मौद्रिक नीतिको प्राथमिकता विदेशी मुद्रा सञ्चिति बढाउनेमा हुन्छः डा. प्रकाश श्रेष्ठ



काठमाडौं । नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका प्रमुख डा. प्रकाश श्रेष्ठले आगामी वर्षको मौद्रिक नीतिले स्थायित्वमा जोड दिने बताएका छन् ।

एशिया प्रशान्त क्षेत्रको आर्थिक तथा सामाजिक सर्वे सार्वजनिकरण कार्यक्रममा बोल्दै श्रेष्ठले अहिले वित्तीय स्थायित्वमा जोड दिनुपर्ने अवस्थाता आएको बताए ।

अर्थतन्त्रमा विदेशी मुद्राको सञ्चिति घटेको तथा पेट्रोलियम पदार्थको मूल्य बढेको कारण चुनौती थपिएको उनको भनाइ थियो ।

‘रुस तथा युक्रेनको युद्धपद्धि महंगी बढेको छ, पेट्रोलियम पदार्थको मूल्यवृद्धिले बाह्य क्षेत्रको स्थायित्वमा चुनौती थपेको छ,’ श्रेष्ठले भने ।

उनले विदेशी सञ्चिति घट्दा बैंकहरुमा तरलता अभाव भएको र बैंकहरुले ब्याजदर बढाएकाले ऋण लिनेलाई असर परेको बताए । यसबाहेक ८ प्रतिशतमा मूल्यवृद्धिदर पुगेको अर्थतन्त्रमा चुनौती थपिएको उनको भनाइ छ ।

राष्ट्र बैंकले वित्तीय समावेशितामा जोड दिएको भन्दै श्रेष्ठले ४० प्रतिशत कर्जा उत्पादनमुलक क्षेत्रमा अनिवार्य गरिएको बताए । यसबाहेक सरकारले १० प्रकारका सहुलियतपूर्ण कर्जा दिने नीति समेत रहेको श्रेष्ठको भनाइ छ ।


क्लिकमान्डु