एशियन लाइफ इन्स्योरेन्सले दियो १५.२६ प्रतिशत लाभांश
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ ।
कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७७/७८ को सञ्चित नाफाबाट १५.२६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले १४.५० प्रतिशत बोनस सेयर अर्थात् ३६ करोड ८२ लाख ७६ हजार ७५ रुपैयाँ तथा कर प्रयोजनका लागि नगद लाभांश ०.७६ प्रतिशत अर्थात् १ करोड ९३ लाख ८२ हजार ९५१ रुपैयाँ दिने घोषणा गरेको हो ।
बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ९० करोड ८१ लाख ११ हजार ७५ रुपैयाँ पुग्नेछ ।
बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई आगामी चैत महिनाभित्र चुक्ता पुँजी ५ अर्ब रुपैयाँ बनाउनु निर्देशन दिएको छ ।