पाँच साथीले क्लाउड किचनसहित शुरु गरेको खानपिन, ७०% खाना डेलिभर हुन्छ रातमा



काठमाडौं । रातको दुई बजिसकेको थियो । इशा र उनका साथीहरु पढाइमा व्यस्त थिए ।

त्यहीबेला साथीका बुबाआमा साथीलाई भेट्न आए ।

‘रातको दुई बजे भेटघाट !,’ इशालाई अचम्म लाग्यो ।

मुम्बईमा पढ्दै गर्दाको ‘नाइट लाइफ’ अझै पनि झलझली याद आउँछ इशा बल्ललाई । रात र दिनमा खासै फरक थिएन ।

काठमाडौं त १०-११ बजेपछि कुकुर भुकेको मात्र सुनिन्छ । चकमक्क र सुनसान हुन्छ बजार ।

‘काठमाडौंमा रातको १–२ बजे कसैलाई भेट्न जाने कल्पना पनि गर्न सक्दैनौं,’ इशा भन्छिन्, ‘मुम्बईमा त्यो सामान्य कुरा थियो ।’

त्यहीबेला उनलाई लागेको थियो, काठमाडौंमा पनि यस्तै नाइट लाइफ भए ! पछि एनसीआइटी कलेजमा सँगै पढेका साथीहरु विशाल र शाश्वत अधिकारीसहित आइटी कम्पनीमा काम गर्दा रातभर बस्नुपथ्र्यो । राति भोग लागे पनि अर्डर गर्ने ठाउँ थिएन् ।

‘यति ठूलो सहर तर कति सुनसान,’ उनी सोच्थिन, ‘के हामी पनि मुम्बईमा जस्तै रात्रिकालिन सेवाहरु गर्नै सकदैनौ ?’

उनलाई लाग्थ्यो आफ्नो जस्तो समस्या अरुलाई पनि हुनसक्छ र राति खाना डेलिभरी गर्ने कम्पनीको ठूलो स्पेस छ ।

त्यहीबेला उनका साथीहरु उमेश सापकोटा र प्रसिद्ध अधिकारीले नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (नाथम)को पढाइ सकाएका थिए ।

उनीहरु पनि केही गरौं भन्ने सोचिरहेका थिए । आइटीका विद्यार्थी र हस्पिटालिटीका विद्यार्थी एउटै सोच भयो, ‘रातभर सेवा दिने फुड डेलिभरी गर्ने ।’

एक ‘फेम्ली अपार्टमेन्ट’ थियो । त्यहाँ एउटा किचन पनि थियो । उमेश हेड सेफ बने । इशा आइटी हेड भइन् । अन्य साथीहरुले आ–आफ्नो डिपार्टमेन्ट हेरे ।

आफ्नै मेन्यु बनाए र सेवा शुरु गरे- खानपिन ।

इशा बल्लभ

सेवा समय राति ७ बजेदेखि बिहान ३ बजेसम्म । राति खाना, खाजा डेलिभरी हुन्छ भन्ने कसैलाई पनि थाहा थिएन ।

कति अर्डर होला भन्नेमा यकिन थिएन । उनीहरु लागिरहेको थियो, रातिमा काम गर्ने र पार्टी गर्नेहरुबाट अर्डर आउला ।

अर्डर उनीहरुले सोचेभन्दा फरक किसिमले आयो । राति अफिसबाट फर्किने, लेट नाइट काम गर्नेहरु, नियमित डिनरको लागि पनि खाना अर्डर गर्न थाले ।

राति डेलिभरी गर्दा केही समस्या होला कि भन्ने लागेको थियो उनीहरुलाई । चोरी हुने वा राइडरलाई असुरक्षा हुने हो कि भन्ने शंका पनि थियो ।

तर, सेवा शुरु गरेदेखि नै कुनै पनि चोरी वा सुरक्षाको समस्या नभएको उनीहरु बताउँछन् ।

‘हामीले सोचे जस्तो असुरक्षा काठमाडौंमा छैन,’ इशा भन्छिन्, ‘काठमाडौं धेरै सुरक्षित छ । रातिमा त्यस्तो कुनै समस्या छैन ।’

‘रातिमा सेवा शुरु गरेपछि पहिलो महिनाको कोरोबार ५० हजार थियो,’ इशा भन्छिन्, ‘त्यो राम्रै थियो । उक्त वर्ष दैनिक औषत ४० अर्डर भयो ।’

सन् २०१८ जुलाईमा शुरु भएको खानपिनले केही दिनअघि चार वर्ष पूरा गरेको केक काटिसकेको छ ।

चार वर्ष खानपिनको लागि महत्वपूर्ण रह्यो । पूर्वाधार तयार गर्दै प्रगतिको ग्राफले उकोलो चढिरहेको छ ।

रात्रिकालिन सेवालाई २४सैं घण्टा बनाइसकेका छन् । २० लाखको लगानीबाट शुरु भएको कम्पनीले अहिले वार्षिक कारोबार ९ करोड १० लाख पुगेको छ ।

पहिलो वर्ष दैनिक औसत अर्डर डेलिभरी ४० थियो भने अहिले ३ सय पुगेको छ । पोखरामा दैनिक ७० देखि ८० अर्डर आउँछ ।

दैनिक डेलिभरीमध्ये ७० प्रतिशत रातिमा भइरहेको इशाले बताइन । राति ७ बजेदेखि ५ बजेसम्म र अहिले बिहान ६ बजे ब्रेकफास्ट खानेलाई पनि सेवा दिन्छन् ।

पोखरा र काठमाडौंमा गरेर २ सय कर्मचारी छन् । जसमध्ये काठमाडौंमा १४० र पोखरामा १५ जना राइडर छन् ।

चालु आर्थिक वर्षमा साउनदेखि जेठसम्म ५५ हजार ग्राहकलाई ७५ हजार अर्डर डेलिभरी गरेका गरेका छन् । वार्षिक कारोबार २३८ प्रतिशतले वृद्धि भएको इशाले बताइन ।

‘अहिलेसम्म अध्ययन गर्दा ३६.३ प्रतिशत ग्राहक हाम्रो सेवा लिन पुनः फर्केर आउनु भएको छ,’ इशाले भनिन्, ‘एक ग्राहकले महिनामा औसत ३ पटक खाना अडर गर्छन् ।’

शुरुदेखिको सोच काठमाडौंबाहेक बाहिरी सहरमा जाने उनीहरुको योजना थियो । काठमाडौंमा सोचेजस्तै बजार बन्दै गयो ।

‘हामी आक्रमकरुपमा बजारमा देखिएका छैनौं,’ इशा भन्छिन्, ‘आफ्नो क्षमता वृद्धि गर्दै बिस्तारै अगाडि बढिरहेका छौं ।’

सेवा विस्तार गर्ने क्रममा सन् २०१९ मा पोखरामा सेवा शुरु गरे ।

पोखरा शुरु भएको ३ महिना मै कोराना संक्रमण फैलियो । यसले पोखराको बजार बिस्तारमा असर गर्यो । तर, अनलाइन डेलिभरीमा भने कोरोना सक्रमणले सहयोग नै गर्यो ।

कोरोना संक्रमण शुरु भएपछि सरकारले अत्यावश्यक वस्तुबाहेकका अनलाइन डेलिभरी रोक्यो । त्यहीबेला उनीहरुले व्यवसायको बिकल्प रोजे किराना सामान डेलिभरी गर्ने र शुरु गरे आफ्नै मार्ट ।

कोरोना संक्रमणमा चामलदेखि सबै ग्रोसरी डेलिभरी गरे । अहिले भने फुडलाई मात्र सहयोग हुने आइटम डेलिभरी गरिरहेका छन् ।

त्यसपछि उनीहरुले आफ्नो मेन्युमा थपे- बेकरी । खानाको लागि आफ्नै हट किचन थियो । त्यसैमा उनीहरुले थपे, कोल्ड किचन । अर्थात बेकरी बनाउने किचन ।

नेपालमा सञ्चालनमा रहेका फुड डेलिभरी कम्पनीमध्ये खानपिन केही भिन्न छ । त्यो हो, आफ्नै क्लाउड किचन ।

कामाडौंमा सञ्चालनमा रहेका प्रायः फुड डेलिभरी कम्पनीले अन्य रेष्टुराँको खाना डेलिभरी गरिरहेका छन् । जस्तो कि फूडमाण्डू, पठाओ, भोजहरुले रेष्टुराँको खाना डेलिभरी गर्छन् ।

‘हामीले आफ्नै किचनबाट खाना डेलिभरी गर्छौं,’ उमेशले भने, ‘कुनै पनि रेष्टुराँको खाना डेलिभरी गर्दैनौं ।’

यसले गर्दा आफ्नो खानामा पूर्ण स्वस्थ भएको ग्यारेन्टी गर्न सकिने उनी बताउँछन् ।

क्लाउड किचन भनेको अनलाइनमा आधारित किचन हो । यो किचनमा पाकेको कुनै पनि वस्तु खान अनलाई अर्डर गर्नुपर्छ । ग्राहक किचन बाहिर भए पनि अनलाइन अर्डर गर्नुपर्छ । त्यसैले यो डाइनिङ किचनभन्दा फरक छ ।

‘सहरको कुनै पनि हिरको कुनामा बसेर अनलाइनमा मेन्यु हेरेर अर्डर गर्न सकिन्छ,’ उमेश भन्छन्, ‘हाम्रो किचनबाट उक्त ठाउँमा डेलिभरी हुन्छ ।’

काठमाडौंको किचनमा २५ जनाले काम गर्छन् ।

आफ्नै किचन सञ्चालन गरेकाले रातिमा सेवा दिन सम्भव भएको हो । रातिमा रेष्टुराँ बन्द हुने भएकाले अन्य फूड डेलिभरीले भने खासै गर्दैनन् ।

त्यसैले, उनीहरुले फूडमाण्डू वा पठाओलाई आफ्नो प्रतिस्पर्धी मान्दैनन् ।

‘हाम्रो प्रतिस्पर्धी भनेका रेष्टुराँ हुन्,’ उमेशले भने, ‘फूडमाण्डू वा पठाओसँग त सहकार्य गर्न सक्छौं ।’

त्यस्ता कम्पनीले आफ्नो किचनबाट २४सै घण्टा खाना लिएर डेलिभरी गर्न सक्ने उनीहरुको भनाइ छ ।

अहिलेसम्म उनीहरुको व्यवसायको मोडल बी टु सी छ । अर्थात् ग्राहकलाईमात्र डेलिभरी गरिरहेका छन् ।

अबका दिनमा बी टु बी कारोबार गर्ने सोच उनीहरुको छ । जस्तो कि उनीहरुको किचनमा उत्पादन भएका खाना, खाजा, केकहरुलाई अन्य पसल, फूडमाण्डू जस्ता डेलिभरी कम्पनीसँग कारोबार गर्न सकिन्छ भन्ने उनीहरुको योजना छ ।

त्यस्तै, ग्राहक सदस्य बनाउने योजना पनि रहेको इशाले बताइन । डिनर, लञ्च वा ब्रेकफास्ट खानेहरुलाई ग्राहक सदस्य वितरण गरेर विशेष प्याकेज दिन सकिने उनीहरुको योजना छ ।

सेवा क्षेत्रलाई अन्य ठाउँमा पनि बिस्तार गर्न चाहन्छन् उनीहरुले । पोखरा र काठमाडौंबाहेक चितवन, बुटवल, बिराटनगर जस्ता मुख्य सहरमा जाने योजना बनाइरहेका छन् । त्यस्तै, अर्को वर्ष क्याटरिङ सेवा पनि सञ्चालनमा ल्याउने तयारी उनीहरुको छ ।

फूड सेक्सनमा पनि विविधता थप्न चाहन्छन् । जस्तो कि अहिले फ्रोजन, प्याकेजका फूडहरु खासै चलन भइरहेको छैन । त्यस्ता प्रडक्ट पनि ल्याउने सोचमा छन् ।


सन्तोष न्यौपाने