देशलाई आर्थिक संकटमा फसाएर श्रीलंकन राष्ट्रपति गोटावाया भागेर मालदिभ्स पुगे



एजेन्सी । श्रीलंकामा आर्थिक संकट चुलिएको लामो समय भइसक्यो । आर्थिक संकटका कारण जनजीवन कष्टकर हुँदै गएपछि प्रदर्शनकारीहरु सडक आन्दोलनमा उत्रिएका छन् ।

यतिसम्म कि उनीहरु राष्ट्रपति भवन कब्जामा समेत लिए । राष्ट्रपति भवन कब्जामा लिनुअघि बेपत्ता भएका श्रीलंकन राष्ट्रपति गोटावाया राजपक्षे बुधबार विहान भागेर मालदिभ्स पुगेका छन् ।

अमेरिकाको नागरिकता त्यागेर राष्ट्रपति बनेका सेनाका उच्च अधिकारी समेत रहेका गोटावाया स्थानीय समय अनुसार बुधबार विहान देश छाडेर भागेका हुन् । ७३ वर्षे राजपक्षे सैन्य विमान चढेर मालदिभ्स पुगेका छन् ।

राजपक्षे देश छाडेर भागेसँगै श्रीलंकामा दशकौंदेखि चलिरहेको उनको परिवारको शासन पनि तत्कालका लागि अन्त्य भएको छ । गोटावायले बुधबार पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।

स्रोतका अनुसार गोटावाया राजपक्षेका भाइ तथा पूर्ववित्तमन्त्री बासिल राजपक्षे पनि देश छाडिसकेका छन् ।

राष्ट्रपतिले देश छाडेर भागेको समाचार प्रकाशित भएपछि गल फेस ग्रीनमा मानिसहरुले उत्सव मनाएका छन् । श्रीलंका आर्थिक संकटमा फस्नुमा राजपक्षे परिवारलाई मुख्य जिम्मेवार मानिएको छ ।

राष्ट्रपति गोटावाया राजीनामा दिनु अगाडि देश छाड्न चाहेका थिए । किनभने राष्ट्रपति छँदै उनलाई गिरफ्तार गर्न सकिन्नथ्यो ।


क्लिकमान्डु