्रतिआना ११ हजारदेखि डेढ लाखसम्म मूल्य बढाएको छ ।

मालपोत कार्यालयले चक्रपथ सडकको वडा नम्बर ९ को दायाँबायाँको जग्गाको मूल्य प्रतिआना १६ लाख ३५ हजार तोकेको छ । गत वर्ष सो जग्गाको मूल्य प्रतिआना १४ लाख ८५ हजार रुपैयाँ कायम गरेको थियो ।

मालपोत कार्यालयले बाटो नभएको जग्गाको मूल्य भने १ लाख २१ हजार रुपैयाँ कायम गरेको छ । मालपोत कार्यालयले किर्तिपुर नगरपालिकाको वडा नम्बर ३,४, ५, ६, ७, ८ र ९ को जग्गाको मूल्य २२ हजारदेखि १ लाख २० हजार रुपैयाँसम्म बढाएको छ ।

त्यस्तै, चन्द्रगिरिको तिथनाथ र नैकाप गाउँपालिकाको क्षेत्रको जग्गाको मूल्य प्रतिआना १७ हजारदेखि १ लाख ६५ हजारसम्म, सतुंगल, बलुम्बुमा ८ हजारदेखि १ लाख ६५ हजारसम्म, थानकोटमा १७ हजारदेखि १ लाख ६५ हजारसम्म, वडाभन्ज्याङ् गाविसमा प्रतिआना ५ हजारदेखि १ लाख १० हजारसम्म, नैकाप पुरानो भन्ज्याङ र दहचोक गाविसमा प्रतिआना ८ हजारदेखि ६६ हजारसम्म र मातातिर्थ गाविसमा प्रतिआना ११ हजादेखि ५५ हजारसम्म बढाएको छ ।

साथै, मच्छेगाउँ, चाल्नाखाल, छैमल, टल्कुडुडेचौर, फर्पिङ भिमसेनस्थान, सोखेल र शेषनारायण गाविसको जग्गाको मूल्य प्रतिआना ३ हजारदेखि ५५ हजारसम्म मूल्य बढाएको छ । तर, स्यूचाटार, सितापाइला, डाडापौवा र रामकोट, भिमढुङ्गा र नागार्जुन नगरपालिकाको जग्गाको भने मूल्य नबढाएको मालपोत कार्यालयले जनाएको छ ।

साँखुले डेढ लाखसम्म मूल्य बढायो
साँखु मालपोत कार्यालयले यो वर्ष प्रतिआना १ लाखसम्म मूल्य बढाएको छ । कार्यालयले आफ्नो क्षेत्राधिकार पर्ने सम्पूर्ण जग्गाको मूल्य बढाएको जनाएको छ ।

कार्यालयले आलापोट, इन्द्रायणि, गागलफेदी र छाँगीथली गाविसमा पर्ने जग्गाको मूल्य प्रतिआना ५० हजारदेखि १ लाखसम्म बढाएको छ । कार्यालयले नयाँपाटी क्षेत्रमा पर्ने जग्गाको मूल्य प्रतिआना १ लाखदेखि डेढ लाखसम्म मूल्य बढेको तथ्याङ्कले उल्लेख गर्दछ ।

नाङ्लेभार, पुखुलाछी, भदूवास, लप्सीफेदी, साल्खा, र सुन्दरीजल गाविसको क्षेत्रको जग्गा पनि ५० हजारदखि १ लाखसम्म बढाएको छ ।

भक्तपुर बन्यो हालसम्मकै उच्च मूल्य बढाउने कार्यालय
चालु आर्थिक वर्षमा ४ वटा मालपोत कार्यालयले जग्गाको मूल्य अथावत राखेको अवस्थामा भक्तपुर मालपोत कार्यालयले भने अप्रत्याशित मूल्य बढाएको छ ।

कार्यालयले हालसम्मकै उच्च मूल्याङ्कन गरी मूल्य बढाएको देखिन्छ । कार्यालयअनुसार यो वर्ष जग्गाको मूल्य प्रतिआना नै ९ लाख २४ हजारसम्म बढाएको मूल्याङ्कन विवरणले देखाउँदछ ।

गत वर्ष कार्यालयले अधिकतम मूल्य प्रतिआना २३ लाख ७६ हजार रुपैयाँ तोकेको थियो । यो वर्ष सोही जग्गाको मूल्य प्रतिआना ९ लाख २४ हजार रुपैयाँले बढाएर ३३ लाख रुपैयाँ तोकेको छ । कार्यालयले अरनिको राजमार्गसँग जोडिएको पक्की मोटरबाटो जोडेको जग्गाको मूल्य प्रतिआना ९ लाख २४ हजार रुपैयाँले बढाएको हो ।

कार्यालयले पक्की मोटरबाटो जोडेको अन्य क्षेत्रको जग्गाको मूल्य पनि प्रतिआना ६ लाख ७२ हजारदेखि ९ लाखसम्म मूल्य बढाएको छ ।

त्यसैगरी पलनिङको पक्की मोटरबाटोको जग्गाको मूल्य प्रतिआना २ लाख १५ हजार बढी, प्लानिङको कच्ची मोटबाटोको मूल्य १ लाख १८ हजारदेखि ३ लाख ४ हजारसम्म र शहरी इलाकामा ५ लाखदेखि ५ लाखसम्म मूल्य बढाएको छ ।

मध्यपुर थिमि नगरपालिकाको १, २ र ३ भित्र पर्ने जग्गाको मूल्य प्रति वर्गमिटर ७ सयदेखि ८ हजार ७ सय रुपैयाँसम्म मूल्य बढाएको छ । मध्यपुर थिमिको नगरपालिकाको ८, ९, ४, ५, ७ वडा क्षेत्रको जग्गाको मूल्य १ लाखदेखि ३ लाखसम्म, बढाएको छ ।

साथै, सूर्यविनायक नगरपालिकाकाको क्षेत्रको जग्गाको १ लाखदेखि ३ लाखसम्म, चाँगुनारायण क्षेत्रको जग्गाको मूल्य २ हजादेखि २ लाखसम्म मूल्य बढाएको छ ।

सबैभन्दा बढी किनबेच हुने लगनखेलले कति बढायो मूल्य
उपत्यकाको मालपोत कार्यालयमध्ये सबैभन्दा बढी घरजग्गा किनबेच भएको मालपोत कार्यालयले केही क्षेत्रको जग्गाको मूल्य बढाएको छ भने केही क्षेत्रको जग्गाको मूल्य यथावत राखेको छ ।

कार्यालयले यो वर्ष बागमति गाउँपालिकाको सबै वडाको मूल्यलाई यथावत राखेको छ भने कोन्ज्योसोम गाउँपालिकाको नल्लु वडा नम्बर ४ मा प्रति रोपनी ५ हजारदेखि ४० हजारसम्म मूल्य बढाएको छ ।

त्यसैगरी, नल्लुको अन्य वडाहरु, भरदेउ र चौघरेमा रहेको जग्गाको प्रति रोपनी ५ हजारदेखि ५० हजारसम्म मूल्य बढाएको छ । कार्यालयले गोदावरी नगरपालिकाभित्र रहेको जग्गाको मूल्य प्रतिआना १० हजारदेखि १ लाखसम्म मूल्य बढाएको छ ।

तर, कार्यालयले महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिका क्षेत्रभित्रको जग्गाको मूल्यलाई यथावत राखेको छ । सो क्षेत्रभित्रको जग्गाको अधिकतम मूल्य ३७ लाख ५० हजार रुपैयाँ कायम गरेको छ ।

गोटिखेलले प्रतिआना ३० हजारसम्म बढायो जग्गाको मूल्य
उपत्यकाको मालपोत कार्यालयमध्ये सबैभन्दा कम कारोबार गर्ने गाटीखेल मालपोत कार्यालयले यो वर्ष जग्गाको मूल्य बढाएको छ । कार्यालयले केही पालिकाका वडाको मूल्य यथावत राखेको छ भने केही वडाको मूल्य बढाएको छ ।

कार्यालयले यो वर्ष बागमती गाउँपालिकाको गिम्दी क्षेत्रको जग्गाको मूल्य यथावत राखेको छ भने महांकाल गाउँपालिकाको गोटिखेल क्षेत्रको मूल्य प्रतिआना १० हजारदेखि ३० हजारसम्म बढाएको छ ।

कार्यालयले महांकाल गाउँपालिकाको चन्दनपुर, ठुलादुर्लुङ, बुखेल र मानिखेल जग्गाको मूल्य प्रतिआना ३ हजारदेखि ३० हजारसम्म बढाएको छ ।

साथै, कोन्ज्योसोम गाउँपालिकाको शंखु क्षेत्रको जग्गाको मूल्य प्रतिआना १ लाखदेखि २५ हजारसम्म बढाएको छ ।

चावहिल मालपोत कार्यालयको क्षेत्रधिकार पर्ने जग्गाको अधिकतम मूल्य ३८ लाख

चावहिल मालपोत कार्यालयले चालु आर्थिक वर्षमा जग्गाको मूल्य नबढाएको जनाएको छ । जसमा कार्यालयले गत आर्थिक वर्षको जग्गाको मूल्याङ्कनलाई निरन्तरता दिएको छ ।

चावहिल मालपोत कार्यालयको क्षेत्राधिकार पर्ने जग्गाको अधिकतम मूल्य ३८ हजार ५० हजार रुपैयाँ मूल्य कायम गरेको छ । जसमा कार्यालयले बौद्ध स्तूपा वरिपरिका कित्ता जग्गाहरूको मूल्य ३८ लाख ५० हजार रुपैयाँ तोकेको छ ।

उक्त कार्यालयको क्षेत्रधिकार परेको जग्गाको मूल्य प्रतिआना १ आना १ लाख ६५ हजारदेखि ३८ लाख ५० हजार रुपैयाँ कायम गरेको छ ।

डिल्लीबजार मालपोत कार्यालयभित्र जग्गाको न्यूनतम मूल्य १० लाख
डिल्लीबजार मालपोत कार्यालयले पनि यो वर्ष गत वर्षको मूल्यङ्कनलाई निरन्तरता दिएको छ । घरजग्गा कम किनबेच भए पनि राजस्व संकलनमा ठूलो हिस्सा ओगट्ने डिल्लीबजार मालपोत कार्यालयको क्षेत्रधिकार पर्ने जग्गाको न्यूनतम मूल्य प्रतिआना ९ लाख ९० हजार रुपैयाँ सरकारी मूल्याङुकन छ ।

कार्यालयको क्षेत्रधिकार पर्ने स्थानमा जग्गाको उपलब्धता निकै कम छ । त्यसमा पनि प्रतिआना नै ४० लाखभन्दा बढी पर्ने यस क्षेत्रमा न्यूनतम सरकारी मूल्याङु्कन ९ लाख ९० हजार तोकेको छ ।

त्यस्तै, कार्यालयले यसभित्रको जग्गाको मूल्य अधिकतम ३९ लाख ६० हजार रुपैयाँ तोकेको छ ।

टोखा क्षेत्रको जग्गाको अधिकतम मूल्य प्रतिआना ९ लाख ७५ हजार
टोखा मालपोत कार्यालयले पनि यो वर्ष जग्गाको मूल्य बढाएको छैन । जसमा कार्यालयले गत वर्षको मूल्याङ्कनलाई निरन्तरता दिएको जनाएको छ ।

त्यस्तै, कार्यालयले तोकेको मूल्यअनुसार टोखा क्षेत्रको जग्गाको अधिकतम मूल्य भने ९ लाख ७५ हजार रुपैयाँ तोकेको छ । टोखा गणेस्थान मन्दिरदेखि चण्डेश्वरी मन्दिरसम्मको दायाँबायाँ र टोखा गणेस मन्दिर गेटदेखि मालुङचोक सम्मको मूलसडकको दायाँबायाँका जग्गाको मूल्य ०९ लाख ७५ हजार रुपैयाँ तोकेको कार्यालयले उल्लेख गरेको छ । साथै, कार्यालयले जग्गाको वर्गअनुसार प्रतिवर्गमिटर ३५ सय रुपैयाँ तोकेको छ ।

मनमैजु क्षेत्रको जग्गाको मूल्य यथावत राख्दा अधिकतम मूल्य कति ?
मनमैजु मालपोत कार्यालयले यो वर्ष गत वर्षको मूल्यङ्कनलाई निरन्तरता दिएको छ । उक्त मूल्याङ्कनअनुसार कार्यालयले सो मनमैजु कार्यालयको क्षेत्रभित्रको जग्गाको अधिकतम मूल्य १७ लाख १२ हजार रुपैयाँ तोकेको छ ।

कार्यालयले गोगंबुबाट नयाँपुल भई छन्त्याल संघ हुँदै न्यायपरिषदको कम्पाउन्डसम्म जाने मूल सडकको दायाँबायाँका जग्गाको प्रतिआना १७ लाख १२ हजार रुपैयाँ तोकेको छ । साथै, कार्यालयले मुख्य सडक पर्ने दायाँबायाँको जग्गाको मूल्य प्रतिआना ३ लाख ५० हजारदेखि १५ लाख ८० हजार रुपैयाँ कायम गरेको छ ।

कार्यालयले मनमैजु क्षेत्रको प्रतिआना जग्गाको मूल्य १ लाख २५ हजार रुपैयाँदेखि १३ लाख ६० हजार रुपैयाँ, जितपुर क्षेत्रको प्रतिआना ४० हजारदेखि ४ लाखसम्म, फुटुङको ७० हजारदेखि ६ लाख ८० हजार, गोलढुङ्गाको ७५ हजारदेखि ७ लाख ५० हजार रुपैयाँ र धर्मथली क्षेत्रको जग्गाको ७५ हजारदेखि ७ लाख रुपैयाँ तोकेको छ ।

कार्यालयले जग्गाको वर्गअनुसार सो मूल्य तोकेको हो ।


अरिष्मा मोक्तान