वैदेशिक रोजगारीमा रहेकालाई सामाजिक सुरक्षाको दायरामा ल्याइने
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने बताएका छन् ।
गैरआवासीय नेपाली सङ्घले ‘वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा वैदेशिक मुद्रा निक्षेप कार्यशाला’लाई सम्बोधन गर्दै उनले नेपालले वैदेशिक रोजगारीका गएका श्रमिकलाई सामाजिक सुरक्षामा आवद्ध गराउन नयाँ व्यवस्था गरिने बताए ।
वैदेशिक रोजगारीबाट पठाएको रकम विलासिताका सामान आयात गर्न खर्च भएको यथार्थ प्रस्तुत गर्दै उनले विप्रेषणको सही सदुपयोग गर्ने नीति अबलम्बन गर्नुपर्नेमा जोड दिए ।
श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले वैदेशिक रोजगारीलाई भरपर्दो, मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन सरकारको तर्फबाट अधिकतम प्रयास गरिरहेको बताए ।
उनले सुरक्षित वैदेशिक रोजगारीका लागि सरोकारवालाको भूमिका पनि उत्तिकै जिम्मेवार हुनुपर्ने बताए ।
आर्थिक वर्ष २०७८र७९ मा मात्रै कूल ६ लाख श्रमिक रोजगारीको खोजीमा विदेशिएको तथ्याङ्क दिँदै उनले हालसम्म ४६ लाख श्रमिकले श्रम स्वीकृति लिएको जानकारी दिए ।
वैधानिक मार्गबाट विप्रेषण भित्र्याउनका लागि सरकारले धेरै काम गरिसकेको जानकारी दिँदै सचिव अर्यालले लगानी गर्दा छुट दिने तथा ब्याज बढी दिनेलगायत प्रक्रिया अगाडि बढिसकेको बताए ।
परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले नेपालको समृद्धिका लागि वैदेशिक रोजगारीमा रहेका श्रमिकको ज्ञान, सीप र क्षमता सदुपयोग गर्ने विषयलाई सरकारले प्राथमिकता दिएको बताए ।
पूर्वमहान्यायाधीवक्ता रमेश बडालले सामाजिक सुरक्षा योजना कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि थप प्रयास गर्नुपर्ने धारणा राखे ।
सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिल ज्ञवालीले सबै श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आवद्ध गराउने तयारीका साथ कोष अगाडि बढेको बताए ।
कार्यक्रममा पूर्वसचिव पूर्णचन्द्र भट्टराईले सामाजिक सुरक्षाका कार्यक्रममा जोड्नका लागि ‘पाइलटिङ’ गरेर काम गर्न आग्रह गरेका थिए ।
उनले विप्रेषण भित्र्याउने कम्पनीलाई पनि जिम्मेवार बनाउनुपर्नेमा जोड दिएका थिए । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुल आचार्यले दक्ष कामदार पठाउन सकिएको खण्डमा हाल आर्जन गरेको भन्दाबढी कमाइ गर्नसक्ने बताए ।
गैरआवासीय सङ्घ र सामाजिक सुरक्षा कोषबीच त्यस अवसरमा एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
वैदेशिक रोजगारीमा गएका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने उद्देश्यका साथ उक्त हस्ताक्षर भएको हो ।
कोषका कार्यकारी निर्देशक ज्ञवाली र सङ्घका तर्फबाट कुल आचार्य र बद्री केसीले हस्ताक्षर गरे ।