पोखराका मेयर आचार्यको सम्पत्ति साढे ४३ करोड, सेयर बजारमा मात्रै २६ करोड लगानी



काठमाडौं । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आफ्नो सम्पत्तिको विवरण सार्वजनिक गरेका छन् ।

मेयर आचार्यले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उनीसँग ४३ करोड ६१ लाख ४५ हजार रुपैयाँ खुद सम्पत्ति छ ।

उनले आफ्नो आम्दानी मात्रै ४० करोड ७६ लाख ४५ हजार भएको बताएका छन् । करोडौंका मालिक मेयर आचार्यसँग बैंक तथा वित्तीय संस्था, साथीभाइ तथा आफन्तसँग लिएको २ करोड ८५ लाख रुपैयाँ ऋण छ ।

सार्वजनिक गरेको विवरणमा बुबाको सम्पत्ति भने उल्लेख छैन । आचार्यको सम्पत्ति विवरणअनुसार काठमाडौं र कास्की गरी ३ वटा घर छन् ।

पोखरा–९ मा ९ करोड २५ लाख मूल्य बराबरको एउटा घर र काठमाडौंको सितापाइला–४ मा रहेको १ करोड ८५ लाख रुपैयाँ मूल्य बराबरको घर भने श्रीमती पुष्पाकुमारी पौडेलको नाममा छ ।

त्यस्तै, पोखरा–११ मा रहेको ३ करोड ५० लाख रुपैयाँ मूल्य बराबरको एउटा घर भने आचार्यको नाममा रहेको विवरणमा उल्लेख छ ।

आचार्यसँग हेवा गाउँपालिका दोलखामा ८७ लाख रुपैयाँ बराबरको ५८.७ रोपनी जग्गा रहेको छ ।

त्यसैगरी, २ करोड मूल्य बराबरको टोयटा आरएभी४ कार, रेनल्ट केडब्लूआइडी कार, ओम्नी भ्यान, सुजुकी स्वीफ्ट कार, ३ वटा स्कुटर सवारी साधन छन् ।

आचार्यसँग १५ लाख रुपैयाँ बैंक तथा आफूसँग नगद छ भने विभिन्न बैंक तथा वित्तीय संस्थामा नगद २५ करोड ९९ लाख ४५ हजार ६१६ रुपैयाँ बराबरको सेयर लगानी छ ।

आचार्यले आफूसँग ५४ तोला सुन, ३८ तोला चाँदी र ५ तोला हिरा रहेको विवरणमा उल्लेख छ ।


क्लिकमान्डु