
काठमाडौं । कमला रोलिङ मिल्सले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ८८ करोड ३० लाख रुपैयाँको कारोबार गरेको छ ।
कम्पनीले गत आवमा १ अर्ब ४६ करोड ७० लाख रुपैयाँ, सन् २०२४ मा १ अर्ब ४४ करोड २० लाख रुपैयाँ, सन् २०२३ मा २ अर्ब ८४ करोड ३० लाख रुपैयाँ र सन् २०२२ मा २ अर्ब ७१ करोड रुपैयाँको कारोबार गरेको थियो ।
कम्पनीले गत आवमा ३ करोड ४० लाख रुपैयाँ सञ्चालन नाफा मार्जिन गरेको थियो । सन् २०२४ मा ३ करोड ५० लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेको थियो । त्यस्तै, चालु आवको ९ महिनाको अवधिमा भने सञ्चालन नाफामा पुगेको छ ।
कम्पनीले चालु आवको ९ महिनाको अवधिमा २ करोड १० लाख रुपैयाँ सञ्चालन नाफा मार्जिन गरेको छ ।
तर, खुद नाफामा भने कमी आएको छ । कम्पनीले सन् २०२४ मा ९ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत आवमा घटेर ३ करोड १० लाख रुपैयाँ मात्रै खुद नाफा गरेको थियो । चालु आवको ९ महिनाको अवधिमा झनै घटेर ९० लाख रुपैयाँ मात्रै नाफा कमाएको छ ।
कम्पनीको कुल नगद सञ्चय भने बढेको छ । सन् २०२४ मा नकारात्मक रहेकोमा गत आवमा ६० लाख रुपैयाँ कुल नगद सञ्चय रहेको उल्लेख छ । साथै, चालु आवको ९ महिनाको अवधिमा कम्पनीको कुल नगद सञ्चय २ करोड रुपैयाँ पुगेको छ ।
कम्पनीको ऋण भने गत आवमा घटेको पाइएको छ । सन् २०२४ मा १ अर्ब २४ करोड ८० लाख रुपैयाँ ऋण रहेकोमा गत आवमा घटेर ९७ करोड १० लाख रुपैयाँमा झरेको छ । साथै, चालु आवको ९ महिनाको अवधिमा झनै घटेर ४० करोड ४० लाख रुपैयाँमा सिमित भएको छ ।
कम्पनीको समग्र गियरिङ अनुपातमा पनि सुधार आएको छ । गत आवमा कम्पनीको समग्र गियरिङ अनुपात १.०७ गुणा रहेको छ । सन् २०२४ मा १.३२ गुणा थियो । साथै, चालु आवको ९ महिनाको अवधिमा घटेर ०.४५ गुणा पुगेको छ ।
कम्पनीको जम्मा बाह्य दायित्व तथा ट्यान्जिबल नेट वर्थमा पनि सुधार आएको छ । सन् २०२४ मा १.४८ गुणा रहेकोमा गत आवमा १.२२ गुणामा झरेको छ । साथै, चालु आवको ९ महिनाको अवधिमा उक्त दायित्व र ट्यान्जिबल नेट वर्थ ०.५१ गुणा रहेको छ ।
यसका साथै कम्पनीको ब्याज कवरेज अनुपातमा पनि सुधार आएको छ । सन् २०२४ मा कमजोर ब्याज कवरेज अनुपात रहेकोमा गत आवमा १.८९ गुणा पुगेको थियो । तर, चालु आवको ९ महिनाको अवधिमा भने १.४७ गुणा रहेको छ । कम्पनीको ऋण सेवा कवरेज अनुपातमा पनि सुधार आएको छ । सन् २०२४ मा ०.१८ गुणा रहेकोमा गत आवमा बढेर १.३५ गुणा पुगेको थियो ।
सन् १९९२ मा विशाल ग्रुपले सञ्चालनमा ल्याएको कम्पनीमा जगदिशप्रसाद अग्रवालको २४.५४ प्रतिशत इक्विटी छ । कम्पनीले टीएमटी बार, जीआई वायर, बार्बेड वायर र ग्याल्भियन बक्सेस उत्पादन गर्दै आएको छ । तीन दशकदेखि व्यवसायिक कारोबार गर्दै आएको कम्पनीसँग ८० हजार मेट्रिक टन उत्पादन क्षमता छ । कम्पनीले उत्पादन गरेको उक्त सामग्री कमला गोल्ड थेर्मेक्स ब्रान्डमा बिक्री वितरण गर्दैै आएको छ ।
विशाल ग्रुपद्धारा सञ्चालित कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २ अर्ब ४२ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ४४ करोड ९० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ९७ करोड ६० लाख रुपैयाँको रेटिङ गराएको हो ।








प्रतिक्रिया