अर्थतन्त्र असहज अवस्थामा छ, सबैले सोचेजस्तो मौद्रिक नीति आउँदैनः मुख्य सचिव



काठमाडौं । नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीले अर्थतन्त्र असहज अवस्थामा भएकाले नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिबाट सबैका माग सम्बोधन हुन नसक्ने बताएका छन् ।

नबिल बैंक र नेपाल बंगलादेश बैंकबीचको एकीकृत कारोबार शुरुवात कार्यक्रममा बोल्दै बैरागीले अर्थतन्त्रको अवस्था असहज भएको सत्य भए पनि बजारमा हल्ला चले जस्तो आत्तिनु पर्ने नभएको समेत दाबी गरे।

‘हामी सचेत रहनु पर्नेछ। मौद्रिक नीतिमा तपाईं हामी सबैले चाहेको कुरा नअट्न सक्छ,’ बैरागीले भने, ‘अहिलेको मुख्य चूनौती आर्थिक स्थायित्व हो । त्यसमा ध्यान दिने गरी मौद्रिक नीति आउँछ।’

अर्थतन्त्र स्थिर र मजबुत हुँदा मात्रै सबैका माग पूरा गर्न सकिने बैरागीले बताए ।

‘अर्थतन्त्र स्थिर नभएको अवस्थामा धेरै माग गर्नु हुँदैन,’ बैरागीले भने ‘अहिले थोरै खुम्चिँदा पनि सबैले सहनु पर्छ। सबैले आत्मबल बलियो बनाउनु पर्छ।’

आगामी आर्थिक वर्षको बजेटमा निजी क्षेत्रका असहमति सम्बोधन गर्न समेत सरकार तयार रहेको बैरागीले बताए ।

राम्रो बैंक र समाजिक उत्तरदायित्व सहितको बैंक बनाउने गरी नबिल बैंक र नेपाल बंगलादेशबीच भएको मर्जर सफलताको समेत बैरागीले शुभकामना दिए ।


क्लिकमान्डु