भारतमा विदेशी मुद्राको सञ्चिति थप सवा १५ अर्ब डलरले घट्यो



एजेन्सी । भारतमा लगातार विदेशी मुद्राको सञ्चिति घटिरहेको छ । पछिल्ला दुई सातामा १५ अर्ब अमेरिकी डलर बराबरले घटेको छ ।

पछिल्लो १० महिनामा मात्रै ७० अर्ब अमेरिकी डलर बराबरले विदेशी मुद्राको सञ्चिति घटेको रिजर्व बैंक अफ इण्डियाले जनाएको छ । ०२१ को सेप्टेम्बर ३ मा भारतमा विदेशी मुद्राको सञ्चिति अहिलेसम्मकै उच्च विन्दूमा पुगेको थियो । त्यसदिन ६ खर्ब ४२ अर्ब ४५ करोड अमेरिकी डलर बराबरको विदेशी मुद्राको सञ्चिति रहेकोमा गत शुक्रबारसम्म आइपुग्दा ७० अर्ब ८९ करोड डलरले घटेर ५ खर्ब ७१ अर्ब ५६ करोड डलरमा झरेको छ ।

अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा अबमूल्यन हुनुका साथै पछिल्ला महिनाहरुमा भएको उच्च आयातले विदेशी मुद्राको सञ्चितिमा व्यापक गिरावट आएको हो ।

भारतमा मात्रै होइन पछिल्लो समय चीनबाहेक संसारका अधिकांश देशहरुमा विदेशी मुद्रा सञ्चिति घट्दो अवस्थामा छ । खासगरी अहिले दक्षिण एशियाली देशहरुको मुख्य समस्या नै घट्दो विदेशी मुद्रा सञ्चिति बनेको छ ।

विदेशी मुद्रा सञ्चिति घटेकै कारण श्रीलंकाले आफूलाई टाट पल्टिएको घोषणा गरिसकेको छ भने नेपालमा पनि पछिल्ला महिनामा विदेशी मुद्रा सञ्चितिको विषय अर्थतन्त्रको चुनौति बन्दै गएको छ ।

विदेशी मुद्रा जोगाउन नेपाल सरकारले आयात नियन्त्रण गर्ने विभिन्न कदमहरु चालिरहेको छ ।


क्लिकमान्डु