घरजग्गामा जाने कर्जामा कडाइ, उपत्यकाभित्र धितो राखेर बढीमा ३०% मात्रै कर्जा पाइने



काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा कर्जामा कडाइ गरेको छ ।

राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्दै बैंक तथा वित्तीय संस्थाले घर/जग्गा धितो राखी निश्चित प्रयोजन नखुलेका नयाँ अधिविकर्ष कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा प्रवाह गर्दा कर्जा र सोको धितो सुरक्षणको फेयर मार्केट भ्यालुबीचको अनुपात काठमाण्डौं उपत्यकाभित्र बढीमा ३० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ४० प्रतिशतसम्म कायम गर्नुपर्ने व्यवस्था गरेको छ ।

यसअघि काठमाडौं उपत्यकाभित्र सरकारी मूल्याङ्कन र बैंकको मूल्याङ्कन गरी काठमाडौं उपत्यकाभित्र ४० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ५० प्रतिशत कायम गरिएको थियो ।

पछिल्लो समय सरकारले भूउपयोग नियमवाली कार्यान्वयनमा ल्याएसँगै घरजग्गा कारोबारमा मन्दी आएको छ ।

त्यसमा पनि सरकारले अहिले मौद्रिक नीतिमा कडाइले झनै कारोबार कम हुने रियल स्टेट कारोबार नेपालका अध्यक्ष प्रकाश छतकली बताउँछन् ।

विगतको दिनमा बैंक तथा वित्तिय संस्थाले घरजग्गामा दिइने कर्जामा मिलेसम्म बढी मूल्याङ्कन गरेर कर्जा प्रवाह हुन्थ्यो । तर, अहिले थप कर्जामा कडाइ गरेको छ ।

उक्त व्यवस्थाले घरजग्गा कारोबारमा मन्दी आउने उनको भनाइ छ ।


क्लिकमान्डु