वाणिज्य बैंकले २ दिनमा लिए करिब ८१ अर्ब एसएलएफ सुविधा



काठमाडौं । चालु आर्थिक वर्षको २ दिनमा वाणिज्य बैंकहरुले ८० अर्ब ८९ करोड रुपैयाँ स्थायी तरलता सुविधा (एसएलएफ) लिएका छन् ।

बैंकहरुले गत चालु आर्थिक वर्षको दुई दिनमा उक्त रकम राष्ट्र बैंकबाट अल्पकालीन सापटी लिएका हुन् । बैंकहरुले दुई दिनमा ३० वटा कारोबारबाट उक्त रकम एसएलएफ सुविधा लिएका छन् ।

साउन १ गते ५ वटा कारोबारबाट १९ अर्ब १५ करोड र २ गते २५ वटा कारोबारबाट ६१ अर्ब ७४ करोड रुपैयाँ एसएलएफ सुविधा लिएका हुन् ।

बैंकहरुले एक साता अवधिका लागि एसएलएफ सुविधा लिने गरेका छन् । बैंकहरुले सरकारी ऋणपत्र धितो राखेर यस्तो सुविधा लिन पाउने व्यवस्था रहेको छ ।

बैंकहरूले सरकारी ऋणपत्रमा गरेको लगानीको बढीमा ९० प्रतिशतसम्म एसएलएफ सुविधा लिन सक्छन् । केन्द्रीय बैंकबाट ७ दिन अवधिका लागि बैंकहरुले उक्त रकम लिएका हुन् ।

बैंक तथा वित्तीय संस्थामा तरलता संकट चुलिएपछि केन्द्रीय बैंकबाट सरकारी ऋणपत्र वा सरकारले जारी गरेको बण्ड धितो राखी एसएलएफ सेवा लिन सकिन्छ ।

बैंकहरुले अन्तर बैंक कारोबार समेत गर्न नसक्ने भएपछि एक साताका लागि अल्पकालीन तरलता पूरा गर्न एसएलएफ लिँदै आएका छन् । अहिले बैंकहरुको अन्तर बैंक कारोबार ६.९८ प्रतिशत रहेको छ ।


क्लिकमान्डु