नेपाल लाइफसहित ५ पुराना कम्पनीले गुमाए बजार हिस्सा



काठमाडौं । गत आर्थिक वर्षमा १९ जीवन बीमा कम्पनीले १ खर्ब ३९ अर्ब ८ करोड ९८ हजार रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । जुन गत आवको यसै अवधिको तुलनामा १५प्रतिशतले बढी हो ।

अघिल्लो आवमा जीवन बीमा कम्पनीहरूले १ खर्ब २० अर्ब ९५ करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए ।

नयाँ बीमा कम्पनीले आक्रामकरूपमा बजार बिस्तार गर्दा वर्षौ अघिदेखि बजारमा राम्रो उपस्थिति देखाउँदै आएका पुराना बीमा कम्पनीको बजार हिस्सा घट्न थालेको छ ।

गत आवमा नेपाल लाइफसहितका ५ वटा कम्पनीहरु नेपाल लाइफ, मेट लाइफ, राष्ट्रिय बीमा संस्थान, एलआइसी नेपाल र गुराँस लाइफ इन्स्योरेन्सको बजार हिस्सा गुमाएका छन् ।

तथ्यांकअनुसार गत आवमा सबैभन्दा धेरै बजार हिस्सा गुमाउनेमा नेपाल लाइफ छ ।

यस अवधिसम्मा सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्ने कम्पनीमा परे पनि कम्पनीको बजार हिस्सा भने १.७४ प्रतिशत विन्दुले गुमेको हो ।

कम्पनीको बजार हिस्सा गत आवको सोही अवधिमा २७.१५ प्रतिशतबाट गुमेर २५.४२ प्रतिशतमा झरेको हो ।

नेपाल लाइफपछि धेरै बजार हिस्सा गुमाउने कम्पनीमा एलआइसी नेपाल परेको छ । गत आवको यसै अवधिको तुलनामा कम्पनीको बजार हिस्सा १.०७ प्रतिशत विन्दुले घटेर १३.१० प्रतिशत विन्दुमा सीमित भएको छ । गत आवको यसै अवधिमा कम्पनीको बजार हिस्सा १४.१७ प्रतिशत थियो ।

बजार हिस्सा गुमाउने तेस्रो स्थानमा मेट लाइफ छ । कम्पनीले ०.३९ प्रतिशत विन्दुले बजार हिस्सा गुमाएको छ । कम्पनीको बजार हिस्सा ४.१५ प्रतिशतबाट झरेर ३.७६ प्रतिशतमा सीमित भएको हो ।

यस्तै, राष्ट्रिय बीमा संस्थानको बजार हिस्सा ०.०३ प्रतिशत विन्दुले घटेर ६.०९ प्रतिशतमा कायम भएको छ । गत आवको जेठ मसान्तसम्ममा यस संस्थानको बजार हिस्सा ६.१३ प्रतिशत थियो ।

गुराँस लाइफले ०.८३ प्रतिशत विन्दुले घटेको छ ।

प्राइम, सूर्या, एशियन र नेशनल लाइफ इन्स्योरेन्सले भने बजार हिस्सा बढाएका छन् ।

अघिल्लो आवको यसै अवधिको तुलनामा प्राइम लाइफको बजार हिस्सा ०.१७ प्रतिशत, सूर्या लाइफको बजार हिस्सा ०.०७ प्रतिशत र एशियन लाइफको बजार हिस्सा ०.२६ प्रतिशतले बढेको हो ।
यस्तै, अघिल्लो आवको तुलनामा नेशनल लाइफ इन्स्योरेन्सको बजार हिस्सा ०.११ प्रतिशतले बढेको छ ।

गत आवमा कुल जीवन बीमा कम्पनीले गरेको कुल व्यवसायमा नेशनलले १०.१६ प्रतिशत हिस्सा ओगटेको छ । अघिल्लो आवमा कम्पनीले १०.०५ प्रतिशत हिस्सा ओगटेको थियो ।
तथ्यांकअनुसार पूराना ४ जीवन बीमा कम्पनीसँगै सञ्चालनमा रहेका सबै नयाँ कम्पनीले आफ्नो बजार हिस्सा बढाउँदै गएका छन् ।

सन नेपाल लाइफको बजार हिस्सा ०.५८ प्रतिशतले बढेर २.४२ प्रतिशत र सिटिजन लाइफको ०.९१ प्रतिशतले बढेर ३.८८ प्रतिशत कायम भएको छ ।
यस अवधिमा १८ वटा जीवन बीमा कम्पनीले व्यवसाय बढाउँदा गुराँस लाइफ इन्स्योरेन्सको व्यवसाय भने घेटको छ ।

गत आवको सोही अवधिको तुलनामा गुराँसको व्यवसाय १६.२९ प्रतिशतले घटेर ३ अर्ब ८ करोड रूपैयाँमा सीमित भएको हो । अघिल्लो आवमा गुराँसले ३ अर्ब ६८ करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।

गत आवमा नेपाल लाइफ इन्स्यारेन्सले सबैभन्दा धेरै कुल बीमाशुल्क संकलन गरेको छ । गत आवमा कम्पनीले ३५ अर्ब ३५ करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो ।

यस्तै, गत आव प्रभु लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै प्रतिशतले व्यवसाय बढाएको छ । अघिल्लो आवको तुलनामा प्रभुले गत आवमा ६५.०८ प्रतिशतले आफ्नो व्यवसाय बढाएको हो ।

कम्पनीले गत आवमा २ अर्ब ३९ करोड रूपैयाँ बीमाशुल्क संकलन गरेको छ । अघिल्लो आवमा कम्पनीले १ अर्ब ४५ करोड रूपैयाँ मात्रै बीमाशुल्क संकलन गरेको थियो ।


क्लिकमान्डु