बीमा अभिकर्ता र सर्भेयरको लाइसेन्स नवीकरण कात्तिकपछि नहुने



काठमाडौं । बीमा समितिले बीमा अभिकर्ता र सर्भेयरलाई लाइसेन्स नवीकरण गर्न आग्रह गरेको छ ।

समितिले बिहीबार एक सूचना जारी गर्दै अभिकर्ता र सर्भेयरको लाइसेन्स नवीकरण गर्न आग्रह गरेको हो ।

बीमा अभिकर्ता तथा सर्भेयरहरूको इजाजतपत्र प्रत्येक चैत मसान्तभित्रमा नवीकरण गरिसक्नु पर्ने कानूनी व्यवस्था छ ।

म्यादभित्र कुनै सर्भेयर वा अभिकर्ताहरूले आफ्नो इजाजतपत्र नवीकरणको लागि निवेदन दिन नसकेको कारण खुलाई समितिको कार्यालयमा निवेदन दिएमा नवीकरणको म्याद नाघेको पहिलो दुई महिनासम्म र त्यसपछिको ४ महिनासम्म थप दस्तुर तिरी नवीकरण गर्न सक्ने व्यवस्था छ ।
सर्भेयरहरूको म्याद नाघेको पहिलो २ महिनासम्म ५ सय रूपैयाँ र त्यस पछिको ४ महिनासम्मको लागि प्रति दिन ५० रूपैयाँ थप दस्तूर लिई त्यस्तो इजाजतपत्र नवीकरण गरिदिन सक्ने व्यवस्था छ ।

यस्तै, म्यादभित्र कुनै बीमा अभिकर्ताले आफ्नो लाइसेन्स नवीकरणको लागि निवेदन नदिएमा नवीकरणको म्याद नाघेको पहिलो २ महिनासम्मको १ सय रूपैयाँ र त्यसपछिका ४ महिनासम्मको लागि प्रतिदिन ५ रूपैयाँ थप दस्तुरसहित निवेदन दिनसक्नेछन् ।

असोज मसान्तसम्म ती अभिकर्ता तथा सर्भेयरहरूको लाइसेन्स नवीकरण गर्न सक्ने व्यवस्था बीमा नियमावली, २०४९ ले व्यवस्था गरिदिएको छ । जसअनुसार २०७९ को लागि नवीकरण गर्न छुटेका बीमा अभिकर्ता तथा सर्भेयरहरूलाई आफ्नो इजाजतपत्र समयमै नवीकरण गराउन समितिले आग्रह गरेको हो ।

विलम्ब दस्तुर तिरेर अभिकर्ता तथा सर्भेयरहरूले असोज मसान्तसम्म आफ्नो लाइसेन्स नवीकरण गर्न सक्नेछन् ।

२०७९ असोज मसान्तपछि बिलम्ब शुल्क तिरेर पनि नवीकरण गर्न नसकिने समितिले जनाएको छ । समितिकाअनुसार कात्तिकदेखि नवीकरण हुँदैन ।

समितिले गत आर्थिक वर्षको अन्त्यसम्ममा १ हजार १०२ जना बीमा सर्भेयरको लाइसेन्स नवीकरण भएको जनाएको छ । समितिको तथ्यांक अनुसार ‘क’ वर्गका ५० जना, ‘ख’ वर्गमा ५४ जना, ‘ग’ वर्गमा १२४ जना र ‘घ’ वर्गमा ८७४ जना गरी एक हजार १०२ जना सर्भेयरको लाइसेन्स नवीकरण भएको छ ।

यस्तै, गत आवमा लाइसेन्स नवीकरण गर्ने अभिकर्ताको संख्या भने समितिले सार्वजनिक गरेको छैन ।


क्लिकमान्डु