बैंकको ऋणको पहुँच बाहिर ६०% साना उद्योग, श्रम र विजुलीको समस्या हट्यो



काठमाडौं । बैंकबाट ऋण लिएरभन्दा नलिएर व्यवसाय गर्नेको संख्या बढी भएको पाइएको छ ।

केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय औद्योगिक सर्वेक्षणमा साना उत्पादन मुलक उद्योग प्रतिष्ठान(१० जनाभन्दा कम काम गर्ने)मा ३४ प्रतिशतले मात्र बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको देखिएको छ ।

जसमा १ प्रतिशतले बैंकबाट ऋणको प्रतिबद्धता पाएको तथा ५ प्रतिशत प्रक्रियामा रहेको उल्लेख गरिएको छ । ६० प्रतिशत साना उद्योग प्रतिष्ठानले बैंकको ऋण नलिएको देखिएको छ ।

२०६९ सालमा भएको सर्वेक्षणमा उद्योगीहरुले श्रम सम्बन्ध र ऊर्जा संकटलाई प्रमुख समस्याको रुपमा लिएका थिए । अहिले औद्योगिक क्षेत्रमा श्रम र ऊर्जाको समस्या नरहेको तथा उत्पादनमा प्रतिस्पर्धा हुनु र कच्चा पदार्थको सहजता समस्या रहेको देखिएको छ ।

औद्योगिक सर्वेक्षण अनुसार नेपालमा ६० हजार १८५ वटा औद्योगिक प्रतिष्ठान रहेको छन् ।

जसमा सबैभन्दा बढी औद्योगिक उत्पादन क्षेत्रमा ५६ हजार ६११ वटा रहेको छ । उद्योग प्रतिषठानमा ४ लाख ९१ हजार २२७ जनाले रोजगारी पाएको देखिएको छ ।

सर्वेक्षणले चार वटा नै उद्योग प्रतिष्ठानमा काम गर्ने कर्मचारीहरुलाई तलव तथा सुविधा गरेर १ खर्ब ७ अर्ब ८९ करोड रहेको खर्च गर्ने देखाएको छ ।

नेपालमा सञ्चालित ७० प्रतिशत उद्योग २७० दिन चल्ने तथा १९ प्रतिशत उद्योग प्रतिष्ठान १८० देखि २६९ दिनसम्म चल्ने गरेको देखिएको छ । यस्तै ४ प्रतिशत उद्योग प्रतिष्ठान ९० भन्दा कम दिन सञ्चालनमा रहेको पाइएको छ ।

सर्वेक्षणमा अनुसार ठूला औद्योगिक प्रतिष्ठानहरु २३ प्रतिशतले बढेको देखाएको छ । २०६९ सालको सर्वेमा ठूला उद्योगको संख्या ४ हजार ७६ रहेकोमा २०७६ सालको सर्वेमा २३ प्रतिशतले बढेर ५ हजार १७ पुगेको देखिएको छ । औद्योगिक प्रतिष्ठानहरुमा करिव ६ खर्ब १९ अर्ब ५१ करोड मूल्य बराबरको स्थायी सम्पती रहेको देखिएको छ ।


क्लिकमान्डु