भारतमा लगातार घट्यो विदेशी मुद्राको सञ्चिति, पछिल्लो १५ महिनाकै न्यून बिन्दुमा



एजेन्सी । भारतमा विदेशी मुद्राको सञ्चिति लगातार ओरालो लागेको छ । पछिल्लो विवरणहरुमा जनाइएअनुसार पछिल्लो १५ महिनाको तुलना गर्दा विदेशी मुद्राको सञ्चिति लगातार ओरालो लागेको देखिन्छ ।

भारतीय अर्थतन्त्रका लागि यो समाचार विवरण आफैंमा एउटा नराम्रो खबर हो । यसको अन्त्य तत्कालै हुने देखिदैन । भारतीय रुपैयाँ ऐतिहासिक रूपमा डलरको तुलनामा ८० भारुभन्दा माथि पुगेको छ ।

अर्थात् एक अमेरिकी डलरको खरिदका लागि ८० भारु खर्च गर्नुपर्ने भएको छ । यससँगै भारतको विदेशी मुद्रा सञ्चितिमा पनि लगातार गिरावट आएको छ ।

भारतको विदेशी मुद्रा सञ्चिति ८.०६२ अर्ब डलरले घटेर ५८०.२५२ अर्ब डलरमा झरेको छ । यो विगत १५ महिनायताकै न्यून विन्दुमा आएको विवरणहरुमा जनाइएको छ । भारतीय रिजर्भ बैंकको साप्ताहिक तथ्यांक हरेक शुक्रबार सार्वजनिक गर्ने गरेको छ ।

सोही विवरणमा आधारित रहेर आइतबार र सोमबार भारतका विभिन्न सञ्चार माध्यमले समाचार बनाएका छन् ।

विदेशी मुद्रा सम्पत्ति (एफसीए)मा आएको गिरावटका कारण सबैभन्दा बढी असर परेको भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डियाले संकटको बारेमा समेत जनाएको छ ।

योसँगै सुनको सञ्चिति पनि घटेको छ । जुलाई ८ मा एफसीए ६ अर्ब ६५ करोड डलरले घटेर ५१८.०८९ अर्ब डलर पुगेको थियो ।

डलरबाहेक, एफसीए पनि पाउन्ड, यूरो र येन जस्ता मुद्राहरूमा उतार–चढ़ावबाट प्रभावित भएको छ । सुनको भण्डार १.२३६ अर्ब डलरले घटेर ३९.१८६ अर्ब डलर पुगेको छ ।

यसबाहेक अन्तर्राष्ट्रिय मुद्रा कोषको एसडीआर पनि १२२ मिलियन डलरले घटेर १८ अर्ब १२ करोड डलरमा ओर्लिएको छ ।

जुन १९९१ मा भारतको विदेशी मुद्रा भण्डार लगभग खाली हुन पुगेको थियो । त्यसबेला एक अर्ब डलरभन्दा कम मात्रै बाँकी थियो । यी डलरहरू तेल र खाद्यान्नका खरिदका लागि २० दिनको लागि मात्रै भुक्तान गर्न सकिने अवस्था थियो ।

भारतसँग बाँकी विश्वसँग व्यापार गर्न पर्याप्त विदेशी मुद्रा पनि थिएन । भारतको बाह्य ऋण ७२ अर्ब डलर पुगेको थियो ।

त्यतिबेला भारत ब्राजिल र मेक्सिकोपछि विश्वको तेस्रो ठूलो ऋणी राष्ट्रका रुपमा पुगेको थियो । देशको अर्थतन्त्र र सरकारप्रति जनताको विश्वास समाप्त हुन थालेको थियो । मुद्रास्फीति, राजस्व घाटा र चालु खाता घाटा दोहोरो अंकमा पुगेको थियो ।

कुनै पनि अर्थतन्त्रमा पर्याप्त विदेशी मुद्रा हुनु धेरै कुरामा महत्वपूर्ण हुन्छ । विदेशी मुद्रा भन्नाले अमेरिकी डलरलाई बुझाउँछ ।

अमेरिकी मुद्रा डलरको विश्वव्यापी मुद्राको रूपमा चिनिएको छ ।
अन्तर्राष्ट्रिय व्यापारमा डलर र यूरो धेरै लोकप्रिय र स्वीकार्य छन् । विश्वभरका केन्द्रीय बैंकहरूमा रहेको विदेशी मुद्रा सञ्चितिमध्ये ६४ प्रतिशत अमेरिकी डलरमा छ । यस्तो अवस्थामा डलर आफैंमा विश्वव्यापी मुद्रा बन्न जान्छ । डलर विश्वव्यापी मुद्रा हो, यो यसको बल र अमेरिकी अर्थव्यवस्थाको बल को प्रतिक पनि हो ।

इन्टरनेशनल स्ट्यान्डर्ड अर्गनाइजेसनको सूची अनुसार विश्वभर कुल १८५ मुद्राहरू सञ्चालनमा छन् । यद्यपि, यी अधिकांश मुद्राहरू आफ्नै देशभित्र प्रयोग गरिन्छ ।

संसारमा कुनै पनि मुद्रा कति हदसम्म प्रचलित छ, त्यो त्यस देशको अर्थतन्त्र र शक्तिमा भर पर्छ । विश्वको ८५ प्रतिशत व्यापार डलरमा गरिन्छ । अन्तर्राष्ट्रिय ऋण पनि डलरमा मात्र दिइन्छ । त्यसैले विदेशी बैंकहरूलाई अन्तर्राष्ट्रिय व्यापारका लागि डलर चाहिन्छ ।

यो वर्ष करिब ३० अर्ब डलर बराबरको विदेशी लगानी भारतबाट बाहिर गएको छ । त्यसको प्रत्यक्ष असर भारतीय रुपैयाँमा परेको छ । यसले चालु खाता घाटा थप बढ्ने सम्भावना छ ।

विश्व स्तरमा तेलको मूल्य लगातार बढिरहेको बेला यस्तो भएको हो । भारतीय रुपैयाँ कमजोर हुनबाट रोक्न भारत सरकारले सुनको आयातमा कर बढाएको छ ।

तर यो भारतीय मुद्राको मात्र होइन । अन्य उदियमान अर्थतन्त्रका मुद्राको अवस्था पनि त्यस्तै छ । यो वर्ष भारतीय मुद्रा ७ प्रतिशतले घटेको विवरणहरुमा जनाइएको छ ।

थाइल्याण्डले एक दशकभन्दा बढी समयपछि सन् १९९७ जुलाईमा आफ्नो मुद्रा अवमूल्यन गरेको थियो । निर्यात बढाउने उद्देश्यले थाइल्याण्डले यस्तो गरेको थियो ।

थाइल्यान्डले पहिले आफ्नो मुद्राको मूल्य कायम राख्न अर्बौं डलर खर्च गर्यो, तर पछि त्यहाँको सरकारले अन्तर्राष्ट्रिय लगानीकर्ताहरूको अगाडि झुक्नुपर्यो ।

त्यसपछि थाइल्याण्डको मुद्रा १५ प्रतिशतले अवमूल्यन भएको थियो । अर्थात्, डलरको तुलनामा १५ प्रतिशत जानाजानी कमजोर बनाइएको थियो ।

यसलाई एसियाली मौद्रिक नीतिमा ठूलो परिवर्तनका रूपमा हेरिएको छ । यसअघि सन् १९८४ मा थाइल्याण्डले आफ्नो मुद्रा अवमूल्यन गरेको थियो । त्यतिबेला मजाक नै गरिएको थियो कि बैंककमा मसाज पाउँदा बलियो डलरको साथ सस्तो हुनेछ ।

कमजोर मुद्राले कसैलाई खुशी दिन्छ र कसैलाई हानि पुर्याउँछ । तर कमजोर मुद्रा कमजोर अर्थतन्त्रको संकेतको रूपमा हेरिन्छ । तर अस्थिर मुद्रा कसैको हितमा छैन भन्नेमा कुनै विवाद छैन ।
यसले चीजहरू महँगो बनाउँछ र अस्थिरताको वातावरण सिर्जना गर्दछ ।

सन् १९४७ मा भारत स्वतन्त्र हुँदा रुपैयाँ र डलरको भाउमा कुनै अन्तर थिएन । स्वतन्त्रता यता अमेरिकी डलरको तुलनामा रुपैयाको अवमूल्यन हुँदै आएको र सोमबार एक डलरको भाउ ८० रुपैयाँभन्दा माथि पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलरभन्दामाथि छ ।

भारतले आफ्नो आवश्यकताको ८० प्रतिशत तेल आयात गर्छ । आरबीआईका अनुसार भारतले २०१७–१८ मा तेल आयातमा ८७.७ बिलियन डलर खर्च गरेको छ ।

तेलको मूल्य बढेमा भारतको तेलको आयात बिल पनि बढ्छ र त्यसको प्रत्यक्ष असर विदेशी मुद्रा सञ्चितिमा पर्छ । यसको मतलब डलरको माग बढ्यो भने आन्तरिक मुद्रा कमजोर हुनै पर्छ ।

कमजोर रुपैया र अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढेको असरले देशभित्रै पेट्रोल र डिजेल महँगो भएको छ ।

सन् १९६६ मा इन्दिरा गान्धीको सरकारले डलरको तुलनामा रुपैयाँको अवमूल्यन ४.७६ बाट ७.५० बनाएको थियो । भनिन्छ कि इन्दिरा गान्धीको सरकारले धेरै एजेन्सीहरूको दबाबमा यो गरे ताकि रुपैया र डलरको दर स्थिर रहन सकोस् । इन्दिरा गान्धीले खडेरी र पाकिस्तान–चीन युद्धपछि उत्पन्न संकटका कारण यो निर्णय लिएकी हुन् ।

सन् १९९१ मा नरसिंह रावको सरकारले डलरको तुलनामा रुपैयाँको अवमूल्यन १८.५ प्रतिशतबाट २५.९५ प्रतिशतमा पुर्याएको थियो ।

विदेशी मुद्रा संकट समाधान गर्न यो गरिएको हो । त्यसपछि कुनै पनि सरकारमा रुपैयाको गिरावट रोकिएको छैन । चाहे त्यो प्रधानमन्त्री अटलबिहारी वाजपेयी होस् वा अर्थशास्त्री मनमोहन सिंहको कार्यकालमा होस् । अहिले बलियो मोदी सरकारमा पनि यो प्रवृत्ति रोकिएको छैन ।


क्लिकमान्डु