यी हुन् नेपालमा वाइवाइ चाउचाउ नम्बर वान ब्रान्ड भइरहनुका ७ कारण



एजेन्सी । नेपालमा वाइवाइ चाउचाउ, चाउचाउको पर्यायवाची शब्द हो । पहाडदेखि तराईसम्म नेपालभर वाइवाइका प्रोडक्टहरु व्यापकरुपमा उपभोग भइरहेका छन् ।

नेपालीको घरघरमा वाइवाइको उपस्थिति र लोकिप्रियता पाउनुमा ‘वाइवाइ बिलेनियर’ भनेर चिनिने बिनोद चौधरीको प्रमुख भूमिका छ ।

सन् १९८४ देखि मुलुकभर बिक्री शुरु भएको वाइवाइले नै चौधरी ग्रुपका अध्यक्ष चौधरीलाई डलर अर्बपति बनायो । उत्पादन शुरु भएको चार दशकदेखि वाइवाइ नेपालको सबैभन्दा धेरै बिक्री हुने ब्रान्डमा छ । वाइवाइ अहिले २० फ्लेबरमा प्रत्येक दिन १५ लाख प्याकेट उत्पादन भइरहेको छ ।

चार दशकदेखि ‘नम्बर वान’ चाउचाउ ब्रान्ड रहिरहनुका सात कारणहरु यस्ता छन् ।

१. उपयुक्त समयमा उपयुक्त ठाउँमा उत्पादन

सन् १९५० दशकपछि नेपालमा पर्यटन क्षेत्र उल्लेख्यरुपमा विकास हुँदै गयो । त्यसपछि सन् १९६० र सन् १९७० को दशकमा नेपालीहरु विभिन्न कारणले विदेश यात्रामा निस्किन शुरु गरे । त्यसपछि नेपालमा विदेशी पर्यटक र मालसामान आयात हुन थाले । त्यसमध्ये एक चाउचाउ पनि थियो ।

यसैक्रममा गन्डकी नुडल्सले रारा चाउचाउ (सेतो चाउचाउ) उत्पादन शुरु गर्यो । नेपालको पहिलो चाउचाउका रुपमा रारा आएपछि सिजीले नेपालको पहिलो (ब्राउन) चाउचाउको रुपमा ल्यायो वाइवाइ । यो तत्कालै लोकप्रिय भयो र २० वर्षदेखि बजार दबावमा राखेको भारतको म्यागी चाउचाउलाई प्रतिस्थापन गर्यो ।

२. कमजोर प्रतिस्पर्धी

वाइवाइ आएपछि नेपालमा प्रत्येक पसलमा चाउचाउ उपलब्ध भयो । यसलाई खाजाको रुपमा प्रयोग हुन थाल्यो । तर, यसलाई टक्कर दिने प्रतिस्पर्धीहरु भने बलियोरुपमा आउन सकेनन् ।

जस्तो कि रुची, मायोज र रमपम चाउचाउले शुरुमा राम्रो सफलता पाए तर अन्ततः असफल भए । प्रतिस्पर्धामा वाइवाइले अन्य सबैलाई हराउन सफल भयो ।

३. पहिलो हुँदाको फाइदा

वाइवाइ चाउचाउ उत्पादन शुरु हुनुभन्दा पहिला नेपालमा भातरबाट म्यागी चाउचाउ आयात हुन्थ्यो । ब्राउन चाउचाउमा वाइवाइ नेपालको पहिलो चाउचाउ हो । नेपालमा पहिलो चाउचाउको रुपमा आएको वाइवाइले त्यसको फाइदा लिन सफल भयो ।

यदि कुनै पनि वस्तु पहिलो पटक उत्पादन भएमा उसले सजिलै ब्रान्ड बनाउन सक्छ । यस्तो उत्पादनले बजारमा जानुभन्दा पहिला नै ग्राहकको मन तान्न सफल हुन्छ । वाइवाइ पनि त्यस्तै मन जित्ने ब्रान्डमा पर्छ ।

४. मूल्य

नेपालमा कुनै पनि वस्तु बजारमा आएपछि यसको मूल्य प्रमुख विषय बन्छ । वाइवाइको लोकप्रियतामा पनि मूल्यले प्रमुख भूमिका खेलेको छ । ग्राहकले यो चाउचाउ वर्षौंसम्म सुलभ मूल्यमा पाएका छन् ।

५. गुणस्तरीय उत्पादन

अहिलेसम्म कसैले पनि वाइवाइको गुणस्तर बारेमा असन्तुष्टी जनाएका छैनन् । नेपालीले हरेक दिनरात यसको खपत गरिरहेका छन् । वाइवाइ चाउचाउप्रति नेपाली सहानुभूति राखेका छन् ।

६.वाइवाइको अन्तर्राष्ट्रिकरण

नेपालमा वाइवाइको सफलतापछि यसले आफ्नो ब्रान्डलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याएको छ । चौधरीका अनुसार दुवई एयरपोर्टमा आफ्नो लगेज पर्खिरहेको बेलामा वैदेशिक रोजगारीमा त्यहाँ पुगेका नेपालीहरुले कार्टुनका कार्टुन वाइवाइ बोकेको देखेपछि अन्तर्राष्ट्रिय बजारमा लैजाने आइडिया आएको बताएका छन् । वाइवाइ मन पराउने ति नेपालीले विदेशमा किन्न खोजेमा पाउँदैनथे ।

अहिले वाइवाइ भारत, काजक्स्तान, बंगलादेश, इजिप्ट र युरोपमा पुगेको छ । यो नै आफ्नो जीवनको सबैभन्दा ठूलो खुसीको क्षण भएको बताउँछन् ।

७. आक्रमक मार्केटिङ

नेपालमा मोडलको प्रयोग गरेर विज्ञापन गर्ने कम्पनीहरुमध्ये वाइवाइ पनि हो, जसले गर्दा यो धेरै प्रभावकारी भयो । चाउचाउ बजारमा प्रतिस्पर्धी कम्पनीहरु थपिएपछि यसले विज्ञापन र मार्केटिङलाई एक ठूलो हतियारको रुपमा प्रयोग गर्यो । जसले गर्दा बजारमा प्रतिस्पर्धा गर्न र बजार हिस्सा बढाउन सहयोग गर्यो । (नेपवेभ डटकमबाट)


क्लिकमान्डु