आरती स्ट्रिप्सले एकै वर्ष गर्यो साढे १८ अर्ब रुपैयाँको कारोबार, साढे १५ अर्ब ऋण लिँदै


काठमाडौं । आरती स्ट्रिप्सले एकै वर्ष साढे १८ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा १८ अर्ब ४३ करोड ६० लाख रुपैयाँको कारोबार गरेको हो ।

कम्पनीले सन् २०२४ मा १४ अर्ब ५३ करोड ८० लाख रुपैयाँ र सन् २०२३ मा १४ अर्ब १२ करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीको कारोबार गत आवमा २७ प्रतिशतले वृद्धि भएको छ ।

गत आवमा ४१ प्रतिशतले बढी परिमाणमा बिक्री हुँदा कारोबारमा उल्लेख्य वृद्धि भएको जनाएको छ । कम्पनीले सन् २०२४ मा १ लाख १४ हजार ९ सय ११ मेट्रिक टन स्टिलजन्य सामग्री बिक्री गरेको थियो ।

गत आवमा कम्पनीले १ लाख ६१ हजार ९ सय ४ मेट्रिक टन सामग्री बिक्री गरेको छ । कम्पनीअनुसार गत आवमा भारतमा उच्च निर्यात हुँदा कारोबारमा वृद्धि भएको रेटिङमा उल्लेख गरेको छ ।

कम्पनीको कारोबार गत आवमा बढेपनि सञ्चालन नाफा भने प्रति मेट्रिक टनमा कमी आएको छ ।

सन् २०२४ मा प्रति मेट्रिक टनमा १५ हजार ३ सय ८ रुपैयाँ सञ्चालन नाफा हुँदै आएकोमा गत आवमा घटेर १० हजार ९ सय ७४ रुपैयाँ मात्रै सञ्चालन नाफा भएको जनाएको छ । गत आवमा आन्तरिक तथा निर्यातमा औसम मूल्यमा कमी आउँदा सञ्चालन नाफा पनि कमी आएको उल्लेख छ ।

कम्पनीले गत आवमा सञ्चालन नाफा मार्जिन ९.६४ प्रतिशत गरेको छ । सन् २०२४ मा १२.१० प्रतिशत गरेको थियो । त्यस्तै, चालु आवको ९ महिनाको अवधिमा कम्पनीले ८ अर्ब १४ करोड ७० लाख रुपैयाँको कारोबार गरिसकेको छ । कम्पनीको गत आवमा ऋण–इक्विटी अनुपात ०.६० गुणामा कायम रहेको छ ।

सन् २०२४ मा ०.७० गुणा थियो । कम्पनीअनुसार गत आवमा निर्धारित ऋण–भुक्तानी तथा नाफालाई सञ्चित कोषमा थप गरिएको कारणले ऋण–इक्विटी अनुपातमा सुधार आएको उल्लेख छ ।

कम्पनीको कुल गियरिङ अनुपात गत आवमा १.९४ गुणामा मध्यम स्तरमै रहेको छ । सन् २०२४ मा १.६३ गुणाको तुलनामा केही कमजोर भएको छ । कम्पनीको ब्याज कवरेज अनुपात गत आवमा २.१८ गुणामा रहेको छ । कुल ऋण तथा कुल नगद सञ्चिती अनुपात १२.९५ गुणाबाट बढेर गत आवमा १६.५३ गुणा पुगेको छ ।

सन् २००१ मा स्थापना भएको कम्पनीले विराटनगरमा उद्योग स्थापना गरी जस्तापाता उत्पादन गर्दै आएको छ । कम्पनीले वार्षिक ४ लाख ७३ हजार मेट्रिक टन क्षमतामा स्टिलजन्य सामग्री उत्पादन गर्दै आएको छ ।

कम्पनीले आरती स्पेक्ट्रा ब्रान्डमा कलर कोटेट सिट्स, आरती सुरक्षा ब्रान्डमा गाल्भनाइज्ड सिट्स एन्ड एमएस पाइप र आरती सिल्भर ब्रान्डमा गाल्भालुम सिट्सको बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीको देशभर २ सय डिलर छन् । विशाल गुप्ता निर्देशक रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १५ अर्ब ६७ करोड ४२ लाख रुपैयाँको रेटिङ गराएको छ । उक्त कर्जा ११ अर्ब ७६ करोड ९४ लाख रुपैयाँबाट बढेको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि ३ अर्ब ९६ करोड ९२ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ११ अर्ब ७० करोड ५० लाख रुपैयाँको रेटिङ गराएको हो ।

कम्पनीलाई क्रेडिट रेटिङ केयरएजले प्लेस्ड अन क्रेडिट वाच विथ नेगेटिभ इम्प्लिकेशनको रेटिङ दिएको छ ।

Skip This