पुँजी नपुर्याए समितिले एक्सन लिन्छ, राष्ट्रिय बीमा कम्पनीको कारोबार रोकिन्छः अध्यक्ष सिलवाल



काठमाडौ । बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवालले तोकिएको समयभित्र पुँजी नपुर्याए राष्ट्रिय बीमा कम्पनीको कारोबार रोक्ने बताएका छन् ।

राष्ट्रिय बीमा कम्पनीको ९औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले तोकिएको समयभित्र पुँजी वृद्धि गर्नुपर्ने बताए ।

तोकिएको समयभित्र पुँजी नपुर्याए कारोबार रोक्का गर्ने उनको भनाइ छ ।

‘नियामकलाई ऎनको पालना गर्न दिनुपर्छ । ऎनमा यो निजी कम्पनी, त्यो सरकारी कम्पनी भन्ने हुँदैन,’ सिलवालले भने, ‘पुँजी वृद्धि जरुरी छ, पुँजी वृद्धि नगरे समितिले एक्सन लिन्छ ।’

तोकिएको समयभित्र पुँजी नबढाए समितिले कारोबार रोक्ने उनको भनाइ छ ।

उनले राष्ट्रिय बीमा कम्पनीबाट आएका कुनै पनि वित्तीय विवरण नरोकेको बताए । प्राप्त भएका विवरणहरुलाई समयमा नै स्वीकृति दिएको उनको भनाइ छ ।

‘कम्पनीबाट प्राप्त भएका कुनै पनि विवरण रोकिएको छैन,’ उनले भने, ‘बरु सर्तसहित प्राप्त भएका सबै विवरण स्वीकृत भएका छन् । सर्त नराखी पारित गर्ने अवस्था छैन ।’

कम्पनीले आर्थिक वर्ष २०७१/७२ र आर्थिक वर्ष २०७२/७३ को वित्तीय विवरण बीमा समितिबाट स्वीकृत गरेको छ । यस्तै आर्थिक वर्ष २०७३/७४ को वित्तीय विवरण तयार पार्ने काम गरिरहेको छ । बाँकी आवका वित्तीय विवरण समयमा नै तयार नपारेको कारोबार रोक्ने चेतावनी समेत सिलवालले दिएका छन् ।

‘तोकिएको समयमा नै लेखापरीक्षण नगराए कारोबार रोकिन्छ,’ उनले भने ।


क्लिकमान्डु