पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल ६ लाख घुस सहित पक्राउ



काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्रालयको नागरिक उड्‌डयन महाशाखाका उप-सचिव प्रमोद नेपाललाई घुस लिँदै गर्दा पक्राउ गरेको जनाएको छ ।

नेपालले प्याराग्लाईडिङ्ग सञ्चालनको लागि अनुमति पत्र (लाइसेन्स) उपलब्ध गराइदिने भन्दै सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले नेपाललाई नियन्त्रणमा लिएको अख्तियार द्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

नेपाललाई सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा घुस रकमसहित काठमाडौं महानगरपालिका, वडा नं १ मनकामना मार्ग स्थित होटल अरण्यको कम्पाउण्डबाट नियन्त्रणमा अख्तियारले जनाएको छ ।

अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार नेपाललाई नियन्त्रणमा लिएर उनले प्रयोग गर्ने गाडी खानतलासी गर्ने क्रममा श्रोत नखुलेको थप १६ लाख ५० हजार रुपैयाँ भेटिएको थियो । नेपालसँग २२ लाख ५० हजार रुपैयाँ कसरी प्राप्त भयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको भण्डारीले जानकारी दिए।


क्लिकमान्डु