भारतमा आरबीआईले बढायो रिपोको ब्याज, ऋणको ब्याजदर अझै बढ्ने



मुम्बई । भारतको केन्द्रीय बैंक रिजर्ब बैंक अफ इन्डिया(आरबीआई)ले रिपोको ब्याजदर बढाएको छ ।

आरबीआईका गभर्नर शक्तिकान्त दासले ४.९० प्रतिशतबाट रिपोदरलाई बढाएर ५.४० प्रतिशत पुगेको जानकारी दिए । केन्द्रीय बैंकले बैंकलाई तरलता दिनको लागि दिने रकमलाई रिपो भनिन्छ ।

आरबीआई गभर्नर दासले चालु वर्षमा भारतको आर्थिक बृद्धिदर ७.२ प्रतिशत हुने तथा चालु खाता घाटाबाट चिन्ता लिनु नपर्ने बताए ।

रिपोको ब्याजदर ०.५० प्रतिशतले बढाएपछि बैंकबाट ऋण लिएर घर तथा गाडी किन्नेले मासिक रुपमा तिर्नुपर्ने इएमआई बढ्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

‘भारतीय अर्थतन्त्रमा मुद्रास्फीतिको प्रभाव पर्ने छ,विश्वव्यापी मुद्रास्फीति चिन्ताको विषय हो,’आरबीआई गभर्नर दासले भने ।

आरबीआईले सहरी क्षेत्रमा मागमा सुधार देखिएको तथा चालु वर्षमा बैंकहरुको कर्जाको बृद्धिदर १४ प्रतिशतले हुने जनाएको छ ।

आरबीआईमा मौद्रिक नीति समितिको बैठक हरेक दुई महिनामा बस्ने गर्छ ।

चालु आर्थिक वर्षको पहिलो बैठक अप्रिलमा बसेको थियो । आरबीआईले सन् २०२२ मा रिपोको ब्याजदर तीनपटक बढाइसकेको छ ।

मुल्यबृद्धिलाई नियन्त्रणमा लिनको ब्याजदर बढाउने निर्णय आरबीआईले लिएको हो ।


क्लिकमान्डु