११०२ जना बीमा सर्भेयरको लाइसेन्स नवीकरण



काठमाडौं । बीमा समितिले १ हजार १०२ जना बीमा सर्भेयरको लाइसेन्स नवीकरण गरिदिएको छ । समितिले गत आर्थिक वर्षको अन्त्यसम्ममा ‘क’ वर्गका ५० जना सर्भेयरको लाइसेन्स नवीकरण गरिदिएको हो ।

सर्भेयरले आफ्नो इजाजतपत्र नवीकरण गराउनको लागि दिएको निवेदनका आधारमा समितिले लाइसेन्स नवीकरण गरेको हो ।

समितिले गत आर्थिक वर्षको अन्त्यसम्ममा ‘क’ वर्गका ५० जना सर्भेयरको लाइसेन्स नवीकरण गरिदिएको छ । यस्तै ‘ख’ वर्गमा ५४ जना, ‘ग’ वर्गमा १२४ जना र ‘घ’ वर्गमा ८७४ जना गरी १ हजार १०२ जना सर्भेयरको लाइसेन्स नवीकरण गरिदिएको छ ।

समितिकाअनुसार बीमा सर्भेयरहरूलाई कार्य अनुभवका आधारमा ‘क’ ‘ख’ ‘ग’ र ‘घ’ वर्गीकरण गर्ने गरिन्छ ।

१५ वर्षभन्दा बढी अवधि नियमितरूपमा सर्भेयरको काम गरेका सर्भेयरलाई ‘क’ वर्ग, १० वर्षदेखि पन्ध्र वर्षसम्म नियमित रूपमा सर्भेयरको काम गरेका सर्भेयरलाई ‘ख’ वर्ग, ५ वर्षदेखि १० वर्षसम्म नियमित रूपमा सर्भेयरको काम गरेका सर्भेयरलाई ‘ग’ वर्ग र ५ वर्षसम्म नियमित रूपमा सर्भेयरको काम गरेका सर्भेयरलाई ‘घ’ वर्गमा वर्गीकरण गरिने व्यवस्था छ ।

सर्भेयरले आफ्नो इजाजतपत्र नवीकरण गराउनको लागि ऐनको दफा ३१ को उपदफा (१) बमोजिमको म्यादभित्र नवीकरण दस्तुर वापत ‘क’ वर्गको इजाजतपत्र भए १२ हजार रूपैयाँ ‘ख’ वर्गको इजाजतपत्र भए ९ हजार रूपैयाँ र ‘ग’ वर्गको इजाजतपत्र भए ७ हजार रूपैयाँ र ‘घ’ वर्गको इजाजतपत्र भए ५ हजार रूपैयाँसहित समितिको कार्यालयमा निवेदन दिनुपर्ने व्यवस्था छ ।

समितिबाट सर्भेयरको इजाजतपत्र पाएका सर्भेयरले प्रत्येक वर्ष आफ्नो लाइसेन्स नवीकरण गर्नुपर्ने व्यव्स्था छ । जसअनुसार सर्भेयरहरूले चैत मसान्तसम्म आफ्नो लाइसेन्स नवीकरण गरिसक्नु पर्ने हुन्छ ।

म्यादभित्र कुनै सर्भेयरले आफ्नो इजाजतपत्र नवीकरणको लागि निवेदन दिन नसकेको कारण खुलाई समितिको कार्यालयमा निवेदन दिएमा नवीकरणको म्याद नाघेको पहिलो दुई महिनासम्मको लागि ५ सय रूपैयाँ र त्यस पछिको ४ महिनासम्मको लागि प्रति दिन ५० रूपैयाँ थप दस्तूर लिई त्यस्तो इजाजतपत्र नवीकरण गरिदिन सक्नेछ । समय थप गरेका आधारमा समितिले असोज महिनासम्ममा लाइसेन्स नवीकरण गरिदिन्छ ।

बीमा गरिएको सम्पत्तीको क्षति भएमा सम्बन्धित बीमा कम्पनीले बीमितिलाई क्षतिपूर्ति प्रदान गर्नुपर्दछ । उक्त क्षतिको मूल्यांकन गर्न सक्ने व्यक्ति तथा संस्थालाई नै सर्भेयर हो । सर्भेयरले पेश गरेको प्रतिवेदनको आधारमा बीमा कम्पनीहरुले बीमितलाई दाबी वापतको रकम भुक्तानी गर्दछ ।

बीमा सर्भेयर बन्नको लागि चार्टर्ड एकाउन्टेन्ट, इन्जिनियर, बीमा कम्पनीका अधिकृतस्तरमा कम्तीमा १० वर्षभन्दा बढी काम गरेको वा बीमा सम्बन्धी विशेष अध्ययन गरेको हुनुपर्दछ । त्यस्ता व्यक्तिमात्रै बीमा समितिले संञ्चालन गर्ने सर्भेयरको तालिम लिएर लाइसेन्स लिन सक्नेछन् ।


क्लिकमान्डु