बढ्यो महंगी, मूल्यवृद्धि ८.५६% पुग्यो



काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा मूल्यवृद्धि बढेर ८.५६ प्रतिशत पुगेको छ ।

राष्ट्र बैंकका अनुसार जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.१९ प्रतिशत रहेको थियो । जेठमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.४४ प्रतिशत रहेको छ ।

जेठ मसान्तसम्म वार्षिक विन्दुगत मासिक औषत मुद्रास्फिति ६.०९ प्रतिशत रहेको छ । गत जेठ महिनाको तुलनामा यो जेठमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, दुग्ध पदार्थ तथा अण्डा, सुर्तीजन्य पदार्थ, मदिराजन्य पेय पदार्थ र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २२.६० प्रतिशत, ११.२२ प्रतिशत, ९.७० प्रतिशत, ९.६८ प्रतिशत र ९.१३ प्रतिशत रहेको छ ।

साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा, फर्निसिङ्ग तथा घरायसी उपकरणहरु, मनोरञ्जन तथा संस्कृति र घरायसी उपयोगका वस्तुहरु उपसमूहको मुद्रास्फीती क्रमशः २५.७९, ११.६४, ८.३०, ८.२१ र ७.८४ प्रतिशत रहेको छ । यो अवधिमा काठमाडौं उपत्यकामा ८.३२ प्रतिशत, तराईमा ८.२९ प्रतिशत, पहाडमा ९.२८ प्रतिशत र हिमालमा ८.९२ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७८ जेठमा यी क्षेत्रहरुमा क्रमशः ३.८७ प्रतिशत, ४.४७ प्रतिशत, ४.३२ प्रतिशत र १.७२ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

जेठ महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १४.७७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ९.०० प्रतिशत रहेको थियो । जेठ मसान्तसम्म वार्षिक विन्दुगत मासिक औषत थोक मुद्रास्फिति ९.२६ प्रतिशत रहेको छ । जेठमा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः १५.८४ प्रतिशत, १५.३४ प्रतिशत र ७.८३ प्रतिशत रहेको छ ।

निर्माण सामग्रीको थोक मूल्यवृद्धि २५.२५ प्रतिशत रहेको छ । तलब तथा ज्यालादर सूचकाङ्क जेठ महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ८.५० प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क १.९८ प्रतिशतले बढेको थियो ।

तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः ९.४४ प्रतिशत र ८.२४ प्रतिशतले बढेको छ । जेठ मसान्तसम्म वार्षिक विन्दुगत मासिक औषत तलब तथा ज्यालादार सूचकाङ्क ६.४२ प्रतिशत रहेको छ । जेठ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति नेपालमा ८.५६ प्रतिशत र सन् २०२२ मे महिनामा भारतमा ७.०४ प्रतिशत रहेको छ ।


क्लिकमान्डु