अमेरिका छाडेर फर्केका आचार्यले नेपालबाटै अमेरिकालाई बेच्छन् सफ्टवेयर, केही वर्षमै अर्बको बेच्ने योजना
काठमडौं । नेपालमा विदेशी मुद्राको सञ्चिति घट्दै गएर अर्थतन्त्रमा गम्भीर असर पर्न थालेको छ । विदेशी मुद्रा आर्जन गर्न र भएको बचाउन सरकारले विभिन्न वस्तुहरुको आयातमा कडाइ गरे पनि त्यसको ठूलो प्रभाव देखिएको छैन ।
विदेशी मुद्रा आर्जन गर्ने र बचत गर्ने अनेक उपायहरुका बारेमा सोचिरहँदा हामीले बिर्सिरहेको क्षेत्र हो सफ्टवेयर इन्ड्रष्ट्री ।
पछिल्लो समय विश्व बजारमा नेपाली सफ्टवेयरको निर्यात बढ्दै गएको छ । यो व्यवसायमा राज्यले ध्यान दिने हो भने सबैभन्दा छिटो धेरे विदेशी मुद्रा आर्जन गर्न सकिने ठूलो संभावना छ ।
राज्यले संस्थागतरुपमा यसको व्यवसाय बढाउन पहल गर्ने हो भने रेमिट्यान्सपछि सबैभन्दा धेरै विदेशी मुद्रा आर्जन गर्ने व्यवसाय बन्न सकिने व्यवसायीहरु बताउँछन् । विदेशी लगानी, पर्यटन क्षेत्रमा भन्दा छिटो सफ्टवेयर निर्यातबाट आम्दानी गर्न सकिने उनीहरुको भनाइ छ ।
सफ्टवेयर व्यवसायबाट विदेशी मुद्रा आर्जन गर्न सक्ने ठूलो सम्भावना देखेका छन् २५ वर्षदेखि आइटी उद्योगमा लागेका सन्दीप आचार्यले । उनले पछिल्लो दुई वर्षदेखि सफ्टवेयर उत्पादन गर्ने कम्पनी अक्कोर संचालन गरिरहेका छन् । काठमाडौंमा कार्यालय राखेर अमेरिकामा सफ्टवेयर निर्यात गरिरहेका छन् आचार्य । उनले अमेरिकामा पनि यस्तै कम्पनी सञ्चालन गरेका छन् ।
यसअघि अमेरिकामा दुई कम्पनीमा काम गरिसकेको अनुभव छ उनीसँग । जसले गर्दा उनी नेपाललाई आधार बनाएर अमेरिकी स्टाफिङ कम्पनीमा सफ्टवेयर निर्यात गर्न सफल भइरहेका छन् ।
उनले अमेरिकी बजारका लागि इन्जरप्राइज रिसोर्स प्लानिङ (इआरपी) सफ्टवेयर निर्माण गरिरहेका छन् । यो खासगरी स्टाफिङ कम्पनीको लागि सफ्टवेयर उपलब्ध गराउँछन् ।
स्टाफिङ कम्पनी भनेको अन्य कम्पनीको लागि कर्मचारी उपलब्ध गराउने कम्पनी हो । यी कर्मचारीको सम्पूर्ण विवरण चुस्तदुरुस्त राख्न उनीहरु निर्माण गरेको सफ्टवेयरले सहयोग गर्छ ।
सन् २०१९ देखि शुरु भएको अक्कोर सफ्टवेर कम्पनीको नेपाललाई आधार बनाएर अमेरिकामा सफ्टवेयर निर्यात गरिरहेको छ । आचार्यले पनि एक ठूलो नेपालवेस कम्पनी बनाएर अमेरिका, युरोप, क्यानडा, अष्ट्रेलिया सफ्टवेयर निर्यान गर्ने लक्ष्य लिएका छन् ।
‘हामीसँग अहिले ६५ जना कर्मचारी साथीहरु हुनुहुन्छ,’ आचार्य भन्छन्,, ‘२ देखि ३ वर्षमा २ सयदेखि ३०० जना हायर गर्ने कम्पनी बनाउने तयारीमा छौं ।’
उनले यसअघि यस्तै दुई कम्पनीमा काम गरिसकेका छन् । पहिलो जागिर थियो भने अर्को आफ्नै कम्पनी थियो । पहिलो जुन कम्पनी बिक्री गरेका थिए, अमेरिकी बजारमा त्यसैसँग प्रतिस्पर्धा गर्नु परेको उनी बताउँछन् । उक्त कम्पनीको कारोबार अहिले १५० मिलियन डलर पुगेको छ ।
‘हाम्रो उदेश्य पनि यो भन्दा पनि ठूलो कम्पनी बनाउने छ,’ उनी भन्छन्, ‘अक्कोरलाई नेपालवेस कम्पनी हो ।’
नेपालकै जनशक्ति प्रयोग गरेर अमेरिकामा प्रोडक्ट बिक्री गर्नु चानचुने कुरा भने अवश्य पनि होइन । किनभने, नेपालमा दक्ष आइटी काम गर्नेको अभाव छ । त्यसलाई पुरा गर्न प्रत्येक ६ महिनामा १५ जनालाई ‘पेइड इन्टर्नसिप’ गराउँछन् । उनीहरुलाई बिजनेश र सफ्टवेयर सिकाउँछन् । त्यसमध्येबाट उत्कृष्ट ५/७ जनालाई जागिर उपलब्ध गराइरहेको आचार्यले बताए ।
‘तीनदेखि चार वर्षमा १०० मिलियन डलरको वार्षिक कारोबार गर्ने लक्ष्य लिएका छौं,’ आचार्य भन्छन्, ‘८/१० वर्षमा त हाम्रो कारोबार निकै ठूलो भइसकेको हुनेछ ।’
हालसम्म अमेरिकाका झन्डै ७० स्टाफिङ कम्पनी २५०० युजरले अक्कोर सफ्टवेयर चलाएवापत पैसा तिर्छन् ।
त्यसबाहेक यी कम्पनीका लाखौं प्रयोगकर्ताले उनीहरुको सफ्टवेयर प्रयोग गरिरहेका छन् । जस्तो कि अहिले उनको सबैभन्दा ठूलो ग्राहक कम्पनीमा दैनिक एक लाख जनाले यो सफ्टवेयरमा कुनै न कुनै तरिकाले प्रयोग गर्छन् । सबै कम्पनीमा हेर्दा दैनिक लाखौं प्रयोगकर्ता छ ।
उनले सफ्टवेयर उपलब्ध गराएका यी कम्पनीले ठूलोमा ८ सय मिलियन डलरदेखि सानोमा वर्षका २ देखि ३ मिलियन डलरको कारोबार गर्ने छन् ।
उनीहरुले उपलब्ध गराउने सफ्टवेयर क्लाउडमा उपलब्ध गराउँछन् । अमेरिकामा कुनै पनि कम्प्युटरमा लगेर अपलोड गरिरहनु पर्दैन । यहीँ बसेर नै क्लाउडबाट अपलोडदेखि नियमित सफ्टवेयर संचालन गर्छन् ।
आइटी उद्योगमा कुनै पनि प्रोडक्ट निर्माण भएपछिको कम्पनी विस्तार गर्न धेरै समय लाग्दैन ।
‘प्रोडक्ट तयार भएपछि कम्पनीको कारोबारमा वार्षिक ५० प्रतिशत वा ८० प्रतिशतका दरले वृद्धि गर्न सजिलै सकिन्छ,’ आचार्य भन्छन्, ‘यो आइटी कम्पनीको सुन्दर पक्ष हो ।’
त्यसैले भविष्यमा आफ्नो ‘ड्रिम गोल’ १ लाख ५० हजार प्रयोगकर्ता पुयाउने रहेको उनले बताए । त्यो संख्यामा ग्राहक पुर्याउन सकेमा २५० मिलियन डलरको वार्षिक कारोबार हुनेमा उनी बताउँछन् ।
‘केही वर्षमा ५० हजारदेखि ७० हजार ग्राहक पुग्नेमा म ढुक्क छु,’ आचार्य भन्छन् ।
नेपालमा सफ्टवेयर उत्पादन र निर्यात गर्ने ठूलो सम्भावना देख्छन् उनी । त्यसका केही कारणहरु छन् ।
‘यहाँका युवाहरु क्षमतावान र भर्सटाइल छन्,’ आचार्य भन्छन्, ‘अमेरिकका र युरोपका संस्कृतिलाई सजिलै एडप्ट गर्न सक्छन् ।’
नेपाली युवाहरु आइटी, विज्ञान, गणितमा विषयमा अध्ययनशिल र रुची राखने भएकाले पनि सफ्टवेयर उत्पादनमा सहज भएको छ ।
त्यसबाहेक सबैभन्दा महत्वपूर्ण कुरा नेपालमा उत्पादन हुने सफ्टवेयरको लागत अमेरिकामा भन्दा कम छ ।
नेपालमा सम्भावना धेरै हुँदाहुँदै पनि सफ्टवेयर निर्यातमा उल्लेख्य प्रगति गर्न सकेको छैन । व्यक्तिगतरुपमा आफ्नै किसिमले सफ्टवेयर उत्पादन र निर्यात भइरहेका छन् । तर, राज्यका तहबाट यसलाई सहजीकरण गरिएको छैन ।
नेपालमा सरकार वा अन्य निजी कम्पनीले पनि सफ्टवेयरलाई खासै महत्व दिँदैनन् । नेपालको आइटी कम्पनी विस्तारै आफ्नैस्तरमा अगाडि बढिरहेको छ । सरकारले मार्केटिङ नै गर्न सकेको छैन । व्यक्तिगतरुपमा मार्केटिङ भइरहको उनी बताउँछन् ।
कलेजमा हुने पढाइको स्तरमा पनि उस्किन सकेको छैन । बजारमा भएको आवश्यकताअनुसार कलेजले जनशक्ति उत्पादन गर्न सकेका छैनन् ।
आइटी व्यवसाय छिटो-छिटो परिवर्तन भइरहेको छ । तर, कलेजहरु त्यसरी परिवर्तन हुन सकेका छैनन् ।
नेपालमा क्वालिटीको काम गर्ने हो भने ठूलो आम्दानी गर्न सकिन्छ । तर, नेपालमा बसेर धेरै दुःख गर्ने नेपालीको बानी नभएको उनी बताउँ छन् ।
‘विदेशमा गएर जति पनि काम गर्न सक्ने तर नेपालमा नगर्ने बानीले यहाँको बजार बिग्रएको हो,’ आचार्य भन्छन् ।
भारतले पनि ठूलो मात्रामा सफ्टवेयर उत्पादन गरेर अेमरिकाजस्ता देशमा निर्यात गरिरहेको छ । तर, भारत नेपालको प्रतिस्पर्धी नभएको आचार्य बताउँछन् ।
‘हाम्रो प्रतिस्पर्धा भनेको अमेरिकामा उत्पादन हुने महंगा सफ्टवेयर हुन्,’ आचार्य भन्छन्, ‘नेपाली सफ्टवेयर कम्पनी पनि आफ्नो प्रतिस्पर्धी होइनन् ।’
नेपाली कम्पनीले विदेश सफ्टवेयर पठाउने भएकाले यहाँ जति कम्पनी भए पनि फरक पर्दैन । तर, प्रतिस्पर्धा भनेको दक्ष जनशक्ति कसरी ल्याउने मात्र भएको आचार्य बताउँछन् ।
अहिले विश्वको आइटी बजार टेक्सटाइलको बजारजस्तै परिवर्तन भएको छ । पहिला टेक्सटाइलमा अमेरिका केन्द्रित थियो ।
अहिले कहाँ सस्तो भनेर बंगलादेश, चीनतिर बजार सरेको छ ।
‘आइटी उद्योग पनि त्यस्तै हो, अहिले कहाँ सस्तो छ भनेर सफ्टवेयरको बजार त्यही सरिरहेको छ,’ उनले भने ।
अमेरिकामा पढेकाले पनि उनलाई त्यहाँको बजार बनाउन सजिलो भएको छ । काठमाडौं, बुढानीलकण्ठ पढेका आचार्य काठमाडौं युनिभर्सिटीमा आइएससी सकेपछि सन् १९९४ मा अमेरिका गए । शुरुमा फुड टेक्नोलोजी पढेका आचार्यले त्यसपछि मार्केटिङ पढे । भित्री मनदेखि भने आइटीमा पनि रुची भएकाले त्यसपछि आइटी पढे ।
आइटी सकेपछि सन् १९९९ पहिलो शुरु गरे । ९ जना कर्मचारी भएको सानो कम्पनी थियो । सन् २००५ निस्कँदा भने उक्त कम्पनीमा १५० जना कर्मचारी भइसकेका थिए ।
सन् २००५ को अन्त्यतिर साथीहरुसँग मिलेर आफ्नो कम्पनी आर्भिआरटी शुरु गरे । कम्पनीले राम्रै गरिरहेको थियो ।
सन् २०१३ मा एक भेन्चर क्यापिटलबाट राम्रो अफर आयो । कम्पनी बेचिदिए ।
‘मेरो अमेरिकाबाट फर्किने इच्छा पनि थियो । अमेरिका जाँदादेखि नै बुबाले नेपाल फर्किनु पर्छ भनिरहनुहुन्थ्यो,’ आचार्य भन्छन्, ‘कम्पनी बिक्री गर्ने र नेपाल फर्किने संयोग मिल्यो ।’
आफ्ना छोराछोरीलाई संयुक्त परिवारको संस्कार दिनका लागि भएपनि नेपाल फर्किनुपर्छ भन्ने उनको सोच थियो । त्यसो त, आचार्यको पारिवारिक पृष्ठभूमि राम्रो थियो । उनका बुबा कृष्ण आचार्य ऊर्जा उद्यमी हुन् । अहिले उनी स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान)का अध्यक्ष छन् । सन्दीपका दाई सुदिप आचार्य टेलिभिजन तथा इन्टरनेट सेवा प्रदायक डिशहोमका प्रवन्ध निर्देशक हुन् ।
नेपाल आएको ५ वर्षपछि अक्कोर कम्पनी शुरु गरे सन्दीपले । अमेरिकामा बसेको त्यही रिलेसनले पनि उनलाई त्यहाँको बजारमा जान सजिलो भएको छ । बिजनेश टु बिजनेश (बिटुबी) मार्केटिङ गर्ने भएकाले पनि बजार खोज्ने सजिलो हुने उनी बताउँछन् ।
पछि अमेरिकाबाहेक युरोप, अष्ट्रेलिया, क्यानडा पनि बजार हुनसक्ने उनी बताउँछन् । आगामी ५ वर्षभित्र आइटी क्षेत्रले १ अर्ब अमेरिकी डलर अर्थात् १ खर्ब नेपाली रुपैयाँभन्दा बढीको विदेशी मुद्रा भित्र्याउन सक्ने संभावना रहेको उनको भनाइ छ । त्यसका लागि सरकारले आइटी पढ्न चाहने विद्यार्थीका लागि सहुलियतपूर्ण कर्जाको व्यवस्था गरिदिनुपर्ने, नेपालमै बसेर आइटीको काम गरी विदेशी मुद्रा देश भित्र्याउनहरुलाई ५ वर्षसम्म आयकरमा सहुलियत दिनुपर्ने, बैदेशिक लगानी भित्र्याउन सजिलो बनाइदिनुपर्ने लगायतका स-साना कामहरु गरे पुग्ने उनको भनाइ छ ।
‘अमेरिकामै १५ हजारभन्दा बढी नेपालीहरु आइटी क्षेत्रमा काम गर्छन्,’ उनी भन्छन्, ‘५ हजार नेपाली त उच्च व्यवस्थापनमा कार्यरत छन्, संसारभर आइटी कम्पनीको उच्च व्यवस्थापनमा रहेर काम गर्ने प्रत्येक नेपालीले यहाँ रहेका १० जना नेपालीलाई जागिर दिने हो भने पनि वार्षिक करोडौं डलर भित्रिन्छ । त्यसका लागि सरकारले आह्वानमात्रै गरे पुग्छ ।’