बीमा कम्पनीमा मर्जरको दौडधुप, यी कम्पनीले खोज्दैछन् पाटर्नर



काठमाडौं । बीमा समितिले गत चैत १० गते निर्जीवन बीमा कम्पनीहरूको न्यूनतम चुक्ता पुँजी साढे २ अर्ब रूपैयाँ र जीवन बीमा कम्पनीको पुँजी ५ अर्ब रूपैयाँ पुर्याउन निर्देशन दिएको थियो ।

समितिको नयाँ व्यवस्था अनुसार बीमा कम्पनीहरूले २०७९ चैत मसान्तसम्ममा तोकिएको चुक्ता पुँजी कायम गर्नुपर्नेछ ।
तोकिएको समयमा निर्धारित पुँजी पुर्याउन नसके कम्पनीहरूले ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६’ बमोजिम हुनेगरी पुँजी कायम गर्नुपर्ने समितिको भनाइ छ ।

समितिले बीमा कम्पनीहरूलाई हकप्रद निष्कासन गर्न बन्देज गरेको छ । हकप्रद सेयर निष्कासन गर्न बन्देज गरेका कारण कम्पनीहरूलाई बोनस सेयरबाट मात्रै पुँजी बढाउन कठिन छ ।

कम्पनीहरूले १ वर्षको अवधिमा पुँजी बढाउन नसक्ने भन्दै समिति समक्ष समय थप गर्न माग पनि गरे । तर समितिले भने समय थपेन ।

त्यसैले पुँजी कम भएका र थप पुँजी लगानी गर्न नसक्ने कम्पनीरू मर्जरमा जान थालेका हुन् ।

समितिले क्रस होल्डिङ भएका र चुक्ता पुँजी कायम गर्न नसकेका कम्पनीहरूलाई मर्जरको प्राथमिकतामा राखेसँगै यति बेला बीमा कम्पनीहरूमा मर्जरको दौडधुप नै चलेको छ  ।

बीमा समितिले मर्जरमा जाने कम्पनीहरूलाई प्रोत्साहित गर्न विभिन्न छुट र सुविधाको व्यवस्था समेत गरेको छ । समितिले मर्जर निर्देशिका संशोधन गर्दै थप सुविधाको व्यवस्था गर्दै आएको छ ।

समितिले १ वर्षको अवधिमा चुक्ता पुँजी पुर्याउन निर्देशन दिएसँगै कम्पनीहरू मर्जरमा जान बाध्य भएका छन् । बीमा कम्पनीहरूले तोकिएको पुँजी पुर्याउनका लागि मर्जरमा जाने पार्टनर खोज्ने प्रक्रियामा छन् ।

क्रस होल्डिङ भएका कम्पनीलाई मर्जरमा जान दबाब
बीमा समितिले एकै व्यक्ति वा समूहको दुई ठाउँमा सेयर भएको (क्रस होल्डिङ) बीमा कम्पनीहरूलाई मर्जरमा जान दवाव दिने रणनीति बीमा समितिले बनाएको छ ।

समितिले केही समयदेखि बीमा कम्पनीहरूमा भएको क्रस होल्डिङको बारेमा अध्ययन गरेको थियो । अध्ययनको तथ्यांक तयार पारेको समितिले क्रस होल्डिङ हटाउन निर्देशन दिएको थियो ।

समितिले क्रस होल्डिङ हटाउन ९ कम्पनीलाई निर्देशन दिएको छ । समितिले क्रस होल्डिङलाई हटाउन पर्ने र नहटाए मर्जरमा आदेश दिनसक्ने गरी निर्देशन जारी गरेको थियो ।

बीमा व्यवसायमा एकाधिकार रहनसक्ने भएकाले समितिले स्वच्छ र प्रतिस्पर्धात्मक व्यवसाय सञ्चालनका लागि क्रस होल्डिङ हटाउन निर्देशन दिएको समितिको भनाइ छ । कम्पनीहरूमा देखिएको क्रस होल्डिङ मात्रै हटाउँदा पनि नेपालमा बीमा कम्पनीहरूको संख्या कम हुने समितिको बुझाइ छ  ।

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल समिति बीमा कम्पनीहरूको संख्या घटाउने पक्षमा रहेको बताउँछन् । त्यही भएर बीमा कम्पनीहरूको संख्या अधिक भएका कारण पनि मर्जरमा जान समितिले दबाब दिँदै आएको छ ।

उनका अनुसार क्रस होल्डिङ भएका कम्पनीहरूलाई मर्जरमा जान दवाव समितिले दिने छ ।

‘हाम्रो लक्ष्य भनेको कम्पनीहरूको संख्या घटाउने हो,’ पौडेलले क्लिकमाण्डूसँग भने, ‘क्रस होल्डिङ देखिएका बीमा कम्पनीलाई मर्जरमा गई पुँजी वृद्धि गर्न सहज हुने देखिएको छ । क्रस होल्डिङ भएका कम्पनीलाई मर्जरमा जान सजिलो हुने देखिएको छ ।’

समितिको उक्त निर्देशनसँगै क्रस होल्डिङ भएका सूर्या र ज्योति लाइफले मर्जरमा जाने सम्झौतापत्रमा हस्तार गरेका छन् ।

५ जीवन बीमा र २ निर्जीवन बीमा कम्पनीबीच मर्जरमा जाने सम्झौता
हालसम्म जीवन बीमा कम्पनीतर्फ ५ वटा र निर्जीवन बीमा कम्पनीतर्फ २ वटाले मर्जरमा जने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

जीवन बीमा कम्पनीहरूतर्फ गुराँस, प्राइम र युनियन लाइफ, ज्योति लाइफ र सूर्या लाइफ इन्स्योरेन्सले मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर गरिसकेका छन् । भने निर्जीवनतर्फ हिमालयन र एभरेष्ट इन्स्योरेन्सले मर्जरको सम्झौता गरिसकेका छन् ।

वैशाख २२ गते दुई निर्जीवन बीमा कम्पनी हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले समितिले तोकिदिएको साढे २ अर्ब रूपैयाँ चुक्ता पुँजी पुर्याउन एक आपसमा गाभ्ने÷गाभिने सहमति गरेका थिए ।

त्यसको एक हप्ता नवित्दै ३ जीवन बीमा कम्पनीले मर्जरको सम्झौता गरे । प्राइम लाइफ, गुँरास लाइफ र यूनियन लाइफले वैशाख २९ गते मर्जरको सम्झौता गरेका थिए ।

यस्तै, असार १२ गते ज्योति लाइफ र सूर्या लाइफबीच मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

हिमालयन जनरल र एभेरेष्ट इन्स्योरेन्सले नियामक निकायबाट मर्जरमा जाने अन्तिम स्वीकृति पाईसकेका छन् । भने ३ जीवन बीमा कम्पनी यूनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफले भने मर्जरमा जाने स्वीकृतिका लागि समितिमा आवेदन दिएका छन् ।

यी कम्पनी पाटर्नरको खोजीमा
यति बेला कम्पनीहरूले विशेष साधारण सभा र वार्षिक साधारण सभाको मुख्य एजेण्डामा मर्जरलाई राखेका छन् ।

प्रभु इन्स्योरेन्स, प्रभु लाइफ, लुम्बिनी जनरल, रिलायन्स, सानिमा लाइफ इन्स्योरेन्सले साधारण सभाको मुख्य एजेण्डामा मर्जरलाई प्राथमिकतामा राखेका हुन् ।

प्रभु इन्स्योरेन्स, प्रभु लाइफ, रिलायन्स लाइफ र सानिमा जनरल इन्स्योरेन्सले मर्जरको एजेण्डा राख्दै विशेष साधारण सभा बोलाएका हुन् ।

सानिमा जनरलको भने आज विशेष साधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त साधारण सभाले मर्जरसम्बन्धी आवश्यक प्रक्रियाको अख्तियारी सञ्चालक समितिलाई दिएको छ ।

सानिमा जनरल र लुम्बिनी जनरलले भने वार्षिक साधारण सभामा मर्जरलाई विशेष प्रस्तावमा राखेका छन् ।

मर्जरको प्रस्तावसहित प्रभु इन्स्योरेन्स कम्पनीले असार २८ गतेका लागि विशेष साधारण सभा बोलाएको हो ।

उक्त सभामा कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीहरूसँग एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति गर्ने सम्बन्धि निर्णय तथा मर्जर तथा प्राप्तीसम्बन्धी अन्य आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव अनुमोदन हुनेछ ।

पुँजी वृद्धि र मर्जरसम्बन्धी विशेष प्रस्तावसहित प्रभु लाइफ इन्स्योरेन्सले असार २३ गते विशेष साधारण सभा बोलाएको छ ।

नियामकले तोके बमोजिम कम्पनीको अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने, पुँजी वृद्धि एंव अन्य व्यवस्थाहरू समेत समावेश गरी प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने लगायतका प्रस्ताव अनुमोदन हुनेछ ।

अन्य कुनै जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति गर्ने प्रयोजनको लागि उपयुक्त जीवन बीमा कम्पनीको पहिचान तथा छनौट गर्ने लगायतका मर्जर सम्बन्धी अन्य कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव छन् ।

रिलायन्स लाइफ इन्स्योरेन्सले कम्पनीको अधिकृत पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गर्न असार २० गते विशेष साधारण सभा बोलाएको छ ।

पुँजी वृद्धिका लागि अन्य कुनै जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्त गर्ने प्रयोजनको लागि उपयुक्त जीवन बीमा कम्पनीको पहिचान गर्ने र मर्जरसम्बन्धी अन्य प्रस्ताव उक्त सभाले अनुमोदन गर्ने छ ।

सानिमा लाइफ इन्स्योरेन्सले लाभांश र मर्जरको प्रस्ताव पारित गर्न असार २० गते चौथो साधारण सभा बोलाएको छ ।

उक्त सभाले कम्पनीको अधिकृत पुँजी र चुक्ता पुँजी वृद्धि गर्ने तथा मर्जरको प्रस्ताव समेत अनुमोदन गर्ने छ ।

पुँजी वृद्धिका लागि अन्य कुनै जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने÷गाभिने प्रयोजनका लागि उपयुक्त कम्पनीको छनौट गर्ने तथा मर्जरसम्बन्धी अन्य निर्णय गर्न सञ्चालक समितिलाई अख्तियारी दिने छ ।

यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले असार २९ गते १७ औं वार्षिक साधारण सभा बोलाएको छ ।

सभाले अन्य कुनै कम्पनीलाई प्राप्ति गर्न वा एक आपसमा गाभ्ने गाभिने प्रयोजनको लागि सम्पूर्ण कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

संस्थापकमार्फत् थप पुँजी उठाउँदै नयाँ जीवन बीमा कम्पनी
हाल नेपालमा १९ जीवन बीमा कम्पनीले जीवन बीमासम्बन्धी व्यवसाय गर्दै आएका छन् । नयाँ जीवन बीमा कम्पनीमध्ये केही कम्पनीले भने पुँजी वृद्धिका लागि संस्थापक सेयरधनीमार्फत थप पुँजी उठाउने निर्णय लिएका छन् ।

ती कम्पनी हुन् महालक्ष्मी लाइफ र सन नेपाल लाइफ ।

हाल १ अर्ब ४० करोड रूपैयाँ चुक्ता पुँजी रहेको महालक्ष्मी संस्थापक सेयरधनीर्फात रकम थप गर्ने योजना बनाएको हो ।

इन्स्योरेन्सले संस्थापक सेयरधनीहरूलाई सेयर वापतको थप ५० प्रतिशत रकम थप गर्न आह्वान गरेको हो ।

यस्तै, सन नेपाल लाइफले भने संस्थापक सेयरधनीसमक्ष सेयर वापतको ६० प्रतिशत रकम थप गर्न भनेको हो ।

आईपीओ जारी नगरेका कम्पनीलाई पुँजी वृद्धि गर्न सहज हुने कार्यकारी निर्देशक पौडल बताउँछन् । ‘नयाँ कम्पनीलाई पुँजी वृद्धि गर्न सहज देखिन्छ । संस्थापकसँग थप रकम उठाउने र सो पछि नपुगेको पुँजी सेयर जारी गरेर पुर्याउने,’ पौडेलले भने, ‘थोरै रकमले पुँजी नपुगेका कम्पनीलाई हकप्रद सेयर जारी गर्ने व्वस्था समेत हुन सक्नेछ ।’

आईएमई जनरल, प्रुडेन्सियल र नेपाल इन्स्योरेन्स पनि मर्जरको तयारीमा
आईएमई जनरल, प्रुडेन्सियल र नेपाल इन्स्योरेन्सले पनि मर्जरमा जाने तयारीमा छन् । नेपाल इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्स कम्पनीमा आइएमई ग्रुपको मुख्य लगानी छ । यी ३ वटा कम्पनीमा केही सञ्चालकहरू एउटै व्यवसायिक घरानाका छन् । जसले गर्दा यी कम्पनीले पुँजी पुर्याउनका लागि एक आपसमा गाभिने भएका हुन् ।

यी ३ कम्पनी मर्ज भएपश्चात चुक्ता पुँजी साढे ३ अर्ब रूपैयाँ नाघ्ने छ ।


बिजया बास्कोटा