
काठमाडौं । कैलालीको मोतीपुरस्थित राष्ट्रिय नवजागृति माध्यमिक विद्यालयमा खाजा खाने घण्टी बज्नेबित्तिकै अधिकांश विद्यार्थी कक्षाकोठाबाट बाहिर निस्किन्थे । तर उनीहरूको गन्तव्य खेलमैदान हुँदैनथियो ।
उनीहरु पानीका तिर्खा मेट्नका लागि करिब ६०० मिटर टाढा जानुपर्ने बाध्यता थियो । खानेपानीका लागि विद्यालयबाट टाढा जानुपर्दाको असर उनीहरुको पढाइमा पनि परेको थियो ।
लामो समयदेखि खानेपानीको समस्या भोगिरहेको विद्यालयमा पानीको स्रोतका रुपमा एउटा हाते कल मात्रै थियो । शिशुदेखि कक्षा १२ सम्म पढाइ हुने विद्यालयमा स्वच्छ खानेपानीको अभावले विद्यार्थीको स्वास्थ्य मात्र नभइ, उनीहरुको पढाइ र विद्यालयको भर्ना दरमै असर परेको थियो । तर अहिले त्यो समस्या हटेको छ ।
नबिल बैंकले सञ्चालन गरेको ‘नबिल स्वच्छ खानेपानी अभियान’अन्तर्गत विद्यालयमा पिउन योग्य पानीको व्यवस्था भएपछि विद्यार्थीहरूको दैनिकीमा उल्लेखनीय परिवर्तन आएको विद्यालयकी प्रधानाध्यापक गौरीकुमारी कुँवर बताउँछिन् ।
उनले भनिन्, ‘हामीले विद्यालयमा सबैका लागि शुद्ध खानेपानीको पनि व्यवस्था गर्न सकेका थिएनौं, विद्यार्थीहरु खानेपानीका लागि टाढा जानुपर्ने बाध्यता थियो, यसले विद्यार्थीको स्वास्थ्यमा असर पनि परेको थियो, अधिकांश अभिभावकहरूले आफ्ना बच्चा अन्यत्रै पढाउने जानकारी पनि दिनु भएको थियो, तर अहिले समस्या समाधान भएको छ, यसले हामीलाई ठूलो राहत दिएको छ ।’ यसको प्रभाव विद्यालयमा मात्रै नभइ समुदायमा पनि परेको उनको भनाइ छ ।
नबिल बैंकका अनुसार उक्त अभियानअन्तर्गत बैंकले देशभरका १२५ वटा विद्यालयमा स्वच्छ खानेपानी उपलब्ध गराएको छ भने एक लाखभन्दा बढी विद्यार्थीहरूले शुद्ध खानेपानी पिउन पाएका छन् । सरकारी तथ्यांकअनुसार करिब ९८ प्रतिशत विद्यालयमा पिउने पानीको पहुँच छ । तर त्यसमध्ये करिब ६८ प्रतिशत विद्यालयमा पानी शुद्धीकरण गर्ने प्रणाली छैन । गुणस्तरीय पानीको अभावले विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरेको छ ।
यही समस्यालाई सम्बोधन गर्न पानी, सरसफाई तथा स्वच्छता क्षेत्र अन्तर्गतको कार्यक्रमलाई नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालय सरसफाइ र स्वच्छता कार्यक्रमलाई प्रमुख प्राथमिकताका साथ सञ्चालन गरेको जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवालीले विद्यार्थीको स्वास्थ्यसँग जोडिएको विषयमा काम गर्न पाउँदा खुसी लागेको बताए ।
‘विद्यार्थीहरू देशका भविष्य हुन्, उनीहरूको स्वास्थ्यसँग सिधै जोडिएको स्वच्छ पानीसम्बन्धी अभियान सञ्चालन गर्दा हामी खुशी र गर्व दुवै महसुस गरिरहेका छौं,’ सीईओ ज्ञवालीले भने, ‘नबिल स्वच्छ पानी अभियानले विद्यालयमा अध्ययनरत बालबालिकामा शुद्ध खानेपानी उपलब्ध गराउँदै उनीहरूलाई स्वस्थ र सुरक्षित वातावरण प्रदान गर्न मद्दत गरेको छ ।’ उक्त पहलले आर्थिक वृद्धि र सामाजिक प्रगतिलाई सँगसँगै अगाडि बढाउनुपर्छ भन्ने बढ्दो बुझाइलाई प्रतिबिम्बित गर्ने उनको भनाइ छ ।
स्थानीय सरोकारवालाहरूले यस्ता कार्यक्रमहरूको गुणात्मक प्रभावलाई पनि उल्लेख गरेका छन् । सरसफाइले पानीजन्य रोगहरू कम गर्ने, उपचार खर्च घटाउने र अप्रत्यक्ष रूपमा उत्पादकत्व बढाउने उनीहरूको बुझाइ छ ।
यस प्रकारको समस्या केही समयअघिसम्म भक्तपुरस्थित चाँगुनारायण माध्यमिक विद्यालयका विद्यार्थीहरूले पनि भोग्दै आएका थिए । विद्यालयमा स्वच्छ खानेपानीको व्यवस्था नहुँदा विद्यार्थीहरुले घरबाटै पिउने पानी ल्याउनुपर्ने बाध्यता थियो । विशेष गरी गर्मी मौसममा तिर्खा मेटाउन विद्यार्थीहरूले खाजा खाने पैसा पानीमा खर्चगर्नुपर्ने अवस्थामा थिए ।
विद्यालयका कार्यवाहक प्रधानाध्यापक गुणराज लुइँटेलका अनुसार त्यतिबेला विद्यार्थीहरूलाई पानी किन्न विद्यालयबाहिर जान अनुमति दिनुपर्ने अवस्था थियो । ‘पहिले निकै समस्या थियो, पानी किन्नकै लागि विद्यार्थी विद्यालय बाहिर जान्थे, तर अहिले विद्यालयमै पिउने पानीको सुविधा भएपछि विद्यार्थीको स्वास्थ्यमा सुधार मात्रै आएको छैन, विद्यालय आउने विद्यार्थीको संख्या पनि उल्लेख्य रुपमा बढेको छ ।’
उक्त विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा स्मृति अधिकारी विद्यालयमै शुद्ध खानेपानीको व्यवस्था भएपछि निकै सहज भएको बताइन् । ‘अहिले हामीलाई पानी किन्नुपर्ने बाध्यता छैन, घरबाट पनि पनि ल्याउनु पर्दैन, विद्यालयमै छ पिउन योग्य पानी,’ उनले भनिन् ।
राष्ट्रिय नवजागृति माध्यमिक विद्यालयमा दुई छोरी पढाइरहेकी सीता विष्टले बैंकको उक्त अभियानले निकै सहज भएको बताइन्। विद्यालयमा शुद्ध खानेपानी उपलब्ध भएपछि आफ्ना भाइका छोरीहरूलाई पनि यहि विद्यालयमा भर्ना गरिदिएको उनले सुनाइन् ।
‘विद्यालयमा पिउन योग्य पानीको व्यवस्था नहुँदा मैले पनि के गर्ने भन्ने सोचेकी थिएँ । तर अहिले विद्यालयमा पिउन योग्य पानी छ । सरसफाइको राम्रो व्यवस्था छ, त्यही भएर मैले मेरा भदैहरूलाई पनि यही विद्यालयमा भर्ना गराएकी छु,’ विष्टले भनिन् ।
विद्यालयकी प्रधानाध्यापक कुँवरले धेरैलाई सामान्य लाग्ने विषय भए पनि विद्यालयमा सबै विद्यार्थीलाई सहज रूपमा शुद्ध खानेपानी उपलब्ध गराउनु निकै महत्वपूर्ण पक्ष भएको बताइन् । ‘धेरैलाई सामान्य कुरा लागे पनि यति धेरै विद्यार्थी भएको विद्यालयमा सबैले सहजै शुद्ध खानेपानीको सुविधा पाउनु भनेको ठूलो कुरा हो, नबिल स्वच्छ खानेपानी अभियानले हाम्रो विद्यार्थीहरूको र विद्यालयकै पनि दैनिकीमा धेरै सहजता ल्याएको छ,’ उनले भनिन् ।
बैंकका अनुसार यो अभियान मुलुकका सातवटै प्रदेशमा सञ्चालन गरिएको छ । अभियानअन्तर्गत हालसम्म कोशी प्रदेशका १०, मधेश प्रदेशका १६, बागमती प्रदेशका नौ, गण्डकी प्रदेशका १०, लुम्बिनी प्रदेशका ३६, कर्णाली प्रदेशका १५ र सुदूरपश्चिम प्रदेशका २९ वटा विद्यालयमा शुद्ध खानेपानीको व्यवस्था गरिएको छ । अभियानमा स्मार्ट पानीले प्राविधिक सहयोग गरेको बैंकले जनाएको छ ।









प्रतिक्रिया