पुँजीगत खर्च ५७.२३% मात्रै, चालु खर्च भने ९०.२५ प्रतिशत



काठमाडौं । गत आर्थिक वर्षमा ५७.२३ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ । महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार असार ३२ गतेसम्म २ खर्ब १६ अर्ब रुपैयाँ मात्रै पुँजीगत खर्च भएको हो ।

सरकारले ३ खर्ब ७८ अर्ब रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य लिएको थियो । लक्ष्यभन्दा करिब आधा मात्रै पुँजीगत खर्च गरेको सरकारले चालु खर्च भने लक्ष्यको ९०.२५ प्रतिशत गरेको छ ।

१० खर्ब ६५ अर्ब रुपैयाँ चालु खर्च गर्ने लक्ष्य लिएकोमा सरकारले ९ खर्ब ६६ अर्ब रुपैयाँ खर्च गरेको छ ।

गत भदौ महिनामा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले पहिलो तीन महिनामा १० प्रतिशत र त्यसपछिका प्रत्येक महिना १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने योजना सुनाएका थिए ।

सरकारले गत आवमा वित्तीय हस्तान्तरणतर्फ १ खर्ब १८ अर्ब रुपैयाँ खर्च गरेको छ । वित्तीय हस्तान्तरणतर्फ १ खर्ब ८९ अर्ब रुपैयाँ बजेट बिनियोजन गरिएको थियो ।

समग्रमा सरकारले बिनियोजित बजेटको ७९.३९ प्रतिशत रकम खर्च गरेको छ । १६ खर्ब ३२ अर्ब रुपैयाँको बजेट ल्याएको सरकारले १३ खर्ब १ अर्ब रुपैयाँ मात्रै खर्च गरेको हो ।


क्लिकमान्डु