गोल्छाको लगानीमा साढे ५ अर्ब लगानीमा प्राइम स्टील उद्योग खुल्ने



काठमाडौं । गोल्छा समूहले साढे ५ अर्ब लगानीमा प्राइम स्टील उद्योग सञ्चालनमा ल्याउने भएको छ ।

गोल्छा अर्गनाइजेशनबाट छुट्टिएको चन्द्रकुमार (सिके) गोल्छा समूहले पर्साको बीरगञ्ज पोखरिया सडकखण्डमा उद्योग खोल्ने भएको हो ।

त्यसका लागि गोल्छा समूहले यही असार ९ गगे उद्योग विभागमा दर्ता गराइसकेको छ । प्राइम स्टील उद्योगको नेतृत्व चन्द्रकुमार (सिके) गोल्छाका छोरा शरद गोल्छाले गर्दैछन् । शरद हुलासचन्द गोल्छाका नाति हुन् ।

उद्योगको चालु पुँजी ३ अर्ब ८७ करोड र स्थिर पुँजी १ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । १८ विगाह क्षेत्रफलमा फैलिने उक्त उद्योगले ४ सय मानिसलाई प्रत्यक्ष रोजगारी दिनेछ ।

यो उद्योगका लागि १ लाख केभीएको प्रसारणलाईन आवश्यक पर्नेछ।

उद्योगले एचआर स्ट्रप्स वार्षिक ३ लाख ९६ हजार टन उत्पादन गर्नेछ। जसमध्ये टीमएमटी छड ७९ हजार २ सय टन उत्पादन गर्नेछ। यस्तै वायर रड १ लाख १८ हजार ८ सय टन उत्पादन गर्नेछ।

गोल्छा अर्गनाइजेशन देशकै सबैभन्दा पूरानो व्यापारिक घराना हो । रामलाल गोल्छाले १०० वर्षअघि नेपालमै पहिलो उद्योग खोलेका थिए । उनको अगुवाईमा विराटनगर जुटमिलको स्थापना भएसँगै नेपालको औद्योगिकरणको शुरुवात भएको थियो ।

रामलालका छोरा, नाति र पनाति पुस्ता अहिले नेपालको व्यावसायिक क्षेत्रमा राम्रो पकड जमाएका छन् । रामलालका नाति शेखर गोल्छा अहिले निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष छन् ।


क्लिकमान्डु