हावाहुरी झन् तीव्र हुनसक्ने सम्भावना छ, सतर्क रहनू: प्राधिकरण

301
Shares

काठमाडौं । काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा अहिले पानी पर्ने र तीव्र गतिको हावाहुरी चलिरहेको छ ।

हावाहुरी अझै बढ्न सक्ने सम्भावना देखिएको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै हावाहुरीका कारण भौतिक तथा मानवीय क्षति हुन सक्ने जोखिम रहेकाले सुरक्षित रहन अपिल गरेको हो ।

सडक किनारका रुखहरू ढल्न सक्ने, बिजुली तथा टेलिफोनका पोलहरू लड्ने र बिजुलीको तार चुँडिएर दुर्घटना हुन सक्ने, जस्तापाताले छाएका घरका छानाहरू उडाउन सक्ने भन्दै सचेत रहन प्राधिकरणले अनुरोध गरेको छ ।

हावाहुरीको जोखिमलाई मध्यनजर गर्दै प्राधिकरणले जोखिमयुक्त यात्रा नगर्न र हावाहुरी नरोकिउञ्जेल घरभित्र वा सुरक्षित स्थानमा बस्न अनुरोध गरेको छ ।

विशेषगरी अहिले विद्यालयहरू छुट्टी हुने र स्कुल बसहरू गुड्ने समय भएकाले बालबालिकाको सुरक्षामा विशेष ध्यान दिन र विद्यालय बस सञ्चालनमा सावधानी अपनाउन प्राधिकरणले विशेष आग्रह गरेको छ। सडकमा यात्रा गरिरहेकाहरूलाई रुख, पोल वा कमजोर संरचना मुनि ओत नलग्न समेत सुझाव दिइएको छ।

Skip This