बिल गेट्सलाई पछि पार्दै अडानी बने विश्वको चौथो धनी व्यक्ति



एजेन्सी । भारतीय उद्योगी तथा व्यापारी गौतम अडानी विश्वको चौथो धनी व्यक्ति बनेका छन् । छोटो समयमा धनीहरुको सूचीमा उक्लन सफल अडानीले लामा समयसम्म एशियाको धनी व्यक्ति रहेका भारतीय अर्बपति मुकेश अम्बानीलाई पछाडि पारेका छन् ।

उनले बिल गेट्सलाई पछि पारेका छन् । गेट्स पाँचौ स्थानमा पुगेका छन् । गेट्सले केही दिनअघि २० बिलियन डलर च्यारिटीमा दिएपछि उनको सम्पत्ति घटेको हो । गेट्सले बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनलाई उक्त रकम दिएका हुन् ।

अडानीको सम्पत्ति सन् २०२१ को तुलनामा करिब दोब्बर भएको छ । हाल अडानीसँग ११२.९ बिलियन डलर सम्पत्ति छ । अडानीले पूर्वाधार, उर्जा, हरित उर्जा, ग्यास, पोर्टलगायतका क्षेत्रमा लगानी छ ।

अडानीले अम्बानीलाई गत फेब्रुअरीमा उछिन्दै एशियाको सबैभन्दा धनी व्यक्ति बनेका थिए । अम्बानीसँग हाल ९०.१ बिलियन डलर सम्पत्ति छ । उनी हाल विश्वको १०औं धनी व्यक्ति हुन् ।


क्लिकमान्डु