विज्ञहरुको चेतावनी- ‘आयात नियन्त्रण गर्न नसके नेपाल पनि श्रीलंकाको पदचापमा जान सक्छ’



काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्र बहादुर क्षेत्रीले आयात नियन्त्रण गर्न नसके नेपाल पनि श्रीलंकाको पदचापमा जान सक्ने चेतावनी दिएका छन् ।

सेन्टर फर प्रोफेसनल जर्नलिजम स्टडिजले आयोजना गरेको नेपालको वर्तमान आर्थिक अवस्थाका विषयमा छलफल कार्यक्रममा पूर्वगभर्नर क्षेत्रीले अत्यावश्यक बाहेकका वस्तुको आयातमा रोक लगाउनुपर्ने बताए ।

‘६ महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्ने रिजर्भ हुनु नराम्रो होइन् । तर, हाम्रोमा आयात बढेको अनुपातमा विदेशी मुद्रा आर्जन गर्ने स्रोत बढेको छैन,’ क्षेत्रीले भने, ‘४-५ वर्षदेखि रोकेर राखेको हेलिकोप्टर आयात हुन खोज्दै छ भन्ने सुन्दै छु । सबैले विलासी वस्तुको आयात गर्ने हो भने हामी श्रीलंकाको पदचापमा जान सक्छौं ।’

अर्थ मन्त्रालयका सल्लाहकार डा. सुरेन्द्र उप्रेती विदेशी मुद्रा जोगाउनु पर्छ भन्ने विषयमा सरकार गम्भीर भएको बताए ।

‘विदेशी मुद्राको सञ्चिति घट्न थालेपछि आयात निरुत्साहित गर्ने नीति लिएका थियौं,’ उप्रेतीले भने, ‘सरकारको नीतिपछि चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा विदेशी मुद्रा बाहिरिने क्रम रोकिएको छ ।’

उप्रेती आगामी तीनचार वर्षसम्म विदेशी मुद्राको चाप पर्ने बताउँछन् ।

‘विदेशी मुद्राको सञ्चिति जोगाउन सरकारले तत्काल केही जादु गर्न सक्ने अवस्था छैन्,’ उप्रेतीले भने, ‘तर, हामी कृषि उत्पादन बढाउने, निर्यात प्रवर्द्धन गर्ने, विजुली निर्यात बढाउने जस्ता सानासाना काम गरिरहेका छौं ।’

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले कर्जाको कारणले नेपाल श्रीलंका बन्ने कुनै सम्भावना नरहे पनि बढ्दो आयात चिन्ताको विषय भएको बताए ।

‘सिमेन्ट निर्यातको सम्भावना छ। विजुली निर्यात गर्न सक्ने अवस्था सिर्जना हो,’ पौडेलले भने, ‘प्रत्यक्ष विदेशी लगानी ल्याएर आन्तरिक उत्पादन नबढाउँदासम्म विदेशी मुद्राको समस्या समाधान रहन्छ । विद्युतको माग बढेअनुसार प्रशारण र वितरण लाइनमा सुधार गर्दै आन्तरिक उत्पादन बढाउन जोड दिन जरुरी छ ।’

अक्सफोर्ड विश्वविद्यालयमा विकास अर्थशास्त्रका प्राध्यापक डाक्टर विजन पन्त नेपालमा संरचना बन्न नसक्दा अर्थतन्त्र बलियो बन्न नसकेका बताए ।

‘नीति बन्यो, योजना पनि बन्यो तर योजना कार्यान्वयन गर्ने संरचना बनाउने काम नै भएन,’ पन्तले भने, ‘राष्ट्र बैंक, अर्थ मन्त्रालय र योजना आयोगको समन्वय भएको छैन । कसैले दिगो सोचेर काम नै गरेको छैन् । त्यसैले अर्थतन्त्रमा समस्या देखिएको हो ।’

पन्तले आर्थिक आत्मनिर्भरता नहुँदासम्म देश बलियो नहुने बताए । ‘यहाँ वृद्धि भत्ता बढाउन प्रतिस्पर्धा भयो तर अर्थतन्त्र बलियो बनाउन प्रतिस्पर्धा भएन’, पन्तले भने ।

उद्योगी पवल गोल्यानले आयात नियन्त्रण गर्न नसकिए नेपालको अवस्था श्रीलंकाभन्दा भयावह हुन सक्ने चेतावनी दिए ।

‘तरलताको समस्याले उद्योगहरू समेत बन्द हुने अवस्थमा पुगेका छन्,’ गोल्यानले भने, ‘नेपाल सरकारले आयातमा आधारित अर्थतन्त्र बनाउन चाह्यो । बैंकले पनि आयात गर्न कर्जा दिए । कसैले पनि मौलिक उत्पादन बढाउन काम गरेनौं । आन्तरिक उत्पादन बलियो नहुँदासम्म अर्थतन्त्र बलियो हुन सक्दैन् ।’

अर्थशास्त्री डा. गोविन्द नेपालले सत्तामा स्वार्थ समूहको कब्जा बढ्दा पोलिसी क्याप्चर गर्ने क्रम बढेको बताए ।

‘विचौलियाको बिगबिगी छ,’ नेपालले भने,‘ हुण्डी कारोबारमा राजनीतिक नेतृत्वको रूचि छ । अब पनि व्यवस्था परिवर्तन गरेर कस्तो व्यवस्था ल्याउने ?’

राजनीतिले समस्या स्वीकार नगर्दा वास्तविक काम हुन नसकेको नेपालको आरोप छ ।


क्लिकमान्डु