रिद्धिसिद्धि सिमेन्टले गर्यो एकै वर्ष ६ अर्बको कारोबार



काठमाडौं । रिद्धिसिद्धि सिमेन्ट प्रालिले एकै वर्ष ६ अर्ब रुपैयाँ बढीको व्यापार गरेको छ । कम्पनीले सन् २०२१ मा ६ अर्ब ३७ करोड रुपैयाँको कारोबार गरेको इन्फोरेमेक्स नेपालले जनाएको छ ।

कोभिड–१९ का कारण निकै असर परेको यस कम्पनीले सन् २०२० मा १ अर्ब ७९ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो । तर, सन् २०२१ मा उच्च व्यापार गरेको कम्पनीको भनाइ छ । जसमा सन् २०२१ मा २६ प्रतिशतले नाफा कमाएको उल्लेख छ ।

शंकर ग्रुप र अम्बे ग्रुपको संयुक्त लगानी रहेको यस कम्पनीले क्लिङ्कर र ग्रान्डिङ सिमेन्ट उत्पादन गर्दै आएका छन् । कम्पनीअनुसार बजारमा बढ्दो प्रतिस्पर्धा र कोभिडको असर भएपनि सन् २०२१ मा ग्रान्डिङ युनिटमा ३३ प्रतिशत बढी क्षमतामा उत्पादन गरेको छ । सन् २०२२ को ९ महिनाको अवधिमा ३४ प्रतिशत क्षमता चल्ने कम्पनीको भनाइ छ ।

कम्पनीले भारतलगायत विभिन्न तेस्रो मुलुकबाट कच्चा पदार्थ आयात गरी सिमेन्ट उत्पादन गर्दै आएका छन् । मकवानपुर हेडौंमा उद्योग रहेको यस कम्पनीको दैनिक २७ सय ६० टन क्लिङ्कर र ग्रान्डिङ उत्पादन क्षमता रहेको छ । कम्पनीले ओपीसी र पीएससीको सिमेन्ट रिद्धि सिद्धि ब्रान्डमा उत्पादन गरी बिक्री वितरण गर्दै आएका छन् । साथै, ५० प्रतिशत क्लिङ्कर अन्य ग्रान्डिङ उद्योगलाई बिक्री गर्ने गरेको कम्पनीको भनाइ छ ।

इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि १० अर्ब ८६ करोड ६८ लाख रुपैयाँको रेटिङ गरेको छ । जसमा कम्पनीलाई दीर्घकालीन कर्जाका लागि ८ अर्ब ४३ करोड २८ लाख रुपैयाँ अर्थात् ट्रीपल बी र अल्पकालीन कर्जाका लागि २ अर्ब ४३ करोड ४० लाख रुपैयाँ अर्थात् एथी्रको रेटिङ पाएको छ ।


क्लिकमान्डु