बीमामा पहिलो सफल मर्जर, ‘भावनामा नभई यथार्थमा निर्णय गर्दा सम्भव’



काठमाडौं । बीमा समितिले गत चैत महिनामा बीमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धि गर्ने निर्णय गर्यो ।

समितिले जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको २ अर्ब ५० करोड रूपैयाँ पुर्याउने निर्णय गरेको थियो ।

समितिको निर्देशन थियो नयाँ व्यवस्था अनुसार बीमा कम्पनीहरूले २०७९ चैत मसान्तसम्ममा तोकिएको चुक्ता पुँजी कायम गर्नु ।

समितिले कम्पनीहरूका लागि हकप्रद सेयर निष्कासन गर्न बन्देज लगाएको थियो । हकप्रद सेयर निष्कासन गर्न नपाईने भएपछि कम्पनीहरूलाई पुँजी वृृद्धि गर्ने अर्को माध्यम थियो बोनस सेयर । तर, सबै कम्पनीलाई बोनस सेयर वितरणमार्फत् तत्काल पुँजी वृद्धि गर्न कठिन थियो ।

तोकिएको समयमा निर्धारित पुँजी पुर्याउन नसके कम्पनीहरूले ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६’ बमोजिम हुनेगरी पुँजी कायम गर्नुपर्ने समितिका निर्देशनमा उल्लेख थियो ।

कम्पनीका सञ्चालकहरूले समितिसमक्ष पुँजी वृद्धि गर्नका लागि समय थपिदिन माग समेत गरे ।

तर, नेपालमा बीमा कम्पनीहरूको संख्या बढी भएको निष्कर्ष निकालेको समितिले समय नथप्ने अडान लियो । समितिको उद्देश्य भनेकै कम्पनीहरूको संख्या घटाउनु थियो ।

यसैबीच कम्पनीहरूले गाभ्ने/गाभिने प्रयोजनको लागि साथी खोज्न थाले । शुरूवात निर्जीवन बीमा कम्पनी हिमालयन र एभरेष्टले गरे ।

गत वैशाख २२ गते निर्जीवन बीमा कम्पनीहरू एभरेष्ट र हिमालयनले मर्जर सम्झौता गरेका थिए । उक्त मर्जर सम्झौता नेपाली बीमा क्षेत्रको इतिहासमै पहिलो थियो ।

त्यसपछि अन्य कम्पनीले मर्जरमा जाने सम्झौतापत्रमा प्रारिम्भक सहमति गर्न थाले ।

मर्जरमा जाने सम्झौता भएपनि सबै कम्पनीको मर्जर सफल हुने गरेको देखिदैन । तर, बीमा क्षेत्रमा पहिलो मर्जर सम्झौता गरेका यी कम्पनीले भने सफलता पाए ।

बीमा क्षेत्रमा पहिलो मर्जर सम्झौता गरेका यी दुवै कम्पनीले ‘हिमालयन एभरेष्ट इन्स्योरेन्स’ को नामबाट आजदेखि एकीकृत कारोबार गर्दै छन् ।

‘हिमालयन एभरेष्ट इन्स्योरेन्स’ को प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजयबहादुर शाह बन्ने छन् । ८ वर्ष एजएलजी इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत भएको शाह नेपाल इन्स्योरेन्स कम्पनीमा ४ वर्ष प्रमुख कार्यकारी अधिकृत भएर काम गरेका शाह हिमालयन जनरलमा भने गत फागुनमा जोडिएका थिए ।

झट्ट हेर्दा दुई कम्पनी मर्जर भएर एक बन्न सहज देखिदैन । कर्मचारी समायोजन, सेयर आदान प्रदान अनुपात, सीईओ, अध्यक्ष तथा नयाँ बन्ने कम्पनीको नाम लगायतका विभिन्न पाटोहरू जोडिएका हुन्छन् ।

तर, एक आपसमा समझदारी र दुवै कम्पनीका प्रमोटरलाई मर्जरको आवश्कता महशुस भई तथ्यमा आधारित भएर निर्णय गर्दा सहज हुने निष्कर्ष ‘हिमालयन एभरेष्ट’ ले निकालेको छ ।

दुई कम्पनी एक आपसमा गाभिनका लागि शुरूमा ती कम्पनीका मूख्य प्रमोटरका बीचमा समझदारी हुनुपर्ने बताउँछन् सीईओ शाह ।

जुन समझदारी विश्वासको आधारमा हुने शाहको भनाइ छ । एक आपसमा समझदारी भएपछि नियामक निकायको स्वीकृति तथा डिडिएको पाटोको कुरा जोडिने उनको भनाइ छ ।

भावनामा नभई यथार्थमा निर्णय गर्दा दुई कम्पनी एक बन्न सम्भव हुने उनको भनाइ छ ।

‘शुरूमा त दुई बीमा कम्पनीका मूख्य प्रमोटरबीचमा समझदारी हुनुपर्ने रहेछ । जुन समझदारी विश्वासको आधारमा हुन्छ,’ सीईओ शाहले क्लिकमाण्डूसँग भने, ‘भावनामा होइन यथार्थमा निर्णय गर्यो भने सम्भव हुँदो रहेछ ।’

उनकाअनुसार यथार्थको अधारमा निर्णय गर्दा केही विवाद हुँदैन ।

‘भावनामा हैन, यर्थाथमा निर्णय गर्नुपर्छ भनेर सहमत गरे सफल भइन्छ,’ शाहले भने, ‘तर, भावनाको आधारमा निर्णय लिन थालियो भने फेरि त्यसको सीमा रहदैन ।’

भावनाका आधारमा नभई यथार्थमा निर्णय गर्दा नै कुनै विवादबिना छाटो समयमा सफतापूर्वक मर्जर सम्भव भएको उनले बताए ।

‘हामीले यथार्थको आधारमा निर्णय गरौं । इमोसन त सबैको आफ्नो आफ्नो भई नै हाल्छ । त्यसपछि हामी बीचमा विवाद आएन,’ उनले भने,‘ त्यही कारणले छोटो समयमा नै मर्जर सफल भयो ।’

कर्मचारीहरूको पद तथा सेवा सुविधा नघट्ने सम्भावना देखिन्छ । बीमा समितिले केही दिन अघिमात्रै मर्जरमा जाने कम्पनीहरूलाई कर्मचारीले खाईपाई आएको सेवा सुविधा तथा पद नघटाउन निर्देशन दिएको थियो ।

कुनै पनि कर्मचारीलाई जागिरबाट विदा नदिएको र विदा दिनुपर्ने अवस्था समेत नआउने उनको भनाइ छ ।

‘आजका दिनमा दुई वटा बीमा कम्पनीमा जति पनि कर्मचारी कार्यरत हुनुहुन्छ, सबैको रोजीरोटि रहन्छ,’ उनले भने, ‘कुनैपनि कर्मचारीलाई मर्जरले गर्दा पेशाबाट विमुख हुनु पर्दैन । र खाईपाई आएको सेवा सुविधा पनि घट्दैन ।’

हिजोको दिनमा जुन पदमा कर्मचारी कार्यरत थिए मर्जरपश्चात पनि सोही पदमा रहने उनको भनाइ छ ।

‘कर्मचारीलाई हिजोकोभन्दा भोलिका दिनमा राम्रो हुन्छ,’ उनले भने, ‘कम्पनीको नाफा बढ्दा कर्मचारीले पनि त्यसको उचित प्रतिफल पाउँछन्।’

बीमालाई व्यापक बनाउने योजना
शाहक अनुसार कम्पनीको आगामी योजना बीमालाई व्यापक बनाउने रहेको छ । बीमालाई व्यापक बनाउनका लागि कम्पनीले प्रविधिको प्रयोग गर्ने उनले बताए ।

‘बीमालाई व्यापक बनाउने, गाउँगाउँ पुर्याउने, बीमालाई व्यापक बनाउनका लागि प्रविधिमैत्री बनाउने योजना छ,’ उनले भने, ‘मर्ज भएपछि पुँजी बढ्यो । पुँजी बढेसँगै थप शाखा सञ्जाल विस्तार गर्ने दक्ष कर्मचारी र राम्रो प्रविधि ल्याउने छौं ।’

बीमा समितिबाट यी कम्पनीले असार ८ गते मर्जरमा जाने अन्तिम स्वीकृति पाएका थिए । समितिले यी संस्थालाई १ः०.८५ अनुपातमा मर्जरमा जाने स्वीकृति दिएको थियो ।

जसअनुसार एभरेष्ट इन्सोरेन्सको १०० कित्ता सेयर बराबर हिमालयन जनरल इन्स्योरेन्सको ८५ कित्ता सेयर पाउनेछन् ।

यस्तै, नेपाल सरकार उद्योग वाणिज्य तथा कम्पनी रजिष्ट्रार कार्यालयले असार २३ गते अन्तिम स्वीकृति दिएको थियो ।

अन्तिम स्वीकृति पाएपछि असार २४ गते बसेको संयुक्त मर्जर समितिको निर्णयले साउन १ गतेदेखि एकीकृत कारोबार संचलान गर्ने निर्णय गरेको हो ।

वैशाख २२ गते यी २ कम्पनीले मर्जरमा जाने सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।

हिमालयन जनरलको १ अर्ब १७ करोड ३५ लाख रूपैयाँ चुक्ता पुँजी छ । एभरेष्ट इन्स्योरेन्सको १ अर्ब २५ करोड रूपैयाँ छ ।

असार २ गते सम्पन्न विशेष साधारणसभाबाट एक आपसमा गाभ्ने÷गाभिने प्रस्ताव पारित भएको थियो ।

हाल हिमालयन जनरलका ३८ वटा एभरेष्ट इन्स्योरेन्सका ४९ वटा शाखा कार्यालय सञ्चालनमा छन् ।

विगत २९ वर्षदेखि बीमा व्यवसाय गर्दै आएका निर्जीवन बीमा कम्पनी हुन् । एभरेष्ट इन्स्योरेन्सले २०५० साउन १३ गते बीमा समितिबाट कारोबार सञ्चालनका लागि इजाजत प्राप्त गरेको कम्पनीले २०५० मङ्सिर १६ गतेदेखि कारोबार शुरू गरेको थियो ।

यस्तै, हिमालयन जनरलले पनि २०५० सालदेखि नै निर्जीवन बीमा सम्बन्धी व्यवसाय गर्दै आएको छ ।

शाहकाअनुसार एभरेष्ट हिमालयन इन्स्योरेन्सको केन्द्रीय कार्यालय बबरमहलमा रहने छ ।

वित्तीय सूचकमा कुन कम्पनीको अवस्था कस्तो ?
एभरेष्ट इन्स्योरेन्स चुक्ता पुँजी, जगेडा कोष, खुद नाफा, खुद बीमाशुल्कक लगाएका वित्तीय सूचकमा हिमालयनको तुलनामा अघि देखिन्छ । चुक्ता पुँजी १ अर्ब २५ करोड रूपैयाँ रहेको एभरेष्टको जगेडा कोषमा ३३ करोड ९ लाख रूपैयाँ, बीमा कोषमा ४६ करोड ६८ लाख रूपैयाँ छ ।

१ अर्ब १७ करोड रूपैयाँ चुक्ता पुँजी रहेको हिमालयन जनरलको जगेडा कोषमा २२ करोड ९५ लाख रूपैयाँ मात्रै छ । भने बीमा कोषमा ६७ करोड ४ लाख रूपैयाँ छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा खुद नाफा कमाउनेमा पनि एभरेष्ट इन्स्योरेन्स अघि देखिएको छ । यस अवधिमा एभरेष्टले १० करोड ९४ लाख २५ हजार रूपैयाँ खुद नाफा कमाएको छ । हिमालयनले १० करोड ६९ लाख रूपैयाँ खुद नाफा कमाएको छ ।

खुद बीमाशुल्क संकलनमा पनि एभरेष्ट इन्स्योरेन्स अघि देखिएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा एभरेष्टले ४३ करोड ५८ लाख ९४ हजार रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।

हिमालयन जनरलले यस अवधिमा २७ करोड ७ लाख ४७ हजार रूपैयाँ मात्रै खुद बीमाशुल्क संकलन गरेको छ ।


बिजया बास्कोटा