एक वर्षमा ५ हजार केजी सुन आयात, चाँदी आयात ४ वर्ष यताकै उच्च



काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा ५ हजार केजी सुन आयात भएको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार गत वर्ष ३५ अर्ब ६१ करोड ९५ लाख रुपैयाँको ५ हजार ५३ केजी सुन आयात भएको छ । उक्त आयातित सुनबाट नेपालले ४ अर्ब २९ करोड ५० लाख रुपैयाँ भन्सार महसुल संकलन गरेको छ ।

गत वर्ष देशभर तरलता अभावका कारण नेपाल राष्ट्र बैंकले विभिन्न ४७ वस्तुको आयातमा शत प्रतिशत मार्जिनको व्यवस्था गरेको थियो ।

सरकारले अप्रत्याशित रुपमा चाँदी आयात भएको भन्दै शतप्रतिशत मार्जिनको व्यवस्था गरेको थियो । सुनमा भने शतप्रतिशत मार्जिनको व्यवस्था गरेको थिएन ।

तर, राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई मौखिक निर्देशन दिई केही समयका लागि सुन आयातमा कडाइ गरेको थियो । जसमा वाणिज्य बैंकहरूले १ महिनासम्म सुन आयात गर्न पाएका थिएनन् । बजारमा उच्च तरलता अभावमा समेत नेपालले गत वर्ष उच्च सुन आयात गरेको तथ्याङ्कले उल्लेख गर्दछ ।

नेपालले आव २०७७/७८ मा २७ अर्ब ३४ करोड ३९ लाख रुपैयाँको ३ हजार ९२४ केजी सुन आयात गरेको थियो । त्यस्तै, आव २०७६/७७ मा १३ अर्ब ४६ करोड ४ लाख रुपैयाँको २४ सय केजी, आव २०७५/७६ मा ३४ अर्ब ६१ करोड ६५ लाख रुपैयाँको ७ हजार ४९३ केजी र आव २०७४/७५ मा ३१ अर्ब ७४ करोड ८७ लाख रुपैयाँको ७ हजार २३२ केजी सुन आयात भएको छ ।

१३ अर्बको चाँदी आयात
त्यसैगरी, सरकारले चाँदी आयातमा कडाइ गरे पनि उच्च आयात भएको छ । गत वर्ष नेपालले १३ अर्ब ९ करोड २९ लाख रुपैयाँको १ लाख ३८ हजार ५०१ केजी चाँदी आयात भएको छ । उक्त आयातित चाँदीबाट नेपालले १ अर्ब २४ करोड ४५ लाख ८० हजार रुपैयाँ भन्सार महशुल संकलन गरेको छ । उक्त आयाततित चाँदी ४ वर्षपछिकै सबैभन्दा बढी हो ।

त्यसैगरी, नेपालले आव २०७७/७८ मा ७ अर्ब ३० करोड ७० लाख रुपैयाँ बराबरको ७१ हजार ७४६ केजी, आव २०७६/७७ मा ६ अर्ब १ करोड रुपैयाँको ९२ हजार १९ केजी, आव २०७५/७६ मा ७ अर्ब २० करोड ६० लाख रुपैयाँको १ लाख २९ हजारय २५२ केजी र आव २०७४/७५ मा १० अर्ब १९ करोड ३० लाख रुपैयाँको १ लाख ८७ हजार ८०२ केजी चाँदी आयात भएको छ ।


क्लिकमान्डु