मध्यरातमा हिमालयन र सिभिल बैंकको कुरा मिल्यो, बुधबार हस्ताक्षर हुने



काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकबीच मध्यरातमा सहमति भएको छ । मंगलबार बेलुका हिमालयन बैंकमा जान नसकिने निष्कर्ष सिभिलका सञ्चालकले हिमालयनका सञ्चालकलाई दिएका थिए ।

मध्यरातमा भएको सहमति अनुसार हिमालयन बैंकमा सिभिल बैंक गाभिने छ । जसमा स्वाप अनुपात १००: ८१ हुने छ । सिभिल बैंकमा १०० कित्ता सेयर हुनेको एक्विजेशन भएपछि ८१ कित्ता सेयर हुने छ ।

एक्विजेशन पछि बन्ने संस्थाको नाम हिमालयन बैंक हुने तथा सञ्चालक समिति हिमालयन बैंकको नै हुने छ । एकीकृत कारोबारपछि हुने साधारणसभाले नयाँ सञ्चालक समिति चयन गर्ने छ ।

प्रमुख कार्यकारी अधिकृतमा अशोक राणा हुने छन् । सीइओपछि दोस्रो बरियताको डेपुटी सीइओमा सिभिल बैंकका सीइओ सुनिल पोखरेल हुनेछन् ।

‘कर्मचारी समायोजनदेखि लिएर स्वाप रेसियोमा कुरा मिलेको थिएन । १० बजेराती बल्ल कुरा मिल्यो,बुधबार हस्ताक्षर गर्ने कार्यक्रम छ,’सिभिल बैंक स्रोतले भन्यो । सिभिलका सीइओ पोखरेललाई डेपुटी सीइओ बनाउने तथा स्वाप रेसियोमा हिमालयन बैंक पछाडि फर्केपछि एक्विजेशनको कुरा मिलेको हो ।

हिमालयन बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जर भाँडेपछि राष्ट्र बैंकको कारवाहीबाट बच्न अर्को वाणिज्य बैंकसँग मर्जर वा एक्विजेशन गर्नुपर्ने बाध्यता थियो । इन्भेष्टमेन्ट बैंकले मेगा बैंकसँग मर्जरमा जाने सहमति गरेको छ । जसको सैद्दान्तिक स्वीकृति समेत आइसकेको छ ।


क्लिकमान्डु