धेरै पैसा बाहिरिदा तरलता अभाव भयो, ब्याजदर बढ्योः गभर्नर अधिकारी
काठमाडौ । नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले आयातका लागि धेरै रकम बाहिर जाँदा तरलता अभाव भएको बताएका छन् ।
प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव दिन आयोजना गरेको छलफलमा अधिकारीले तरलता अभावहुँदा ब्याजदर बढेको बताए । गभर्नर अधिकारीले आयातमा भएको वृद्धिका कारण बजारको तरलता मुलुकबाट बाहिरिदा बजारमा तरलतामा दबाब परेको स्मरण गराए । ब्याजदरमा भएको वृद्धिका कारण उत्पादनशील क्षेत्रमा वित्तीय साधनको लागतमा वृद्धि भएको बताए ।
अहिले अन्तर बैंक ब्याजदर ४.१२ बाट बढेर ७ प्रतिशत पुगेको स्मरण गराए । उनले अहिले बैंकको औषत ब्याजदर १०.७८ प्रतिशत रहेको जानकारी गराए । अधिकारीले अहिले ब्याजदर प्रि–कोभिड भन्दाबढि रहेको जानकारी गराए । अधिकारीले बैंकले २ खर्ब ३१ अर्ब निक्षेप संकलन गरेको र ५ खर्ब ४८ अर्ब ऋण लगानी गरेको उल्लेख गरे । उनका अनुसार अहिलेसम्म राष्ट्र बैंकले करिब ९० खर्बको तरलता बजारमा पठाएको स्मरण गराए ।
बैठकमा अधिकारीले पहिला कोरोनाले अर्थतन्त्र समस्यामा रहेको र अहिले फरक खालका समस्याले अर्थतन्त्र समस्यामा रहेको बताए ।
‘अर्थतन्त्रमा कोभिडको असर कम भए सँगै कर्जा मागमा भएको वृद्धि, आयातमा भएको विस्तार तथा निक्षेप परिचालनमा आएको सुस्तताका कारण बैंकिङ्ग क्षेत्रको स्रोत परिचालन तथा कर्जा प्रवाहका बीचमा असंतुलन उत्पन्न भएको छ’ उनले भने ‘तथापी सरकार तथा नेपाल राष्ट्र बैंकले अवलम्बन गरेका विभिन्न नीतिगत उपायहरुका कारण उक्त असंतुलनमा क्रमश सुधार हुदै गएको छ ।’
चालु आर्थिक वर्षको दश महिनामा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेप ५ प्रतिशतले बढेको छ भने बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाह भएको कर्जा १३.४ प्रतिशतले विस्तार भएको छ ।
चालु आर्थिक वर्षका सुरुका केही महिनाहरुमा कर्जाको वृद्धिदर निक्षेप परिचालनको भन्दा उच्च रहेता पनि पछिल्ला महिनाहरुमा कर्जाको वृद्धिदर घट्ने क्रममा रहेको छ ।
२०७९ बैशाखमा निक्षेपको वार्षिक विन्दुगत वृद्धिदर ११.५ प्रतिशत तथा निजी क्षेत्रतर्फ प्रवाह भएको कर्जाको वृद्धिदर १६.९ प्रतिशत रहेको छ । अझै पनि स्रोत परिचालन तथा कर्जा प्रवाहको बीचमा केही फरक भने रहेको नै देखिन्छ ।
निक्षेप संकलन तथा कर्जा प्रवाहका बीचमा देखिएको असंतुलनका पछाडि आयात मार्फत तरलता वाहिरिनु तथा विप्रेषण आप्रवाहमा कमी आउनु प्रमुख कारण रहेका छन् । चालु आर्थिक वर्षको पहिलो दश महिनामा आयातमा भएको वृद्धिका कारण नेपाल राष्ट्र बैंकसँग भएको विदेशी विनिमय सञ्चितिमा २ खर्ब २७ अर्बले कमी आएकोमा सोही रकम बराबरको तरलता बजारबाट घटेर गएको अधिकारीले बताए ।
उक्त अवधिमा मुलुकको आधार मुद्रा (नेपाल) राष्ट्र बैंक बाहेक अन्य सँग भएको नगद करिब १ खर्ब २३ अर्बले घटेको छ ।तरलतामा देखिएको दबाब तथा उच्च कर्जा मागसँगै ब्याजदरमा वृद्धि भएको छ । २०७८ वैशाखमा वाणिज्य बैंकहरुको कर्जाको औसत ब्याजदर ८.६१ प्रतिशत रहेकोमा २०७९ बैशाखमा त्यस्तो ब्याजदर १०.७८ प्रतिशत रहेको छ । यस अवधिमा बैंकहरुबीचको अन्तर बैंक दर ४.१२ प्रतिशतबाट वृद्धि भई ७० प्रतिशत पुगेको छ भने ट्रेजरी बिल्सका ब्याजदरहरु समेत् ३ प्रतिशतको हाराहारीबाट वृद्धि भई ८ प्रतिशत माथि पुगेका छन् । चालु आर्थिक वर्षको सुरुवात देखिनै बैंकिङ्ग प्रणालीको तरतला दबाबमा रहेको छ ।
उक्त अवधिमा औसत तरलता २१ अर्बको हाराहारीमा मात्र रहेको छ । नेपाल राष्ट्र बैंकले विभिन्न उपकरणहरुबाट तरलता प्रवाह गर्दा पनि आयात मार्फत् तरलता चुहावट भई तरलताको अवस्थामा दिगो सुधार हुन नसकेकाले तरलताको व्यवस्थापनमा चुनौति सिर्जना भएको उल्लेख छ ।
वित्तीय क्षेत्रमा व्याप्त तरलताको समस्या समाधान गर्नका लागि नेपाल राष्ट्र बैंकले विभिन्न उपायहरु अवलम्वन गरेको
बताए । पछिल्लो समयमा प्रवाहित तरलतामध्ये २ खर्ब ३५ अर्बको हाराहारीमा तरलत बैंकिङ्ग प्रणालीमा दैनिक रुपमा रहने गरेको छ । यसबाहेक करिब १ खर्ब १२ अर्ब बराबर रकम पुनरकर्जा सुविधा मार्फत् बैंकिङ्ग प्रणालीमा प्रवाह भएको छ ।