मिति तोकेपछि स्थगित भयो हिमालय र सिभिलको मर्जर सम्झौता, भाँडिने खतरा



काठमाडौं । शुक्रबार हुने भनिएको हिमालयन बैंक र सिभिल बैंकको मर्जरसम्बन्धी सम्झौता मिति स्थगित भएको छ । सेयर आदानप्रदान (स्वाप रेसियो)मा कुरा नमिलेपछि दिउँसो १ बजे हुने भनिएको सम्झौताको मिति स्थगित भएको हो ।

शुक्रबार १ बजे सोल्टी होटलमा मर्जरको सम्झौतासहित पत्रकार सम्मेलन गर्ने तय भएको थियो । तर बिहीबार बेलुका एकाएक हिमालयन बैंक र सिभिल बैंकबीच कुरा नमिलेपछि भाँडिने खतरा बढेको हो ।

हिमालयन बैंक र सिभिल बैंक १००ः८१ को अनुपातमा मर्जर हुन थालेका थिए । मर्जरपछि सिभिल बैंकका सेयरधनीले १०० कित्ता बराबर ८१ कित्ता हुने गरेर मर्जरको सम्झौता गर्ने तयारी थियो ।

हिमालयन बैंकले सम्पत्ति तथा दायित्वको मूल्यांकन(डीडीए) आएपछि स्वापलाई घटाउने र दबाब दिएर मर्जरमा जान बाध्य पार्ने भएपछि सम्झौता नहुने स्थितिमा पुगेको सिभिल बैंक स्रोतले जानकारी दियो ।

‘इन्भेष्टमेन्ट बैंकसँग मर्जर भाँडिएपछि पनि हिमालयन बैंक पक्ष सिरियस देखिएन, सम्झौता गर्ने हेप्ने खालको काम भयो,’ सिभिलका एक सञ्चालकले भने ।

राष्ट्र बैंकको नियम अनुसार डीडीए प्रतिवेदनपछि सेयर स्वाप १० प्रतिशतसम्मले घट्ने वा बढाउन सक्ने व्यवस्था छ ।

हिमालयन बैंकले भने सिभिलका सञ्चालकले हिमालयन बैंकलाई भएको असजिलोको फाइदा उठाउन खोजेको आरोप लगाएका छन् ।

‘इन्भेष्टमेन्टसँगको मर्जर भाँडिएपछि कारवाहीबाट बच्न हामीलाई वाणिज्य बैंकसँगको मर्जर आवश्यक थियो,यसलाई आधार बनाएर सिभिलले क्षमताभन्दा बढी बार्गेनिङ गर्यो,’ हिमालयन बैंकका एक सञ्चालकले भने ।

नयाँ व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले असारभित्र मर्जर सम्झौता गरेमा मात्र कर छुट पाउनेछन् । राष्ट्र बैंकले समेत नियामकीय सुविधा असारभित्र मर्जर गर्ने संस्थालाई मात्र दिने जनाएको छ । त्यो हुँदा बैंक तथा वित्तीय संस्थाहरु मर्जरको दबाबमा छन् ।


क्लिकमान्डु