सोना सिमेन्टको आम्दानी ९% बढ्यो, ३ अर्बको कारोबार



काठमाडौं । सोना ब्रान्डका सिमेन्ट उत्पादन गर्ने सोनापुर मिनिरल र आयल लिमिटेड प्रालिको आम्दानी ९।४७ प्रतिशतले बढेको छ ।

कम्पनीले सन् २०२० को तुलनामा सन् २०२१ मा ९.४७ प्रतिशतले बढी आम्दानी गरेको जनाएको छ ।

कम्पनीअनुसार सन् २०२१ मा २ अर्ब ९२ करोड २० लाख रुपैयाँको कारोबार गरेको छ । त्यस्तै, कम्पनीले सन् २०२० मा २ अर्ब ६६ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो भनृ सन् २०१९ मा ३ अर्ब २२ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो ।

कम्पनीले सन् २०१९ मा २०.९५ प्रतिशतले नाफा कमाएको थियो भने सन् २०२० मा २४.२५ प्रतिशतले नाफा कमाएको थियो ।

त्यस्तै, सन् २०२१ मा भने २२.४६ प्रतिशतले नाफा कमाएको कम्पनीको भनाइ छ । साथै, कम्पनीको सन् २०२१ मा परिमाणत्मक हिसाबले पनि १६ प्रतिशतले बढी बिक्री भएको छ ।

कम्पनीले विभिन्न देशबाट आयातित र स्वदेशकै कच्चा पदार्थ प्रयोग गरी क्लिङ्कर र सिमेन्ट उत्पादन गर्दै आएका कम्पनीले सन् २०२२ को १० महिनाको अवधिमा भने १ अर्ब ९७ करोड ७० लाख रुपैयाँको मात्रै आम्दानी गर्ने उल्लेख गरेको छ ।

कम्पनीले कोइला, लाइमस्टोन, जिप्सम, क्ले, आइरन ओरे, प्लाइ एसलगायत अन्य कच्चा पदार्थ आयात गर्ने गरेको छ ।

कम्पनीले पछिल्लो समय उत्पादन क्षमतामा वृद्धि गरेको छ । जसबाट कम्पनीले दैनिक १२ सय ५० मेट्रिक टन क्लिङ्कर र २३ सय मेट्रिक टन ग्रान्डिङ सिमेन्ट उत्पादन क्षमता रहेको जनाएको छ ।

सोना सिमेन्ट ओपीसी, सोना श्री पीपीसी सिमेन्ट र सोनाटेक पीपीसी सिमेन्ट ब्रान्डमा सिमेन्ट उत्पादन गर्दै आएको कम्पनीलाई केयर रेटिङ एजेन्सीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ७ अर्ब २८ करोड ७० लाखको रेटिङ दिएको छ ।

जसमा कम्पनीले दीर्घकालीन कर्जाका लागि ३ अर्ब ९३ करोड १० लाख रुपैयाँको बी प्लस रेटिङ र अल्पकालीन कर्जाका लागि ३ अर्ब ३५ करोड ६० लाखको फोर प्लस रेटिङ दिएको छ ।


क्लिकमान्डु