पहिलोपटक खर्ब नाघ्यो सेञ्चुरी बैंकको निक्षेप, सीडी रेसियो ८८ प्रतिशतमा



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले पहिलोपटक खर्ब बढी निक्षेप संकलन गरेको छ । बैंकले आव २०७८/०७९ को चौथो त्रैमाससम्म कुल १ खर्ब १ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । २०७८ असार मसान्तसम्ममा बैंकको निक्षेप ९६ अर्ब ९९ करोड रुपैयाँ थियो ।

यस्तै, २०७९ असार मसान्तसम्ममा बैंकले कुल ९१ अर्ब ४६ करोड कर्जा लगानी गरेको छ । यो रकम एक आर्थिक वर्ष अघिको तुलनामा १० अर्ब रुपैयाँले बढी हो । समिक्षा वर्षमा बैंकको कर्जा विस्तार करिव १२ प्रतिशतले भएको छ ।

साथै, बैंकको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ८७.९८ प्रतिशत कायम भएको छ भने तरलता अनुपात २५.०६ प्रतिशत कायम भएको छ ।

देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यकासाथ बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

बैंकको कुल शाखा संख्या १४५ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएममार्फत् वित्तीय सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु