सरकारी खर्च बढ्दा बैंकमा एकसातामा ५२ अर्बले निक्षेप बढ्यो, सीडी रेसियो ८८.०६%



काठमाडौं । आर्थिक वर्ष सकिने समय नजिक आएपछि सरकारी खर्च बढ्दा बैंक तथा वित्तीय संस्थामा निक्षेप बढेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार एकसातामा नै बैंकहरुको निक्षेप ५२ अर्बभन्दा बढीले बढेको छ ।

बैंकहरुसँग असार १५ सम्ममा ४४ खर्ब १८ अर्ब रुपैयाँ निक्षेप थियो । असार २२ गतेसम्म ४४ खर्ब ७० अर्बमा पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप ५० खर्ब ६१ अर्ब छ । अहिले विकास बैंक र फाइनान्स कम्पनीसँग ५ खर्ब ९२ अर्ब निक्षेप रहेको छ ।

बैंक तथा वित्तीय संस्थाले ४७ खर्ब ३ अर्ब कर्जा दिएका छन् । जसमा वाणिज्य बैंकले मात्र ४१ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा दिएका छन् ।

बैंकहरुले अहिले नयाँ कर्जा नदिएको कारण कर्जा निक्षेप अनुपात(सीडी रेसियो) ८८.०६ प्रतिशतमा आएको छ ।

असार मसान्तसम्म बैंकहरुले सीडी रेसियो ९० प्रतिशतभन्दा तल ल्याउनुपर्छ । अहिले आधा दर्जन वाणिज्य बैंकको सीडी रेसियो ९० प्रतिशतभन्दा माथि छ ।

ऋणपत्र समेत जोडेर सीडी रेसियो ९० प्रतिशतभन्दा तल झार्न बैंकहरुले सफल भएका हुन् । ऋणपत्रलाई हटाउदा सीडी रेसियोको व्यवस्थापन गर्न भने कठिनाई हुने देखिन्छ ।

सरकारी खर्च अहिले मसान्त लागेसँगै बढेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार असार महिनाको २५ गतेसम्म १ खर्ब ८ अर्बले विकास खर्च बढेको छ ।

सार्वजनिक खर्चको नियम अनुसार जेठ २५ गतेपछि चेक नयाँ चेक काट्न नपाइने नियम छ । यद्यपी सरकारी कार्यालयहरुले ब्याक डेटमा चेक काट्ने गर्छन् ।

असार २५ गतेसम्म सरकारले १ खर्ब ८९ अर्ब विकास खर्च गरेका छन् । सरकारले चालु आर्थिक वर्षमा ३ खर्ब ७८ अर्ब खर्च गर्ने लक्ष्य लिएको छ ।


क्लिकमान्डु